Below Menu
Below Menu

सहकारीहरूले समृद्ध विश्वका लागि समावेशी  र दिगो समाधान अघि बढाउँदै !

सहकारीहरूले समृद्ध विश्वका लागि समावेशी  र दिगो समाधान अघि बढाउँदै !

पृष्ठभूमि

सहकारी प्रणाली कुनै व्यक्तिको नाफाको उद्देश्यमा आधारित उद्यम होइन । यो सदस्य–केन्द्रित, लोकतान्त्रिक र समानतामा आधारित आर्थिक प्रणाली हो। यसले सामाजिक न्याय, आपसी सहायता, सहभागिता र पारदर्शितालाई आधार मानेर सदस्यहरूको आवश्यकता पूर्ति र सामुदायिक विकासलाई प्राथमिकता दिन्छ। सहकारी मोडेलले “एक सदस्य, एक मत” सिद्धान्तमा आधारित भएर नै निर्णय लिने प्रक्रिया अपनाउँछ, जसले आर्थिक लोकतन्त्र सुनिश्चित गर्दछ ।

विश्वको आर्थिक र सामाजिक विकासको इतिहासमा सहकारी अभियानले एउटा अद्वितीय र प्रेरणादायी भूमिका निर्वाह गर्दै आएको छ। सहकारी मोडेलले व्यक्तिलाई केवल लाभको साधनको रूपमा होइन, एक सक्षम र समान सहभागीको रूपमा हेर्ने र सामूहिकताको बलमा व्यक्तिगत तथा सामुदायिक विकास सुनिश्चित गर्ने दृष्टिकोण स्थापित गरेको छ। यही कारणले गर्दा सहकारीहरूलाई “जनकेन्द्रित, समावेशी र दिगो विकासका लागि प्रमाणित मोडेल” को रूपमा पनि विश्वभर स्वीकार गरिएको छ। 

यस्तो महत्वपूर्ण क्षेत्रकाबारेमा विश्वसमुदायमा जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक र आर्थिक विकासमा सहकारी आन्दोलनले पुर्याएको योगदान र सफलतालाई व्यापक रूपमा प्रस्तुत तथा प्रसंशा गर्ने उद्देश्यले नै अन्तराष्ट्रिय सहकारी महासंघ (आइ.सि.ए) ले सन् १९२३ देखि प्रारम्भ गरेको हरेक वर्ष अन्तराष्ट्रिय सहकारी दिवस मनाउने परम्पराको १०३ वर्ष र संयुक्त राष्ट्रसंघले सन् १९९५ देखि प्रारम्भ गरेको अन्तराष्ट्रिय सहकारी दिवस मनाउने परम्पराको ३१वर्ष प्रवेश गरेको दिन जुलाई महिनाको प्रथम शनिवार यस वर्ष (सन् २०२५)को जुलाई ५ तारिखमा (वि.स.२०८२ आषाढ २१ गते) पर्न गएको छ । 

यसै परम्परालाई निरन्तरता दिँदै संयुक्त राष्ट्रसंघको महासभाले ९ जुन २०२४ मा पारित गरेको निर्णयमार्फत सन् २०२५ लाई पुनः दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्ष (-International Year of Cooperatives – IYC 2025_ का रूपमा मनाउने घोषणा गर्‍यो। “सहकारीहरूले समृद्ध विश्व निर्माण गर्छन्‌ (Cooperatives Build a Better World ) ” भन्ने मूल नाराका साथ सन् २०२५ का कार्यक्रमहरू तयार पारिँदै गर्दा, यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसका लागि तय गरिएको नारा  “सहकारीहरूले समृद्ध विश्वका लागि समावेशी र दिगो समाधानहरू अघि बढाउँदैू (Cooperatives: Driving Inclusive and Sustainable Solutions for a Better World) भन्ने तय गरिएको छ । जुन नारा सोही अभियानको भावनालाई अझ सजीव र सघन बनाउने उद्देश्यले चयन गरिएको हो।यस नाराले सामाजिक न्याय, आर्थिक समावेशिता, लैङ्गिक समानता, मर्यादित रोजगारी, दिगो कृषि र जलवायु-मैत्री कार्यमा अग्रसरता जस्ता पहलकदमीहरूलाई जोडेर सहकारी मोडेललाई केवल आर्थिक विकासको माध्यम मात्र होइन, समग्र मानव कल्याण र पृथ्वीको संरक्षणको निम्ति एउटा सशक्त साधनको रूपमा प्रस्तुत गरेको छ।

नारा, दिवस र अन्तर्राष्ट्रिय अभियान

अन्तर्राष्ट्रिय सहकारी दिवसका लागि तय गरिएको नाराले सहकारी संस्थाहरूले विश्वव्यापी चुनौतीहरूको सामना गर्दै समावेशी र समृद्ध विश्व निर्माणमा पुर्याएको योगदानलाई स्पष्ट रूपमा प्रतिविम्बित गर्दछ। सहकारीहरूले विकास र शान्तिमा पुर्याएको महत्वपूर्ण योगदानलाई विश्वव्यापी रूपमा उजागर गर्दछ।सहकारी उद्यमले व्यक्तिलाई सशक्त बनाउने, समुदायहरूलाई मजबुत र आत्मनिर्भर बनाउने ,लोकतन्त्र, सामाजिक ऐक्यबद्धता, आपसी सहयोग तथा दिगोपनका मूल्यहरूलाई प्रवर्द्धन गर्ने भूमिकालाई विशेष रूपमा प्रस्तुत गर्दछ।

“Cooperatives: Driving Inclusive and Sustainable Solutions for a Better World” भन्ने थिमले अन्तर्राष्ट्रिय सहकारी आन्दोलनको वर्तमान धारालाई उत्कृष्ट रूपमा प्रतिनिधित्व गर्दछ। यो नारा केवल एउटा आकांक्षा होइन, सहकारीहरूले विश्वका विविध सामाजिक-आर्थिक सन्दर्भमा देखाइरहेका उपलब्धिहरूको प्रतिविम्ब पनि हो। सहकारीहरू आर्थिक समृद्धि मात्र होइन, सामाजिक न्याय, समावेशीता, दिगोपना र सहभागितामा आधारित विकासको मार्गचित्रको रूपमा अघि बढिरहेका छन्।

विश्वभरका समुदायहरूलाई यस दिनमा सक्रियता पूर्वक सहभागी हुन उत्साहित र प्रेरित गरिन्छ। यस अन्तर्गत विभिन्न कार्यक्रमहरू आयोजना गरिने, प्रेरणादायी सहकारीका अनुभव र सफलताका कथाहरू सार्वजनिक गरिने तथा चालु वर्षमा संस्थाद्वारा घोषित कार्यक्रम र विषयवस्तुको व्यापक प्रचार-प्रसार गर्ने परम्परा रहेकोछ।यसले सहकारीहरूको महत्वलाई केवल स्थानीय वा क्षेत्रीय सीमामा मात्र होइन, विश्वव्यापी आर्थिक र सामाजिक प्रणाली भित्र स्थापित गर्न सहयोग पुर्याउँदछ।

आजको संसार तीव्र असमानता, बेरोजगारी, जलवायु संकट र सामाजिक विभाजनले आक्रान्त भइरहेको छ। यस्तो अवस्थामा सहकारी अभियानले सामूहिक उत्तरदायित्व, लोकतान्त्रिक शासन, समान अवसर र साझा लाभमा आधारित दिगो विकासको बाटो देखाउँदै आएको छ।यसले सहकारीहरूलाई केवल व्यवसायिक संस्था नभएर सामाजिक न्याय र दिगोपनाको संवाहकको रूपमा पुनः स्थापित गर्ने अवसर प्रदान गर्दछ।तसर्थ यो राष्ट्रिय अभियान मात्र नभै एक अन्तर्राष्ट्रिय अभियान हो ।

अन्तर्राष्ट्रिय सहकारी वर्ष 

सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रुपमा मनाउने सन्दर्भम सन् २०१० मा संयुक्त राष्ट्रसङ्घको ६४ औँ महासभामा मंगोलिया सरकारको पहल कदमीमा अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउने सम्बन्धी प्रस्ताव राखियो जुन प्रस्तावका प्रायोजनकर्ता मंगोलिया र केन्या रहेका थिए भने अन्य देशको समेत समर्थन रहेको थियो।

उक्त प्रस्ताव अनुसार सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रुपमा मनाउने निर्णय गरियो। जसको उद्घाटन ३ नोभेम्बर २०११ मा Cooperative Built a Better World भन्ने नारा सहित संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा गरिएको थियो। त्यसपछि सन् २०१२ भरि विश्वभर सहकारीहरूको योगदानलाई सम्मान गर्ने, यसको महत्व जन समक्ष पुर्याउने उद्देश्य सहित अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ लाई वर्षभरि विभिन्न कार्यक्रमका साथ मनाएर सम्पन्न गरिएको थियो। 

सन् २०१२ को पहिलो अन्तर्राष्ट्रिय सहकारी वर्षको सफलतापछि पुनः ९ जुन २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले मंगोलिया र केन्याको प्रायोजन तथा अन्य देशहरूको समर्थनमा सन् २०२५ लाई पनि अन्तर्राष्ट्रिय सहकारी वर्षका रुपमा घोषणा गर्न सहमति प्रदान गरेको थियो। 

सहकारी मोडलले विश्वव्यापी रूपमा पुर्‍याएको प्रभावकारी योगदानलाई उजागर गर्ने गरी"Cooperative Build a Better World" भन्ने थिम तय गर्ने घोषणा गरिएको थियो। सन् २०२४ को जुलाईमा संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा पूर्व शुभारम्भ कार्यक्रम गरिएको अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को २५-२९ नोभेम्बर २०२४ मा "Cooperatives Build Prosperity for All" भन्ने  मूल नारासहित भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ICA Global Cooperative Conference मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति र विशेष सम्बोधनमा २५ नोभेम्बर २०२४ का दिन अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को औपचारिक उद्घाटन गरिएको थियो ‌। यस विश्व सहकारी सम्मेलनमा विश्वका ३००० भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने Dr. U.S. Awasthi (IFFCO) लाई  Rochdale Pioneers Award प्रदान गरिएको थियो।

सन् २०१२ मा संयुक्त राष्ट्रसंघले पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गर्दा सहकारीहरूको भूमिका विश्वव्यापी रुपमा औपचारिक रूपमा मान्यता पाएको थियो। त्यतिबेलादेखि सहकारीहरूले गरिबी निवारण, रोजगार सिर्जना, सामाजिक संरक्षण, महिला सशक्तीकरण तथा जलवायु संकटजस्ता जटिल विश्वव्यापी चुनौतीहरूको समाधानमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। 

यसै सन्दर्भमा, सहकारी अभियानको सफलतालाई थप ऊर्जा र मान्यता दिन संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षका रूपमा घोषणा गरेको हो।यस घोषणाको उद्देश्य के हो भने सहकारीहरूले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरू (SDGs) मा पुर्‍याउँदै आएका योगदानलाई उजागर गर्दै, आगामी दिनमा अझ प्रभावकारी ढंगले यी लक्ष्यहरू प्राप्त गर्न सहकारी मोडेललाई सशक्त बनाउनु रहेकोछ । साथै सहकारी सचेतना अभिवृद्धि, नीतिगत पैरवी, साझेदारी निर्माण, नेतृत्वको सशक्तीकरणमा विशेष जोड दिनु पनि IYC 2025 को उद्देश्य भित्र पर्दछ ।

SDGs र सहकारीहरूको योगदान

सन् २०१५ मा संयुक्त राष्ट्रसंघले घोषणा गरेका १७ वटा दिगो विकास लक्ष्य (SDGs) संसारका सबै राष्ट्रहरूका लागि गरिबी, असमानता, जलवायु संकट, शिक्षा, स्वास्थ्य र शान्तिमा सुधार ल्याउने साझा खाका हुन् , जुन सन् २०३० सम्म हासिल गर्ने लक्ष्यका साथ अघि बढाइएको छ। यिनै लक्ष्यहरूमा सहकारीहरूले ऐतिहासिक र व्यवहारिक योगदान पुर्याउँदै आएका छन्।

साझा लगानी, सामूहिक स्वामित्व, लोकतान्त्रिक संरचना र समावेशी सेवाको कारण सहकारी मोडेलले सामाजिक–आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ। सहकारीहरू आर्थिक पहुँच, रोजगारी सिर्जना, लैङ्गिक समानता, जलवायु-मैत्री प्रविधि र साझेदारी विकासमा अग्रणी भएर स्थानीयदेखि विश्वव्यापी रूपमा सशक्त माध्यम बनेका छन्। १७ वटा दिगो विकास लक्ष्य पुरा गर्न सहकारी क्षेत्रको भूमिकालाइ तपशिल वमोजिम छोटकरीमा चित्रण गर्न सकिन्छ ।

१७ वटा SDGs लक्ष्यहरू

दिगो विकासका १७ वटै लक्ष्य पूरा गर्न कुनै न कुनै रूपबाट सहकारी क्षेत्रको योगदान रहेपनि विशेषगरी तपसिल बमोजिमका लक्ष्यहरूमा सहकारी क्षेत्रले खेल्ने भूमिकाले धेरै महत्व राख्दछ । विश्वव्यापी रूपमा हेर्दा यी लक्ष्यहरू प्रत्यक्ष रूपमा मानव जीवनसँग जोडिएका छन् । जसको पूर्णतामा सहकारी क्षेत्रले खेल्ने भूमिकाले पहुँचबाट अलग भएको समुदायको सहभागिता वृद्धिमा विशेष भूमिका खेल्दछन् । सहकारी मोडेलले दिगो विकासका १७ वटै लक्ष्य मध्य केही लक्ष्यहरूमा विशेष र असाधारण भूमिका खेल्न सक्ने कुराका तथ्यहरू विश्वभरका अध्ययनहरूले पुष्टि गरेका छन्।  जुन मुख्यतया:

दिगो विकास लक्ष्य नं. एक गरिबी अन्त्य (No Poverty) हो । जसको प्रमुख लक्ष्यस् सबै ठाउँमा सबै प्रकारका गरिबी अन्त्य गर्नु रहेको छ । सहकारी संस्था विशेषगरी बचत तथा ऋण, कृषि उत्पादन, उपभोक्ता सहकारी, र सीप–आधारित सेवा सहकारीहरू ले गरिब समुदायहरूलाई वित्तीय पहुँच, आय सृजना र सामाजिक सुरक्षा प्रदान गर्छन्।

- सहकारीहरूले बिना धितो ऋण, न्यून ब्याज र समयमै पुनर्भुक्तानीका विकल्पहरू उपलब्ध गराई आत्मनिर्भरता र उद्यमशीलता प्रवर्द्धन  गर्छन्।

- ग्रामीण कृषकहरूका लागि सहकारी कृषि उत्पादन सामाग्री आपूर्ति, सामूहिक उत्पादन  र बजार पहुँचमार्फत कृषिमा लागत घटाउँदै आय वृद्धि गर्न सहायक छन्।

-  सहकारीको लचिलो संरचना र समावेशी नीतिका कारण सामाजिक(आर्थिक रूपमा पछाडी परेका वर्गहरू (गरिब, महिला, दलित, आदिवासी) लाई मुलप्रवाहमा ल्याउन सम्भव र सहयोग पुग्दछ ।

दिगो विकास लक्ष्य नं. पाँच लैङ्गिक समानता (Gender Equality) हो । जसको प्रमुख लक्ष्यस् महिला तथा पुरुषबीच समान अधिकार, अवसर, र प्रतिनिधित्व सुनिश्चित गर्नु रहेको छ । सहकारी संस्थाहरूको संरचना स्वयं लोकतान्त्रिक र समान सहभागितामा आधारित हुने भएकाले यसले महिला सशक्तीकरणमा प्रत्यक्ष योगदान  पुर्याउँदछ।

- महिला सहकारीहरू ९जस्तैस् महिला बचत तथा ऋण सहकारी संस्था० ले महिलालाई आर्थिक पहुँच, नेतृत्व विकास र सामुदायिक निर्णय प्रक्रियामा सहभागिता दिलाउँछ।

- महिला सदस्यहरूलाई सीप विकास, उद्यम सञ्चालन तथा आय मूलक कार्यक्रमहरूमा संलग्न गराएर आत्मनिर्भर बनाउने वातावरण सिर्जना गरिन्छ।

- सहकारी संस्थाहरूमा आरक्षण नीति वा लक्ष्य समूहका कार्यक्रमहरू मार्फत महिलाको संस्थागत नेतृत्वमा पहुँच सुनिश्चित गर्न सकिन्छ।

दिगो विकास लक्ष्य नं.आठ मर्यादित रोजगारी र आर्थिक वृद्धि (Decent Work and Economic Growth) हो । जसको प्रमुख लक्ष्यः समावेशी, दिगो र उच्च आर्थिक वृद्धि तथा सबैका लागि मर्यादित रोजगारी गर्नु रहेको छ ।सहकारीहरू स्व–रोजगारी, सामूहिक उद्यम, र स्थानीय उत्पादन प्रणाली मार्फत रोजगारी सिर्जनाको सशक्त माध्यम हुन्।

- सेवा, कृषि, उत्पादन, उपभोक्ता र आवास सहकारीहरूले स्थानीय उत्पादन र वितरण प्रणाली सृजना  गरेर स्व(रोजगारी सिर्जना  गर्छन्।

- सहकारी संस्थाहरू सदस्यका सीप, दक्षता र उद्यमशीलता विकास  गर्दै दिगो आर्थिक सहभागिता प्रदान गर्छन्।

- यसले असङ्गठित क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई सामूहिकता र सामाजिक सुरक्षा समेत उपलब्ध गराउँछ।

दिगो विकास लक्ष्य नं. दश असमानताको न्यूनीकरण (Reduced Inequalities) हो । जसको प्रमुख लक्ष्यस् राष्ट्रभित्र र राष्ट्रहरूबीचको असमानता न्यूनीकरण गर्नु रहेको छ । सहकारीहरूको आधारभूत विशेषता नै समावेशिता, समानता र पहुँच हो। यसले पछाडि परेका वर्ग, गरिब, ग्रामीण, महिला, युवा र सीमान्तकृत समुदायलाई समान अवसर उपलब्ध गराउँछ।

- सहकारी संस्थाले “एक सदस्य, एक मत” सिद्धान्तअनुसार समान सहभागिता र निर्णयको अधिकार दिन्छ, जुन असमानताको अन्त्यतर्फको व्यावहारिक अभ्यास हो।

- सहकारीमार्फत आर्थिक स्रोतमा समान पहुँच दिलाएर समाजभित्रको वर्गीय वा जातीय विभाजनको न्यूनीकरण  सम्भव हुन्छ।

- साना किसान, श्रमिक, महिला, दलित समुदायका लागि सहकारी सशक्तिकरण र आवाज उठाउने साझा प्लेटफर्म  हो।

दिगो विकास लक्ष्य नं. तेह्र जलवायु कार्य (Climate Action) हो । जसको प्रमुख लक्ष्यस् जलवायु परिवर्तन तथा त्यसको असरहरू विरुद्ध तत्काल कदम चाल्नु रहेको छ।सहकारी संस्थाहरूले सामूहिक उत्पादन प्रणाली, प्राकृतिक स्रोतको संरक्षण, तथा वातावरणमैत्री अभ्यासहरू को प्रवर्द्धनमार्फत जलवायु कार्यमा योगदान दिन्छन्।

- कृषक सहकारीहरू जैविक खेती, संरक्षण खेती, जलस्रोत व्यवस्थापन जस्ता अभ्यासमा सदस्यहरूलाई प्रशिक्षित गर्छन्।

- सहकारीहरू नवीकरणीय ऊर्जा ९जस्तैस् सौर्य सहकारी० मार्फत स्वच्छ ऊर्जा उत्पादन तथा वितरणमा सक्रिय छन्।

- सहकारीहरूले वन संरक्षण, फोहोर व्यवस्थापन, हरित प्रविधि प्रयोग आदिजस्ता जलवायु–मैत्री समाधानको प्रर्वद्धन गर्छन्।

दिगो विकास लक्ष्य नं. सत्र साझेदारी र सहकार्य (Partnerships for the Goals) हो । जसको प्रमुख लक्ष्यस् विकासका लक्ष्यहरू हासिल गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारी बलियो बनाउनु रहेको छ ।सहकारी संस्थाहरू स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य  गर्दै सामाजिक–आर्थिक विकासमा बहुपक्षीय साझेदारी विकास गर्छन्।

- सहकारीहरूले सरकारी निकायका अलावा संघ, महासंघ, ल्न्इ, क्ष्ल्न्इक, बैंक वित्तिय संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग नीति निर्माण, तालिम, प्रविधि हस्तान्तरण र लगानीमा सहकार्य  गर्दै आएका छन्।

- सहकारी मोडेल नै समूहमा आधारित सहकार्य र साझा लगानीमा विश्वास गर्ने प्रणाली हो, जसले साझेदारीको संस्कारलाई जीवन्त राख्दछ।

- सहकारी दिवस, अन्तर्राष्ट्रिय सम्मेलन, सहकारी अभियान आदिमा सहकार्य गरिँदै विश्वव्यापी नेटवर्किङ र सन्देश प्रसार गरिन्छ।

सहकारी संस्थाहरू दिगो विकास लक्ष्यहरू प्राप्त गर्नका लागि सबैभन्दा व्यवहारिक, समावेशी र दीर्घकालीन समाधानका रूपमा उभिएका छन्। यिनीहरूले गरिबी घटाउने, महिला सशक्तीकरण गर्ने, मर्यादित रोजगारी सिर्जना गर्ने, जलवायु कार्यलाई बल दिनेदेखि लिएर साझेदारीहरू मजबुत पार्नेसम्मको काममा योगदान दिएका छन्। सामूहिक प्रयास, सहभागितामूलक नेतृत्व र स्थानीय स्रोत परिचालनको कारण सहकारीहरूले समाजका सबै तहका मानिसलाई विकासको मूलधारमा ल्याउन मद्दत पुर्याएका छन्। क्म्न्क को व्यवहारिक कार्यान्वयनमा सहकारी मोडेल आजको समयमा अत्यन्तै महत्वपूर्ण र अपरिहार्य साधन सावित भएको छ।

हालसम्मका उपलब्धि तथा देखिएका चुनौतीहरू 

सहकारी आन्दोलनले विश्वव्यापी रूपमा समावेशी, न्यायपूर्ण र दिगो विकासको यात्रामा ऐतिहासिक योगदान पुर्याउँदै आएको छ। “सहकारीहरूले समृद्ध विश्वका लागि समावेशी र दिगो समाधानहरू अघि बढाउँदै” भन्ने सन्देशले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को सारलाई प्रतिबिम्बित गर्छ। हालसम्म करोडौं व्यक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा समेटेर सहकारीहरूले आर्थिक समावेशिता, रोजगारी सिर्जना, लैङ्गिक समानता, हरित प्रविधि र साझेदारीजस्ता क्षेत्रहरूमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। यद्यपि, नीतिगत कमजोरी, पारदर्शिताको अभाव, डिजिटल विभाजन, जलवायु संकट, युवाको आकर्षण घट्नु र राजनीतिक हस्तक्षेपजस्ता चुनौतीहरू अझै विद्यमान छन्।

उपलब्धिहरू (Strengths & Achievements)

आर्थिक समावेशिता र पहुँचः सहकारीहरूले ग्रामीण, सीमान्तकृत, महिला र गरिब वर्गका लागि वित्तीय, सामाजिक र आर्थिक सेवामा पहुँच दिलाई उनीहरूलाई उत्पादनशील बनाएको छ। हाल विश्वभर करोडौं व्यक्तिहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहकारी सेवामा आबद्ध छन्, जसले सामाजिक समावेशीकरणमा उल्लेखनीय योगदान दिएको छ।

गरिबी न्यूनीकरण र रोजगारी सिर्जनाः  बिना धितो ऋण, सामूहिक लगानी र बजार पहुँच उपलब्ध गराई सहकारीहरूले खासगरी ग्रामीण क्षेत्रमा गरिबी घटाएका छन् र स्वरोजगारका अवसर सिर्जना गरेका छन्। कृषि, सेवा र उत्पादन क्षेत्रमा सहकारीहरूले लचिलो आर्थिक आधार तयार पारेका छन्।

सामाजिक सुरक्षा र समानता प्रवर्द्धनः  श्रमिक, महिला, दलित र आदिवासी समुदायलाई सामाजिक सुरक्षा जालभित्र समेटेर उनीहरूको अधिकार सुनिश्चित गरिएको छ। महिला नेतृत्व र सहभागिता बढाएर लैङ्गिक समानताको अभ्यासमा समेत सहकारीहरूले उदाहरणीय भूमिका खेलेका छन्। दिगोपना र हरित समाधानहरूः  जलवायु–मैत्री कृषि, नवीकरणीय ऊर्जा प्रवर्द्धन, जैविक खेती र हरित प्रविधिको प्रयोगले सहकारीहरूले दिगो र नवप्रवर्तनशील समाधानहरू प्रस्तुत गरेका छन्।

साझेदारी र सशक्त संस्थागत संरचनाः सहकारीहरूले सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू र निजी क्षेत्रसँग सहकार्य गर्दै स्थानीयदेखि विश्वव्यापी स्तरसम्म साझेदारीको नमूना प्रस्तुत गरेका छन्।

चुनौतीहरू (Contemporary Challenges)

- नीतिगत र कानुनी संरचनाको कमजोरीः धेरै देशमा सहकारीहरूको विकासलाई प्रोत्साहन गर्ने स्पष्ट नीति, कानुन र नियामक संरचना अझै पर्याप्त छैनन् , जसले दीर्घकालीन स्थायित्वमा प्रश्न उठाइरहेका छन् ।

- आन्तरिक सुशासन र पारदर्शिताको अभावः सहकारीहरूको आन्तरिक पारदर्शिता, जवाफदेहिता र दक्ष व्यवस्थापनमा कमजोरी देखिन्छ, जसले सदस्यहरूको विश्वासलाइ कमजोर बनाउने खतरा कायमै छ।

- प्रविधिमा पहुँच र डिजिटल विभाजनः सहकारीहरूले तीव्र प्राविधिक विकाससँग तालमेल गर्नुपरेको छ। ग्रामीण र सीमान्तकृत समुदायमा डिजिटल साक्षरताको कमीले सहकारीहरूको पारदर्शिता र सुशासनमा प्रभावकारिता घटाउने जोखिम छ।

- युवाको आकर्षण घट्दै जानुः नयाँ पुस्तामा सहकारी मोडेलप्रति अपेक्षाकृत कम आकर्षण रहेको छ, जसले सहकारीहरूको भविष्य नेतृत्व र नवीनतम क्षमतामा असर पार्न सक्छ।

- जलवायु परिवर्तन र आर्थिक अस्थिरताः चरम मौसमी घटनाहरू, प्राकृतिक स्रोतहरूको ह्रास र विश्वव्यापी आर्थिक संकटहरूले सहकारीहरूको दिगोपनालाई चुनौती दिइरहेका छन्।

- राजनीतिक हस्तक्षेप र संस्थागत स्वायत्ततामा बाधाः कतिपय देशमा सहकारीहरूमा राजनीतिक हस्तक्षेप, पक्षपात र नेतृत्चविहीनता जस्ता अवस्थाले संस्थागत क्षमतामा ह्रास ल्याउँदछ।

सहकारीहरूले आजको असमान र अस्थिर विश्वमा आशा र विकल्पको पर्याय बनेर सामाजिक न्याय, आर्थिक समावेशिता र दिगोपनामा उल्लेखनीय योगदान गरेका छन्। तर, यी उपलब्धिलाई दीर्घकालीन बनाउन सहकारीहरूले आफ्ना संरचना पारदर्शी र जवाफदेही बनाउन, युवा पुस्तालाई आकर्षित गर्न, डिजिटल रुपान्तरणसँग समायोजन गर्न र हरित नवप्रवर्तनलाई आत्मसात् गर्न आवश्यक छ। अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ र SDGsका लक्ष्यहरूलाई मूर्त रूप दिन सहकारीहरूले नीतिगत सुधार, सशक्त नेतृत्व र बहुपक्षीय साझेदारीको माध्यमबाट अझ प्रभावकारी ढंगले अघि बढ्नुपर्छ। यसले समृद्ध, न्यायपूर्ण र दिगो विश्व निर्माणमा मार्गप्रशस्त गर्नेछ।

नेपालको सहकारी अभियान र अन्तर्राष्ट्रिय सहकारी दिवस 

नेपालमा सहकारी अभियानको औपचारिक र संस्थागत सुरुआत वि.सं. २०१३ साल चैत २० मा चितवन जिल्लामा सहकारी ऋण समितिहरूको गठन भएपछि नै भएको हो। वर्तमानमा करिब ३३ हजार सहकारी संस्थामार्फत १।०९ करोड नेपाली नागरिकहरू प्रत्यक्षरूपमा सहकारीको सेवामा संलग्न छन्। यी सहकारी संस्थाहरूले ग्रामीण वित्तीय पहुँच विस्तार, उत्पादन वृद्धि, बजार सञ्जाल, रोजगारी सिर्जना, महिला सशक्तीकरण र सीमान्तकृत समुदायको समावेशीकरणमा उल्लेखनीय योगदान पुर्‍याइ रहेका छन्।

संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई “International Year of Cooperatives (IYC 2025)” घोषणा गर्दै तय गरेको नारा र अन्तर्राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा तय गरिएको नाराले नेपालको सहकारी अभियानमा नयाँ ऊर्जा थपेको छ। यसले सहकारीलाई सामाजिक–आर्थिक रूपान्तरणको भरपर्दो माध्यमको रूपमा प्रस्तुत गर्दै समावेशी, दिगो र मानव–केन्द्रित विकासको साझा एजेन्डाका रूपमा अगाडि सारेको छ।

यसै सन्दर्भमा नेपालको सहकारी क्षेत्रको प्रमुख छाता संस्था राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड, नेपालले यस बर्षका लागि निर्धारण गरेको राष्ट्रिय नारा “मर्यादित सहकारी, समुन्नत समाज” समेत अन्तर्राष्ट्रिय अभियानसँग पूर्णतः सुसंगत छ।

यसले सहकारीहरूको पारदर्शिता, उत्तरदायित्व, व्यवसायिकता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँछ। महासङ्घले महिला उद्यमशीलता, युवा सहभागिता, सहकारी सुशासन र सामाजिक समावेशीकरणलाई प्राथमिकता दिएर नै यस वर्षका आफ्ना कार्यक्रमहरू अगाडी बढाइरहेको छ।जसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग समेत सहकार्य हुँदै आएको देखिन्छ।

विभिन्न विधामा कार्यपत्र प्रस्तुति, प्रेरणादायी महिला अनुभव र सहकारी उत्पादन प्रदर्शनीजस्ता प्रयासहरूले नेपालको सहकारी अभियानको सशक्त आवाज अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याएको छ। साथै अभियानका प्रदेश र जिल्ला स्तरका संघहरूले समेत विभिन्न प्रदेश, जिल्ला र पालिका तहमा यसैसँग सम्बन्धित कार्यक्रमहरू सरकारी र सहकारी संघसंस्थाहरूसँगको साझेदारीमा गर्दै आएका छन् । यि सवै क्रियाकलापले नेपाललाई दक्षिण एशियामै अग्रणी सहकारी अभ्यासकर्ताको रूपमा उभ्याउने सम्भावना बढाइ रहेको छ।

अतः सहकार्य, समावेशिता र दिगोपनाको मार्गचित्रमा नेपाली सहकारी आन्दोलनले अन्तर्राष्ट्रिय सहकार्यसँग कदम मिलाउँदै सशक्त रूपमा अघि बढिरहेको छ। IYC 2025  अवसरले नेपालको सहकारी अभियानलाई अझ गहिरो प्रभावकारितातर्फ उन्मुख गराउनेछ।

विश्वका केही प्रमुख सहकारीहरूको अवस्था 

अन्तराष्ट्रिय सहकारी दिवस र अन्तराष्ट्रिय सहकारी बर्षको परिचर्चा गरिरहँदा यहाँ दक्षिण एशिया र बाँकी  विश्वका केही अग्रज सहकारीहरूका सम्वन्धमा समेत चर्चा परिचर्चा अवस्यक ठानि केही तथ्यहरू उजागर गर्ने प्रयत्न गरिएको छ । 

क. दक्षिण एशियाका अग्रज सहकारीहरू

भारतको गुजरात को(अपरेटिभ मिल्क मार्केटिङ फेडरेशन लिमिटेड (GCMMF), , जसलाई आम रूपमा AMULभनिन्छ, विश्वकै सबैभन्दा सफल डेरी सहकारीमध्ये पर्छ। यसको वार्षिक कारोबार ९२०२३० करिब ८.३ अर्ब अमेरिकी डलर पुगेको छ। यसमा करिब ३.६ मिलियन व्यक्तिगत सदस्य छन्, जुन भारतका साना दुग्ध उत्पादक कृषकहरू हुन्। भारतभर १८ हजारभन्दा बढी गाउँस्तरीय दुग्ध उत्पादक सहकारीहरूसँग जोडिएको GCMMFले भारतको दूध उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउँदै, आत्मनिर्भरता दिलाएको छ।

भारतमा रहेको Indian Farmers Fertilizer Cooperative Limited (IFFCO), सन् १९६७ मा स्थापना भएको हो । यो आजको मितिमा विश्वको सबैभन्दा ठूलो मल उत्पादक सहकारी हो। यसको वार्षिक कारोबार १० अर्ब डलरभन्दा बढी छ। यसमा ३६,००० सहकारी सदस्य संस्था आवद्ध छन्, जसले करिब ५० करोड किसानको प्रतिनिधित्व गर्छ। क्ष्ँँऋइ ले हरित क्रान्तिमा योगदान पुर्याउँदै भारतीय कृषिलाई आधुनिक र उर्वर बनाएको छ।

भारतकै अर्को सहकारी KRIBHCO (Krishak Bharati Cooperative Ltd.) ले पनि मल र कृषि सेवाहरू प्रदान गर्दै वार्षिक ४ अर्ब डलरभन्दा बढीको कारोबार गर्दै आएको छ। यसको १०,००० सहकारी सदस्य संस्था रहेका छन्।

भारतकै National Cooperative Consumers’ Federation of India (NCCF), उपभोक्ता सहकारीहरूको छाता संगठन हो जसले उपभोक्ता वस्तुहरू ग्रामीण क्षेत्रमा पुर्याउने काम गर्छ। यसको सदस्यहरू संस्थागत प्रकृतिका छन् र यसले खाद्य सुरक्षा र आपूर्ति श्रृंखलामा महत्वपूर्ण योगदान दिएको छ।

श्रीलंकाको SANASA Development Bank एक प्रमुख सहकारी बैंक हो जसले खासगरी ग्रामीण र महिला उद्यमीहरूलाई सूक्ष्म वित्तमार्फत सक्षम बनाएको छ। यसमा करोडौं व्यक्तिगत सदस्यहरू रहेका छन् र यसले श्रीलंकाको आर्थिक समावेशीकरणमा योगदान पुर्याएको छ।

नेपालमा National Cooperative Bank Ltd. (NCBL) सहकारीहरूका लागि राष्ट्रिय स्तरको बैंक हो जसले सहकारीमार्फत बचत र ऋण प्रवाह गराउँदै आएको छ। यसमा हजारौं संस्थागत सहकारी सदस्यहरू छन् र यसले सहकारी प्रणालीलाई बलियो बनाउन योगदान पुर्याएको छ।

पाकिस्तानको Punjab Provincial Cooperative Bank (PPCB) ले कृषि क्षेत्रमा ऋण पुर्याउने काम गर्छ र लाखौं कृषकहरूले प्रत्यक्ष लाभ लिएका छन्।

बङ्गलादेशको Bangladesh Samabaya Bank Ltd. (BSBL). ले सहकारी संस्थाहरूलाई वित्तीय सेवामा सहयोग गर्दै ग्रामीण विकासमा योगदान पुर्याएको छ।

भारतको Uralungal Labour Contract Cooperative Society (ULCCS) ले ३००० भन्दा बढी सदस्य श्रमिकहरूसँग निर्माण क्षेत्रका विशाल परियोजनाहरू पूरा गरेको छ र दक्षिण भारतमा सामाजिक उद्यमको उदाहरण बनेको छ।

ख. बाँकी  विश्वका केही अग्रज सहकारीहरूः

जापानको Zen-Noh (National Federation of Agricultural Cooperative Associations), कृषि उत्पादन र बजार व्यवस्थापनमा सबैभन्दा ठूलो सहकारी मानिन्छ। यसको वार्षिक कारोबार करिब ५५ अर्ब डलर रहेको छ र लाखौं सदस्य किसानहरूसँग जोडिएको छ। यसले जापानको कृषि अर्थतन्त्रमा स्थायित्व र सुरक्षा पुर्याएको छ।

जापानकै अर्को सहकारी ZENKYOREN (National Mutual Insurance Federation of Agricultural Cooperatives), कृषि बीमा क्षेत्रमा प्रमुख हो, जसले किसानहरूको जोखिम व्यवस्थापनमा ठूलो भूमिका खेलेको छ।

दक्षिण कोरियाको National Agricultural Cooperative Federation (NACF) ले कृषि, बैंकिङ र बजारमा सेवा दिँदै वार्षिक ३० अर्ब डलरभन्दा बढीको कारोबार गर्दै आएको छ र करोडौं किसान सदस्यहरूसँग सम्बन्धित छ। यसले ग्रामीण समृद्धि र वित्तीय समावेशीकरणमा योगदान पुर्याएको छ।

फ्रान्सको Crédit Agricole Group विश्वकै ठूलो सहकारी बैंक हो, जसको कारोबार १०० अर्ब डलरभन्दा बढी छ र लाखौं संस्थागत र व्यक्तिगत शेयरधारकहरू छन्। यसले यूरोपको बैंकिङ क्षेत्रमा वैकल्पिक वित्तीय सेवा उपलब्ध गराएको छ।

नर्वेको NorgesGruppen,खुद्रा बजारमा सबैभन्दा ठूलो सहकारी हो जसले उपभोक्ताहरूलाई किफायती र सुरक्षित उपभोक्ता वस्तुहरू उपलब्ध गराएको छ।

क्यानडाको The Co-operators Group Limited, बीमा र वित्तीय सेवामा क्रियाशील छ जसले लाखौं क्यानाडेलीलाई सेवा पुर्याउँदै सामाजिक सुरक्षामा योगदान पुर्याएको छ।

न्युजिल्यान्डको Fonterra विश्वकै ठूलो दुग्ध सहकारीमध्ये एक हो जसको वार्षिक कारोबार २० अर्ब डलरभन्दा बढी छ र यसको उत्पादन विश्वभर निर्यात हुन्छ। यसले विश्व बजारमा न्युजिल्यान्डलाई प्रमुख डेरी निर्यातक बनाएको छ।

जर्मनीको Edeka Zentrale, खुद्रा बजारमा अग्रणी सहकारी हो जसले लाखौं उपभोक्तालाई सेवा पुर्याउँदै आएको छ।
अमेरिकाकोLand O’Lakes डेरी र कृषि सहकारी हो जसको वार्षिक कारोबार १४ अर्ब डलरभन्दा बढी छ र किसानहरूको आम्दानी वृद्धि र खाद्य सुरक्षा कायम राख्न योगदान पुर्याएको छ।

अन्ततः, फ्रान्सको Groupe Up (पूर्व Chèque Déjeuner) ले सामाजिक सेवाहरूमा, विशेषगरी कर्मचारी कल्याण योजनामा, महत्वपूर्ण योगदान दिएको छ।

यी सबै सहकारीहरूले आफ्नो–आफ्नो देशको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा मात्र होइन, विश्वव्यापी रूपमा पनि सहकारी मोडलको शक्ति र स्थायित्व देखाएका छन्। यी संस्थाहरूले विश्वका करोडौं मानिसहरूको जीवनस्तर उकास्दै संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरू (SDGs) प्राप्त गर्न महत्वपूर्ण सहकार्य र साझेदारी गरेका छन्।

निष्कर्ष

सहकारी मोडेलले विश्वभर समानता, समावेशीता र दिगोपनामा आधारित विकासको व्यवहारिक अभ्यास गर्दै आएको छ। यो नाफामुखी होइन, सदस्य–केन्द्रित, लोकतान्त्रिक र सामूहिकतामा आधारित संरचना हो, जसले गरिबी निवारण, रोजगारी सिर्जना, लैङ्गिक समानता, जलवायु संरक्षण र सामाजिक न्यायमा ऐतिहासिक योगदान पुर्याएको छ।

संयुक्त राष्ट्रसंघले घोषणा गरेको दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ र यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको नारा “सहकारीहरूले समृद्ध विश्वका लागि समावेशी र दिगो समाधानहरू अघि बढाउँदै” ले सहकारीहरूको भूमिकालाई अझ व्यापक रूपमा उजागर गरेको छ। कोरोना महामारीजस्ता संकटमा समेत सहकारीहरूको लचिलो, उत्तरदायी र मानवीयता प्रदर्शन जस्ता कार्यले तिनको महत्व झन् पुष्टि गरेको छ।

अब सहकारीहरूले नवप्रवर्तन, नीति–स्तरीय पैरवी, डिजिटल रूपान्तरण, युवा र सीमान्तकृत वर्गको सहभागितालाई बलियो बनाउँदै, दिगो विकास लक्ष्यहरू हासिल गर्न अनिवार्य साझेदारका रूपमा आफूलाई स्थापित गर्नुपर्नेछ। सहकार्य, समानता र सामाजिक उत्तरदायित्वको संवाहकका रूपमा सहकारीहरूले समृद्ध र न्यायपूर्ण विश्व निर्माणमा निर्णायक योगदान दिन सक्छन्।

सन्दर्भ सामाग्री

- International Cooperative Alliance (ICA). (2023). World Cooperative Monitor 2023. Retrieved from: https://monitor.coop

- IFFCO. (2023). Annual Report. Retrieved from: https://www.iffco.in

- Amul (GCMMF). (2023). Annual Report. Retrieved from: https://www.amul.com

- Rabobank. (2023). Annual Report. Retrieved from: https://www.rabobank.com

- Desjardins Group. (2023). Annual Report. Retrieved from: https://www.desjardins.com

- State Farm Mutual. (2023). Annual Report. Retrieved from: https://www.statefarm.com

- Fonterra Co-operative Group. (2023). Annual Report. Retrieved from: https://www.fonterra.com

- FAO & ICA. (2022). Cooperatives and the Sustainable Development Goals. Rome: Food and Agriculture Organization.

- Zenkyoren. (2023). Annual Report. Retrieved from: https://www.zenkyoren.or.jp

सम्पर्क इमेलः khagrajsharma1969@gmail.com

(लेखक: मिति २०८१ पौष महिनामा नेपाल सरकारद्वारा सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधनमार्फत विघटित राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव हुन्)

Advertisment

थप समाचार