काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोनले) शेयर बजारमा लगानी गर्दा धयान दिनुपर्ने कुुरा उल्लेख गरेको छ । नवप्रवेशी लगानीकर्ताहरुलाई मध्यनजर गर्दै बोर्डर्ले धितोपत्र (शेयर, ऋणपत्र, सामूहिक लगानी योजनाको ईकाई आदि) मा लगानी गर्नुअघि निम्न कुराहरुमा विशेष ध्यान दिन आग्रह गरेको हो ।
धितोपत्रको मूल्यमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा मूल्य उतारचढाव सम्बन्धी उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भएर मात्र लगानीको निर्णय लिनुहोस् ।
धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नलागी बजार तथा कम्पनीको बास्तविक बस्तु स्थिति बुझेर आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस । साथै आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको मूल्याकंन समेत गर्नुहोस् ।
धिताेपत्रको प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्रमा लगानी गर्नअघि धितोपत्र निष्काशनकर्ता कम्पनीको आव्हानपत्र तथा विवरणपत्र मार्फत प्रवाहित जानकारीहरू मुख्यतया कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति (नेटवर्थ, नाफा नोक्सान स्थिति, आदि), लगानी योजना, जोखिम पक्ष, क्रेडिट रेटिङ्गको स्तर जस्ता कुराहरूको विश्लेषण गर्नुहोस् ।
नेपाल धितोपत्र बोर्डमा दर्ता भएको तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत धितोपत्रमा मात्र लगानी गर्नुहोस् ।
धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद शेयरको घोषणा, व्यबस्थापनमा परिवर्तन, भावी योजनाहरू, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरू (प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिशेयर नेटवर्थ) पूँजी कोष अनुपात, निस्क्रिय कर्जा अनुपात आदि) धितोपत्रको मूल्य कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) जस्ता महत्वपूर्ण कुराहरूको अध्ययन गर्नुहोस् ।
दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई (२) दिन भित्रमा कारोबारको राफसाफ (टि प्लस २) जानकारी लिनुहोस् ।
आफूसंग भएको धितोपत्र (कागजी प्रमाणपत्र) लाई कारोबार योग्य बनाउन बोर्डबाट अनुमति प्राप्त निक्षेप सदस्यमार्फत अभौतिकीकरण गर्नुहोस् ।
प्राथमिक बजारमा लगानी गर्न निक्षेप सदस्यकोमा हितग्राही खाता खोली आफ्नो बैकं खाता रहेको बैंकबाट आस्वा वा सि–आस्वा रजिष्ट्रेशन नं. लिई अनलाईनबाट सहजरूपमा लगानी गर्नुहोस् ।
धितोपत्र बजारमा लगानी गर्न हितग्राही खाता अनिवार्य गरिएको हुँदा, सिडिएस एण्ड क्लियरिङ्ग कम्पनी लिमिटेड (सिडिएससी) तथा निक्षेप सदस्यसँग सम्पर्क राखी बैंक खाता सहितको ग्राहक परिचय विवरण अनिवार्यरूपमा भरी हितग्राही खाता खोलेर धितोपत्र खरिद बिक्री कारोवार गर्नुहोस् ।
आफूले खरिद गरेको धितोपत्र समयमै आफ्नो खातामा जम्मा भए/नभएको ध्यान दिनुहोस् ।
धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनैतिक स्थितिले प्रत्यक्ष प्रभाव पार्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहनुहोस् ।
धितोपत्रको दास्रो बजारबाट कारोबार गर्दा सिधै नेप्सेको विद्युतीय कारोबार प्रणाली वा बोर्डबाट अनुमति प्राप्त धितोपत्र दलाल तथा तिनको शाखा कार्यालयबाट मात्र गर्नुहोस् ।
धितोपत्र कारोवारमा रकमको लेनदेन गर्दा बैंक तथा वित्तीय संस्था मार्फत मात्र गर्नुहोस् ।
लगानी विविधिकरणबाट लगानीमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुग्ने हुँदा लगानी विविधिकरणमा ध्यान दिनुहोस् ।
दीर्घकालीन रूपमा गरिने लगानीले जोखिमको संभावनालाई न्युन गराउने हुँदा लगानी गर्दा यस तथ्यलाई समेत मनन गर्नुहोस् ।
पूँजी बजार सम्बन्धी नीति, नियम तथा निर्देशनहरूले धितोपत्रको मूल्यमा असर पार्ने भएकाले सुसूचित निर्णयका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने गर्नुहोस् ।
लगानीकर्ताहरूलाई पूँजीबजार सम्बन्धी साक्षर बनाउने उद्देश्यले बोर्डले समय समयमा आफ्नो कार्यालयमा तथा विभिन्न जिल्लाहरूमा लगानीकर्ता सचेतनामुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएकोमा त्यस्तो कार्यक्रमा सहभागी हुनुहोस् । बोर्डबाट रेडियो नेपालमार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान ७.४० देखि ७.५५ सम्म सञ्चालन गरिने धितोपत्र तथा वस्तु विनिमय रेडियो कार्यक्रम सुनेर बजार सम्बन्धी जानकारी लिनुहोस् ।
लगानीकर्ताको अधिकार तथा जिम्मेवारी सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन नियम, कम्पनी ऐन तथा अन्य सम्बन्धित ऐन नियमहरूको साथै बोर्डबाट भएका व्यवस्थाहरूबारे जानकारी राख्न धितोपत्र सम्बन्धी ऐन नियमहरू र अन्य व्यवस्थाको जानकारी बोर्डको वेबस तथा बोर्डको सम्बन्धित प्रकाशनमार्फत समेत हेर्नुहोस् ।
Advertisment