Below Menu

गण्डकीका गौरवका आयोजना: तनहुँ जलविद्युत ६७ प्रतिशत र मध्यपहाडी लोकमार्ग ८२ प्रतिशत प्रगतिमा

गण्डकीका गौरवका आयोजना: तनहुँ जलविद्युत ६७ प्रतिशत र मध्यपहाडी लोकमार्ग ८२ प्रतिशत प्रगतिमा

काठमाडौं : नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । 

Sponsored Advertisement

उक्त प्रतिवेदन अनुसार प्रदेशको समष्टिगत स्थिति हेर्दा राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ४.६१ प्रतिशतले वृद्धि हुने अनुमान छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो । 

आर्थिक वर्ष २०८१/८२ को कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.६ प्रतिशत, १२.४ प्रतिशत र ६२.० प्रतिशत रहने अनुमान छ । आर्थिक वृद्धिदर ५.५१ प्रतिशत रहने अनुमान छ । 

यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २७.८ प्रतिशत, १६.५ प्रतिशत र ५५.८ प्रतिशत रहने अनुमान छ ।

कृषि क्षेत्रतर्फ 

समीक्षा वर्षमा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब १.११ प्रतिशतले ह्रास आई ४ लाख ३१ हजार ३८५ हेक्टर कायम भएको छ ।

तरकारी, फलफूल, मसला, चिया र कफी खेतीले ढाकेको क्षेत्रफल क्रमशः ०.३१ प्रतिशत, ६.३५ प्रतिशत, २.१३ प्रतिशत, १.०४ प्रतिशत र ४.६१ प्रतिशतले वृद्धि भएको छ भने खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा १.५५ प्रतिशतले कमी आएको छ ।

यस वर्षमा प्रमुख कृषि बालीको उत्पादनमा ४.८६ प्रतिशतले कमी आएको छ । खाद्य, नगदे तथा अन्य बाली र फलफूलको उत्पादनमा क्रमशः ९.०५ प्रतिशत र ०.४८ प्रतिशतले कमी आएको छ भने तरकारी, मसला, कफी र मह उत्पादनमा क्रमशः १०.९८ प्रतिशत, ५.२६ प्रतिशत, ४७.९५ प्रतिशत, ६९.६९ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा वर्षमा पशुजन्य उत्पादनतर्पm दुधको उत्पादन १.२५ प्रतिशत र माछाको उत्पादन ०.७४ प्रतिशतले ह्रास आएको छ भने मासु र अण्डाको उत्पादनमा क्रमशः १.३६ प्रतिशतलेर ४.८५ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादनतर्पm काठको उत्पादनमा ३१.३५ प्रतिशतले र दाउरा उत्पादनमा १३.६८ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा वर्षमा प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले कृषि, वन र माछापालन क्षेत्रमा रु. २४ अर्ब ६ करोड कर्जा लगानी गरेका छन् । यो रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको ६.७४ प्रतिशत रहेको छ ।

उद्योग क्षेत्र

समीक्षा वर्षमा अध्ययनमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३९.१९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस्तो अनुपात ३९.२० प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा चाउचाउ, क्याप्सुल औषधी, वियर, चुरोट, प्रशोधित दुध, ड्राई सिरप औषधी र तोरीको तेलको उत्पादनमा वृद्धि भएको छ भने ईटा, ओइन्टमेन्ट औषधी, ट्याब्लेट औषधी, चकलेट, लिक्विड औषधी, बिस्कुट र सिमेण्टको उत्पादनमा कमी आएको छ । 

बैंक तथा वित्तीय संस्थाले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको ७.८२ प्रतिशत अर्थात् रु.२७ अर्ब ९१ करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन्।

सेवा क्षेत्र 

समीक्षा वर्षमा गण्डकी प्रदेशमा विदेशी पर्यटक आगमनको संख्या २६ प्रतिशतले वृद्धि भई ६९ हजार ४ सय ९१ रहेको छ । त्यस्तै, होटलको शैया संख्या विक्री ३.८ प्रतिशतले वृद्धि भई ७५ हजार ४ सय १९ रहेको छ भने अकुपेन्सी ३१.८४ प्रतिशत रहेको छ जुन गत वर्ष ३१ प्रतिशत रहेको थियो । पछिल्लो समय आन्तरिक तथा बाह्य पयर्टनमा सुधार आएकोले सेवा क्षेत्रमा तदनुरुपको सकारात्मक प्रभाव देखिएको हो ।

समीक्षा वर्षमा २५ हवाई कम्पनीमार्फत्१४ हजार १ सय ५८ पटक उडान भएको छ । हवाई कम्पनीको सिट उपयोग क्षमता ७९.१३ प्रतिशत रहेको छ । गत वर्ष हवाई कम्पनीको सिट उपयोग क्षमता ७७.८५ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति उच्च रहनु, बसाईसराई, प्राविधिक तथा व्यवसायिक तालिमको व्यवस्था पर्याप्त मात्रामा हुन नसक्दा विश्वविद्यालयमा विद्यार्थीको संख्या ५.३१ प्रतिशत ह्रास देखिएको भएतापनि शिक्षकको संख्यामा भने १.३३ प्रतिशतले वृद्धि देखिएको छ । साथै, विद्यार्थी संख्यामा आएको कमीले गर्दा क्याम्पसहरु गाभिएका छन् जसले गर्दा क्याम्पसको संख्यामा ३.१३ प्रतिशतले कमी आएको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १४.६ प्रतिशतले वृद्धि भई रु.६ खर्ब १२ अर्ब २९ करोड पुगेको छ । कुल कर्जा प्रवाह २.३ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ५६ अर्ब ९२ करोड पुगेको छ । पर्यटन क्षेत्रमा प्रवाहित कर्जा रकम गत वर्षभन्दा ०.५६ प्रतिशतले वृद्धि भई रु २३ अर्ब ८९ करोड पुगेको छ ।

पूर्वाधार र रोजगारी 

राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये कालीगण्डकी करिडोर अन्तर्गतको मालढुङ्गा–राम्दी–गैडाकोट खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत र बेनी–जोमसोम खण्डको भौतिक प्रगति करिब ८७ प्रतिशत रहेको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत गोरखा–लमजुङ खण्डको भौतिक प्रगति ७७ प्रतिशत र कास्की–पर्वत– बाग्लुङ खण्डको भौतिक प्रगति ८२ प्रतिशत रहेको छ । तनहुँ जलविद्युत आयोजना तथा बुढिगण्डकी जलविद्युत आयोजनाको भौतिक प्रगति क्रमशः ६७ प्रतिशत र १६.५५ प्रतिशत रहेको छ । 

यस प्रदेशका ५९ स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेका छन्। उक्त कार्यक्रम सञ्चालित ७ सय ८९ आयोजना मार्फत्कुल ४ सय ४५ व्यक्तिले औसतमा ४८ दिन रोजगारी पाएका छन्।

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति 

कालीगण्डकी करिडोर 

कुल ४९५ कि.मी. लम्बाई भएको उत्तर–दक्षिण (कालीगण्डकी करिडोर) लोकमार्गलाई मालढुङ्गा–राम्दी–गैडाकोट खण्ड २९३ कि.मी. र जोमसोम–कोरला खण्ड २०२ कि.मी. गरी दुई भागमा विभाजन गरी निर्माण कार्य अघि बढाइएको छ ।

यस करीडोरको समीक्षा बर्षसम्म बेनी जोमसोम खण्डको भौतिक प्रगति करिब ८७ प्रतिशत र वित्तीय प्रगति करिब ८३ प्रतिशत रहेको छ । त्यसैगरी, मालढुङ्गा–गैंडाकोट खण्डमा करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ भने वित्तीय प्रगति ७० प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८३/८४ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको उक्त आयोजनाको अनुमानित लागत रु. ४० अर्ब २० करोड रहेको छ । यस आयोजनामा हाल पुल निर्माण, सडक कालोपत्रे तथा बेली ब्रिज निर्माण गर्ने कार्य भइरहेको छ ।

आयोजनामा कमजोर भौगोलिक धरातलको कारण अत्यधिक पहिरो तथा नदी कटान, सडक विभागको स्वीकृति नलिई शाखा सडक खोल्ने तथा खन्ने कार्य, मुआब्जा वितरण कार्यमा समस्या, स्थानीय सामग्रीको प्रयोगमा अवरोध तथा सरोकारवाला निकायहरूसँगको समन्वयमा कमी जस्ता समस्याहरू देखिएका छन्। आयोजनाबाट २०८२ असार मसान्तमा ३ हजार ५५ जनाले रोजगारी प्राप्त गरेका छन्।

बुढीगण्डकी जलविद्युत आयोजना

गोरखा जिल्लामा निर्माण गरिने १२०० मेगावाट क्षमताको जलाशययुक्त यस जलविद्युत आयोजनाको शुरु आर्थिक वर्ष २०६९/७० बाट भएको भएतापनि हालसम्म करिब १६.५५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ भने करिव १०.८० प्रतिशत वित्तीय प्रगति भएको छ ।

हालसम्म बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको केन्द्रिय तथा फिल्ड कार्यालयको स्थापना भएको, आयोजनाको लागि आवश्यक वित्तीय व्यवस्थापन गर्न विभिन्न विकल्पमा आवश्यक छलफल, निर्माण कार्य पूर्व तयारीका कार्य तथा मुआब्जा वितरणको कार्य भईरहेको छ ।

यस आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत व्यवस्थापन समयमै नभएकोले निर्माण कार्य शुरु गर्न ढिलाई भएको, मुआब्जा निर्धारण र वितरण सम्बन्धी कार्यमा जटिलता तथा डुवान प्रभावितको पुनस्र्थापना कार्यको मोडालिटी तयार गरी कार्य प्रारम्भ गर्न ढिलाई जस्ता समस्याहरु रहेका छन । यस आयोजनामा हाल १२ जना कर्मचारीे कार्यरत रहेका छन्।

तनहुँ जलविद्युत आयोजना

तनहुँ जिल्लामा नेपाल विद्युत प्राधिकरणले कुल ५० करोड ५० लाख अमेरिकी डलर लागतमा निर्माण गरेको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्मको भौतिक प्रगति ६७ प्रतिशत र वित्तीय प्रगति ६२ प्रतिशत रहेको छ ।

हाल आयोजनामा बाँध, पावरहाउस र प्रशारण लाईन जस्ता निर्माण कार्य भइरहेका छन् भने यस आयोजनाले ट्रान्समिसन लाइन विस्तारका घज्ञ क्रममा रुख कटान तथा जग्गाको मुआब्जा वितरणमा जटिलता जस्ता समस्या भोगिरहेको छ । हाल यस आयोजनाले कुल १२०७ जनालाई रोजगारी दिएको छ ।

मध्य पहाडी लोकमार्ग

यस आयोजना अन्र्तगत गण्डकी प्रदेशको गोरखा–लमजुङ खण्डमा पर्ने १०८ कि.मि. सडक निर्माणको ७७ प्रतिशत कार्य सम्पन्न भएको छ । हाल यस आयोजनामा स्ट्रक्चरल वर्कसु, ग्राभे, बेस, ब्ल्याकटप वर्कस् एण्ड बायो इन्जिनियरिङ वर्कस्को कार्य भइरहेको छ ।

लोकमार्गको निर्माण कार्य आर्थिक वर्ष २०७९/८० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएतापनि जग्गाको मुआब्जा, रुख कटानी, आर्थिक मन्दीका कारण निर्माण व्यवसायीको उदासिनता र नदीजन्य निर्माण सामाग्रीको उत्खनन्मा समस्या जस्ता कारणले गर्दा निर्माण सम्पन्न हुने समयावधि २०८४ असार मसान्तसम्म पुग्ने देखिएको छ ।

आयोजनाको यस खण्डको वित्तीय प्रगति ७५.२७ प्रतिशत रहेको छ भने हाल यस आयोजनाले७०० जनालाई रोजगारी दिएको छ । लोकमार्गको कास्की–पर्वत–बाग्लुङ खण्डमा पर्ने २५० कि.मि.मध्ये ८२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । यस खण्डको कुल २५० कि.मि. मध्ये २०५ कि.मि. सडक कालोपत्रे भैसकेको तथा हाल कास्की र बाग्लुङ जिल्लामा गरेर ३३ कि.मि. सडक कालोपत्रे गर्ने कार्यको लागि स्ट्रक्चरको निर्माण कार्य भैरहेको छ । 
यस आयोजना अन्तर्गत कास्की जिल्लाको अर्मलाकोट जौबारी १२ कि.मि. खण्डमा रेखाङ्कन विवादका कारण निर्माण कार्य सञ्चालन हुनसकेको छैन । उक्त आयोजनाको हालसम्मको वित्तीय प्रगति ७५ प्रतिशत रहेको छ भने आयोजनाबाट कुल १०५० जनाले रोजगारी पाएका छन्। 

यस्ता छन् पूर्वाधार क्षेत्रका चुनौती 

- सडक, सिँचाई, खानेपानी र सञ्चार लगायतका पूर्वाधार निर्माण सम्बन्धी कार्यहरूमा विभिन्न सरोकारवाला निकायहरूबीच आपसी समन्वयको अभावले पूर्वाधार निर्माण समयमै सम्पन्न हुन नसक्ने चुनौती देखिएको छ । 

- जलविद्युत तथा सडक निर्माण लगायतका आयोजनाहरुमा मुआब्जा वितरणमा समस्या, दक्ष कामदारको अभाव, रुख कटान कार्यमा समस्या, स्थानीयको विवाद, राजनैतिक अस्थिरता, भौगोलिक विकटता इत्यादि कारणले निर्धारित लागत र समयमै निर्माण कार्य सम्पन्न गर्न चुनौती देखिएको छ ।

- ठूला पूर्वाधार निर्माणका लागि भु–धरातल र प्राविधिक जटिलताले गर्दा लागत संरचना तुलनात्मक रुपमा अधिक देखिने हुँदा सार्वजनिक क्षेत्रको लगानीले मात्र प्रयाप्त हुन नसक्ने अवस्थामा नीजि क्षेत्रलाई लगानीका लागि आकर्षित गर्ने कार्य चुनौतीपूर्ण छ । 

- भौगोलिक, वित्तीय र वातावरणीय सम्भावना नदेखिएका ग्रामीण बस्तीको व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण देखिएको छ । 

सम्भावनाहरू

- गण्डकी प्रदेशमा हाल १२०० मेगावाट बुढीगण्डकी जलविद्युत आयोजनासहित ३००० मेगावाट भन्दा धेरै क्षमताका आयोजना निर्माणाधीन अवस्थामा रहेको परिप्रेक्ष्यमा अन्तरदेशीय प्रसारण लाइनको निर्माण हुनु तथा नेपाल सरकार र भारत सरकार तथा बंगलादेश सरकारबीच नेपालवाट बिद्युत निर्यात गर्ने समझदारी हुनुले जलविद्युत क्षेत्रको विस्तारमा सम्भावना थपेको छ ।

- मुस्ताङ जिल्लामा सौर्य तथा वायु ऊर्जाको प्रचुर सम्भावना भएकोले सोको विस्तृत अध्ययन गरी सौर्य तथा वायु ऊर्जा उत्पादन गर्न सकिने सम्भावना रहेको छ । 

- गण्डकी प्रदेशमा निर्माणाधीन कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जस्ता राष्ट्रिय गौरवका सडकहरुको निर्माण कार्य सम्पन्न गर्न सकेमा यस प्रदेशको आर्थिक, व्यापारिक एवम् सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने सम्भावना रहेको छ ।

- एशियाली विकास बैंकसँग ऋण सम्झौता भई पृथ्वी राजमार्गको मुग्लिङ्ग–पोखरा खण्डलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य सम्पन्न हुने चरणमा रहेको हुँदा यस प्रदेशमा व्यापार व्यवसायका लागि ढुवानी सेवा र यात्राका लागि समेत सहज हुने भएकोले व्यापार व्यवसाय र पर्यटकीय गकितविधि थप चलायमान हुने सम्भावना रहेको छ ।
 

Sponsored Advertisment

थप समाचार