काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा विभिन्न कम्पनीको करिब चार अर्ब रुपैयाँ बराबरको बोनस शेयर थपिएको छ । नेपाल राष्ट्र बैंकको अनुसार चाल् आर्थिक वर्षको मंसिर मसान्ततसम्म ३ अर्ब ९८ करोड बराबरको बोनस शेयर सूचीकृत भएको हो ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा ४४ अर्ब ६५ करोड रुपैयाँ बराबरको साधारण शेयर, ६ अर्ब १० करोड बराबरको हकप्रद शेयर, ३ अर्ब ९८ करोड बराबरको बोनस शेयर र ३ करोड बराबरको एफपीओ गरी कुल ५४ अर्ब ७६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
गत वर्षको मंसिर मसान्तमा १८८२.६१ रहेको नेप्से सूचकाङ्क चालु आवको मंसिर मसान्तमा १९९४.६० कायम भएको छ ।
मंसिर मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.३०७६ अर्ब ५२ करोड कायम भएको छ । गत आवको सोही अवधिमा बजार पुँजीकरण रु.२७२१ अर्ब ११ करोड रहेको थियो ।
चालु आवको यस अवधिमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । जसमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ८९ जलविद्युत्कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ५ अन्य समूहका रहेका छन् । गत वर्षको मंसिरमा सूचीकृत कम्पनीहरूको संख्या २४७ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६२.३ प्रतिशत रहेको छ ।
त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १३.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा ३.२ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।
नेप्सेमा चालु आवको मंसिर मसान्तमा सूचीकृत ७ अर्ब ९३ करोड शेयरको चुक्ता मूल्य ७ खर्ब ८६ अर्ब २५ करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ८ अर्ब ५१ करोड रुपैयाँ बराबरको साधारण शेयर, ४ अर्ब ४० करोड रुपैयाँ बराबरको डिबेन्चर, २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, र एक अर्ब १० करोड बराबरको हकप्रद शेयर गरी कुल रु.१६ अर्ब ५१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
Advertisment