काठमाडौं : नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार असोज मसान्तसम्ममा कम्पनीले एक अर्ब ८२ करोड एक लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ३७.३५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले एक अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको कुल आम्दानी बढेसँगै खुद नाफा बढेको हो। गत आवको पहिलो त्रैमासमा नौ अर्ब ४७ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको कुल आम्दानी ०.०७ प्रतिशतले बढेर नौ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ।
यसैगरी समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी ०.०१ प्रतिशतले बढेर आठ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी आठ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ रहेको थियो । कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी १२ लाख ६० हजार रुपैयाँ अर्थात् ०.०१ प्रतिशतले बढेको हो ।
असोज मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। कम्पनीको प्रतिशेयर आम्दानी गत वर्षको २९.४५ रुपैयाँबाट बढेर यस वर्षमा ४०.४५ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ५६७.६५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २२.७५ गुणा रहेको छ।
असोज मसान्तसम्ममा १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ८२ अर्ब २१ करोड २२ लाख रुपैयाँ सञ्चित छ।