काठमाडौं : नेपाल राष्ट्र बैंकले आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणालीको सञ्चालन समय परिमार्जन गरेको छ। नेपाल सरकारबाट संशोधित कार्यालय समय लागू भएपछि सोही अनुरूप केन्द्रीय बैंकले आरटीजीएस प्रणालीको समयसमेत समायोजन गरेको हो।
बैंकले जारी गरेको सूचनाअनुसार आरटीजीएस प्रणाली सोमबारदेखि शुक्रबारसम्म बिहान ८ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म सञ्चालन हुनेछ। यद्यपि कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको अवधिमा भने प्रणाली बिहान ८ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मात्र सञ्चालन हुने व्यवस्था गरिएको छ।
त्यस्तै, प्रत्येक आइतबार भुक्तानी सेवा सञ्चालकहरूको कारोबार सेटलमेन्टका लागि बिहान १०ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्म प्रणाली सञ्चालन गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकले आरटीजीएस प्रणालीमा आबद्ध सम्पूर्ण सहभागी संस्थाहरूलाई संशोधित समयतालिका अनुसार आवश्यक तयारी तथा समन्वय गर्न आग्रह गरेको छ।
Advertisment