Below Menu
Below Menu

इरानले भन्यो-‘परमाणु वार्ता अघि अमेरिकाले आक्रमण नगर्ने ग्यारेन्टी दिनुपर्छ’

इरानले भन्यो-‘परमाणु वार्ता अघि अमेरिकाले आक्रमण नगर्ने ग्यारेन्टी दिनुपर्छ’

काठमाडौं : इरानले अमेरिकासँगको परमाणु वार्ता पुनः सुरु हुनुअघि वाशिङ्टनले थप सैन्य कारबाही नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने चेतावनी दिएको छ । 

इरानी उपविदेशमन्त्री मजिद तख्त–रवान्छीले दिएको एक अन्तर्वार्तामा अमेरिकी ट्रम्प प्रशासनले विभिन्न माध्यमबाट वार्तामा फर्कन संकेत गरे पनि, सैन्य हमलाबारे ठोस आश्वासन नदिएको बताएका हुन् ।

जुन १३ मा इजरायलले इरानविरुद्ध सैनिक कारबाही थालेपछि मस्कटमा तय गरिएको छैटौँ चरणको अप्रत्यक्ष परमाणु वार्ता स्थगित भएको थियो । दुई दिनपछि हुने भनिएको वार्ता विफल हुनुको कारण यही सैन्य तनाव भएको इरानी पक्षको दाबी छ ।

त्यसयता, इजरायल र इरानबीच झण्डै दुई हप्ता लामो द्वन्द्व चल्यो। यस अवधिमा इरानले मिसाइल आक्रमण गरेर जवाफ दिएको थियो भने अमेरिका पनि इजरायलको पक्षमा उभिँदै प्रत्यक्ष रूपमा भिडन्तमा उत्रिएको थियो। अमेरिकी सेनाले इरानका तीन प्रमुख आणविक स्थलहरू- फोर्डो, नटान्ज र इस्फहानमा शक्तिशाली बम प्रहार गरेको पुष्टि भएको छ ।

इरानले भने बारम्बार आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र रहेको दाबी गर्दै आएको छ । मन्त्री तख्त–रवान्छीले गोप्य रूपमा आणविक हतियार निर्माण गरिरहेको आरोपलाई अस्वीकार गरेका छन् ।

यसबीच, इजरायलले इरान आफ्नो आणविक हतियार निर्माणको अन्तिम चरणमा पुगेको भन्दै निशाना बनाएको र इरानका वैज्ञानिक तथा सैन्य कमान्डरहरूलाई लक्षित हत्या गरेको थियो। त्यसपछि युद्ध १२ दिनसम्म लम्बिएको थियो।
 

Advertisment

थप समाचार