Below Menu
Below Menu

अल्का हस्पिटलको व्यापार २६ प्रतिशतले बढ्यो, सेवा विस्तारमा ३० करोड लगानी गरिँदै

अल्का हस्पिटलको व्यापार २६ प्रतिशतले बढ्यो, सेवा विस्तारमा ३० करोड लगानी गरिँदै

काठमाडौं : अल्का हस्पिटलको व्यापार २६.७२ प्रतिशतले बढेको छ । हस्पिटलले सन् २०२५ मा ९७ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो ।
यसअघि सन् २०२४ मा कम्पनीले ७६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा ७८ करोड ८० लाख रुपैयाँको व्यपाार गरेको थियो ।  

बिरामीको चाप बढ्नुका साथै अस्पतालले फार्मेसी सेवा आफ्नै व्यवस्थापनमा ल्याएपछि आम्दानी थप बढेको हो । यसअघि भाडामा सञ्चालन हुँदै आएको फार्मेसी सेवा अब पूर्ण रूपमा अस्पतालकै आम्दानीमा समावेश रहेको छ ।

यद्यपि फार्मेसी व्यवसायको नाफा दर अस्पतालको मुख्य स्वास्थ्य सेवाको तुलनामा कम हुने भएकाले सञ्चालन नाफामा केही दबाब परेको छ । सन् २०२४ मा २७.७२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा २३.८७ प्रतिशतमा झरेको छ । 

तर समग्र कारोबार वृद्धि भएकाले हस्पिटलको खुद नाफा झन्डै ६७ प्रतिशतले बढेर ८ करोड २० लाख रुपैयाँ पुगेको छ । अस्पतालको नगद प्रवाह, ऋण तिर्ने क्षमता तथा पूँजी संरचनामा समेत सुधार आएको रिपोर्टमा उल्लेख छ । कम्पनीको कुल नगद सञ्चिति पनि १० करोड ३० लाख रुपैयाँबाट बढेर १३ करोड १० लाख रुपैयाँ पुगेको छ । 

सन् २०२५ मा अस्पतालको कुल सञ्चालन आम्दानीमध्ये करिब ७८ प्रतिशत हिस्सा अस्पताल सेवाबाट आएको थियो । त्यस्तै फार्मेसी, क्यान्टिन तथा अन्य भाडा आम्दानीबाट १८ प्रतिशत योगदान पुगेको छ भने नर्सिङ कलेजबाट करिब ०.७५ प्रतिशत आम्दानी भएको उल्लेख छ । 

ललितपुरस्थित अल्का अस्पतालले सामान्य उपचारदेखि अत्याधुनिक विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा मिर्गौला रोग उपचार (नेफ्रोलोजी), प्लास्टिक सर्जरी, ल्याप्रोस्कोपिक शल्यक्रिया, पारिवारिक स्वास्थ्य सेवा तथा हाडजोर्नीसम्बन्धी जटिल उपचारहरू सञ्चालनमा छन्। 

विशेषगरी हिप, घुँडा तथा जोर्नी प्रत्यारोपणजस्ता आधुनिक अर्थोपेडिक सेवाले अस्पताललाई थप विशिष्ट बनाएको छ । साथै, नेपालमै पहिलो पटक ‘होल्मियम लेजर इनुक्लिएसन अफ प्रोस्टेट’ प्रविधिबाट प्रोस्टेट उपचार सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।  

अस्पतालले हाल ललितपुरको जावलाखेल तथा भैंसेपाटी–भनीमण्डल क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ भने धोबिघाटमा नर्सिङ कलेज पनि सञ्चालनमा रहेको छ । 

हालै बाल सघन उपचार कक्ष र हाई केयर युनिट थपिएपछि अस्पतालको सेवा क्षमता अझ विस्तार भएको छ । अस्पतालमा हाल करिब १०२ जना चिकित्सक तथा ४६६ जना स्वास्थ्यकर्मी र सहयोगी कर्मचारी कार्यरत छन्।

सन् १९९५ मा अल्का फार्मेसीबाट आफ्नो व्यवसाय सुरु गरेको कम्पनीले विस्तार हुँदै सन् २००२ मा अल्का पोलिक्लिनिकको रूपमा सेवा सञ्चालन गरेको थियो । पछि सन् २००५ मा कम्पनीले आफ्नो नाम परिवर्तन गरी अल्का अस्पताल राखेको हो । अस्पतालका अध्यक्ष तिलक बहादुर थापा रहेका छन् । 

अस्पतालले आगामी वर्षहरूमा शल्यक्रिया सेवा विस्तार तथा पूर्वाधार स्तरोन्नतिका लागि करिब ३० करोड रुपैयाँ बराबरको नयाँ लगानी गर्ने योजना अघि सारेको छ । यसअन्तर्गत सर्जिकल युनिट विस्तारमा विशेष ध्यान दिइने जनाइएको छ । 

कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि कुल ७७ करोड ५३ लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । अस्पतालले दीर्घकालिन कर्जाका लगिा ७१ करोड ३ लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि ६ करोड ५० लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको हो । 


 

Advertisment

थप समाचार