काठमाडौं : नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को यस प्रदेशको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।
उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालको राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा लुम्बिनी प्रदेशको हिस्सा १४.२ प्रतिशत हुने अनुमान रहेको छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १४.१ प्रतिशत रहेको थियो ।
त्यसैगरी सो अवधिमा प्रदेशको आर्थिक वृद्धि २.०६ प्रतिशत रहने अनुमान रहेको छ । गत आर्थिक वर्षको आर्थिक बृद्धि ५.०३ प्रतिशत रहेको थियो । त्यस्तै देशको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा यस प्रदेशको हिस्सा क्रमशः १७.५प्रतिशत, १५.५ प्रतिशत र १२.६ प्रतिशत रहने अनुमान रहेको छ । यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २९.८ प्रतिशत, १४.७ प्रतिशत र ५५.५ प्रतिशत रहने अनुमान रहेको छ ।
समीक्षा वर्षमा लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल गत वर्षको तुलनामा ०.८५ प्रतिशतले ह्रास भएको छ । खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफलमध्ये मकै, गहुँ, फापर, आलु र भटमास बालीले ढाकेको क्षेत्रफल वृद्धि भएको छ भने धान, कोदो, जौ, ऊखु, तेलहन र दलहनको क्षेत्रफल ह्रास आएको छ ।
यस वर्षमा प्रदेशमा समग्र खाद्य तथा अन्य बालीको उत्पादनमा ५.०७ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बालीको कुल उत्पादनमध्ये धान, मकै, जौ, आलु, भटमास र तेलहन बालीको उत्पादन वृद्धि भएको छ भने गहुँ, कोदो, फापर, उखु, सनपाट र दलहन बालीको उत्पादन ह्रास आएको छ ।
यस अवधिमा तरकारी, फलफूल र मसला बालीले ढाकेको क्षेत्रफल क्रमशः २.४७ प्रतिशत, ९.२३ प्रतिशत र ५.५३ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी समीक्षा वर्षमा तरकारी, फलफूल र मसलाको उत्पादन क्रमशः ५.५६ प्रतिशत, २२.०६ प्रतिशत र ९.६१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै पशुपन्छीजन्य उत्पादनमध्ये दुध उत्पादनमा ६.३० प्रतिशत र मासु उत्पादनमा ४.८० प्रतिशतले ह्रास आएको छ भने माछा उत्पादन १०.६३ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा वर्षमा वनजन्य उत्पादन अन्तर्गत काठ, दाउरा, औषधीजन्य वस्तु र अन्य उत्पादन क्रमशः ४९.४७ प्रतिशत, ७०.९९ प्रतिशत, १०.१९ प्रतिशत र ४.८६ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा कुल खेती गरिएको क्षेत्रफलको ४४.८८ प्रतिशत हिस्सा सिञ्चित भएको छ । सिँचित क्षेत्रफल गत वर्षको सोही अवधिको तुलनामा १.३७ प्रतिशतले वृद्धि भई २ लाख ५५ हजार ३६ हेक्टर पुगेको छ ।
कृषि क्षेत्रमा प्रवाहित कृषि कर्जा ७.५२ प्रतिशतले वृद्धि भई रु.५४ अर्ब १० करोड ६६ लाख पुगेको छ । जुन यस प्रदेशमा प्रवाहित कुल कर्जाको ९.७८ प्रतिशत हिस्सा हो । उद्योग तर्फ यस अवधिमा प्रदेशका नमूना छनौटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५०.८२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्ता उद्योगहरुको औसत क्षमता उपयोग ५६.३६ प्रतिशत रहेको थियो ।
समीक्षा वर्षमा कागज, ओइन्मेन्ट, रोजिन, मदिरा र चामलको उत्पादनमा क्रमशः ३२.१४ प्रतिशत, २७.१६ प्रतिशत, २५.६२ प्रतिशत, १०.०५ प्रतिशत र ४.१६ प्रतिशतलेवृद्धि भएको छ । पूर्वाधार निर्माणमा आएको शिथिलताका कारण कंक्रीट र सिमेन्टको उत्पादनमा क्रमशः २२.५८ प्रतिशत र १.७० प्रतिशतले ह्रास भएको छ । आल्मुनियम, बिजुलीको तार÷केबुलको उत्पादनमा क्रमशः २९.४२ प्रतिशत र ३४.४८ प्रतिशतले ह्रास भएको छ ।
त्यसैगरी, गहुँको पिठो र चाउचाउको उत्पादनमा क्रमशः २१.३६ प्रतिशत र ११.३५ प्रतिशतले ह्रास भएको छ । औषधीको उत्पादन तर्फ ड्राइ स्यार्प, ट्याबलेट, लिक्वड र क्याप्ससल को उत्पादनमा क्रमशः २९.६९ प्रतिशत, १९.७४ प्रतिशत, ८.९३ प्रतिशत र ६.०६ प्रतिशतले ह्रास भएको छ ।
समीक्षा वर्षमा औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधिको तुलनामा ५.९५ प्रतिशतलेवृद्धि भई रु.१ खर्ब २६ अर्ब २८ करोड ५५ लाख पुगेको छ भने यस प्रदेशमा प्रवाहित कुल कर्जामा यसको हिस्सा २२.८२ प्रतिशत रहेको छ ।
कोभिड–१९ पश्चात्सामान्य बन्दै गएको पर्यटन क्षेत्रमा लुम्बिनी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनमा सुधार भई समीक्षा वर्षमा ३१.७१ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यस्तो वृद्धि १०.८४ प्रतिशत रहेको थियो । छनौटमा परेका होटलहरुकोअकुपेन्सी दर पनि गत वर्षको सोही अवधिको तुलनामा १२.३९ प्रतिशतले वृद्धि भई ४०.२७ प्रतिशत पुगेको छ ।
नमूना छनौटमा परेका बचत तथा ऋण सहकारी संस्थाहरुको कुल पूँजी ५.०६ प्रतिशत, बचत परिचालन १.४१ प्रतिशत तथा सदस्य सङ्ख्यामा १५.८५ प्रतिशतले वृद्धि भएको छ भने कुल ऋण प्रवाह १.४७ प्रतिशतले ह्रास भएको छ ।
परिवत्र्य विदेशी मुद्रा खरिद गत वर्षको तुलनामा ४५.८४ प्रतिशतले वृद्धि भएको छ भने भारतीय मुद्राको खरिदमा २७६.८६ प्रतिशत तथा बिक्री ८६.३३ प्रतिशतले वृद्धि भएको छ ।
Advertisment