Below Menu

लुम्बिनीमा जुट्दै विश्वका सहकारी अगुवा, शान्तिका लागि साझा संकल्प गरिने

लुम्बिनीमा जुट्दै विश्वका सहकारी अगुवा, शान्तिका लागि साझा संकल्प गरिने

काठमाडौं : सहकारीमार्फत विश्व शान्ति र समृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यसहित नेपालको लुम्बिनीमा ‘विश्व शान्तिका लागि सहकारी शिखर सम्मेलन’ आयोजना हुने भएको छ।

Sponsored Advertisement

‘शान्तिपूर्ण विश्वका लागि सहकारी’ भन्ने मूल नारासहित आगामी डिसेम्बर १० देखि १२ (२०८३ मंसिर २४ देखि २६ गते) सम्म लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा सम्मेलन आयोजना हुन लागेको हो।

नेपालको सहकारी अभियानको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघ (एनसीएफ) को आयोजनामा हुने सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए), आईसीए एसिया प्यासिफिक (आईसीए–एपी), सरकारी निकाय, राष्ट्रिय सहकारी संघ तथा विकास र शान्तिसम्बन्धी संस्थाहरूको सहकार्य रहनेछ।

सम्मेलनमा विश्वभरबाट करिब ६५० जना प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। त्यसमध्ये १५० जना विदेशी प्रतिनिधि रहने आयोजकले जनाएको छ।

सम्मेलनले पानामा घोषणापत्रपछि अघि बढेको सहकारीमार्फत शान्ति स्थापना गर्ने अभियानलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। विश्वभर १२० भन्दा बढी सशस्त्र द्वन्द्व जारी रहेको र विश्वको सैन्य खर्च लगातार ११ वर्षदेखि बढ्दै सन् २०२५ मा २.८९ ट्रिलियन अमेरिकी डलर पुगेको तथ्यलाई सम्मेलनको प्रमुख सन्दर्भका रूपमा प्रस्तुत गरिएको छ।

अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष डा. एरियल ग्वार्कोले विश्वमा द्वन्द्व बढिरहेका बेला सहकारीले संवाद, पारदर्शिता, एकता र आपसी विश्वासको माध्यमबाट शान्तिको आधार तयार गर्न सक्ने धारणा राख्दै आएका छन्। विश्वका ८३ करोडभन्दा बढी मानिस दैनिक २.१५ अमेरिकी डलरभन्दा कम आम्दानीमा जीवनयापन गर्न बाध्य रहेको अवस्थाले पनि आर्थिक असमानता न्यूनीकरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको आयोजकको भनाइ छ।

तीन दिनसम्म चल्ने सम्मेलनमा सहकारी र शान्ति निर्माण, आर्थिक समानता, युवा नेतृत्व तथा नवप्रवर्तन, महिला सशक्तीकरण, जलवायु परिवर्तन, दिगोपना, दिगो विकास लक्ष्य, डिजिटल रूपान्तरण र विश्वव्यापी साझेदारीलगायत विषयमा छलफल हुने राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले जानकारी दिए।

सम्मेलनको पहिलो दिन उद्घाटन समारोह, मुख्य सम्बोधन तथा उच्चस्तरीय छलफल हुनेछन्। दोस्रो दिन प्राविधिक सत्र, नीतिगत संवाद तथा सम्मेलनको घोषणापत्र तयार गर्ने कार्यक्रम रहेको छ। अन्तिम दिन स्थानीय सहकारी संस्थाहरूको अवलोकन तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गराइनेछ।

सम्मेलनको मुख्य उपलब्धिका रूपमा ‘सहकारीमार्फत शान्तिका लागि लुम्बिनी घोषणापत्र’ जारी गरिनेछ। यसका साथै सम्मेलनको प्रतिवेदन, सरकार तथा अन्तर्राष्ट्रिय सहकारी निकायका लागि नीतिगत सुझाव, युवा सहकार्य सञ्जाल र विश्वव्यापी सहकारी शान्ति मञ्च स्थापना गर्ने योजना रहेको छ। सम्मेलनबाट प्राप्त उपलब्धिलाई निरन्तरता दिन वार्षिक रूपमा अनुगमन तथा छलफल कार्यक्रमसमेत आयोजना गरिने जनाएको छ।

सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँ र अन्तर्राष्ट्रिय प्रतिनिधिका लागि २५० अमेरिकी डलर दर्ता शुल्क तोकिएको छ। सहभागीले होटल खर्च भने आफैँ व्यहोर्नुपर्नेछ। आयोजकले सहभागीलाई स्थानीय यातायात, लुम्बिनीका सम्पदा क्षेत्रको आधा दिनको भ्रमण तथा सम्मेलन अवधिभर तीन दिनको ब्रेकफास्ट र दिवा भोजन उपलब्ध गराउनेछ।

विशेषगरी एसिया प्रशान्त क्षेत्रका आईसीए सदस्य संस्थाहरूलाई सम्मेलनमा सहभागी हुन आयोजकले आग्रह गरेको छ। पानामा घोषणापत्रले अघि सारेका प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न सम्मेलन महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको कार्यवाहक अध्यक्ष पोखरेलले बताए।

सम्मेलनमा सहभागिता तथा थप जानकारीका लागि ncfcoop@gmail.com र ncfconference@gmail.com मा सम्पर्क गर्न सकिनेछ।

सम्मेलनमा आठ विषयमा छलफल हुने
सम्मेलनमा सहकारीमार्फत शान्ति निर्माण र दिगो विकासका लागि आठवटा प्रमुख विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ।

छलफलका मुख्य विषयमा द्वन्द्व रोकथाम तथा समाधानमा सहकारीको भूमिका, आर्थिक असमानता न्यूनीकरण, युवा नेतृत्व तथा नवप्रवर्तन, महिला सशक्तीकरण, जलवायु परिवर्तन तथा दिगोपना, संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य (एसडीजी) प्राप्तिमा सहकारीको योगदान, डिजिटल रूपान्तरण र अन्तर्राष्ट्रिय साझेदारी रहेका छन्।

त्यस्तै, सम्मेलनले विश्वव्यापी शान्ति, सामाजिक सद्भाव र दिगो विकास प्रवर्द्धन गर्न सहकारीको भूमिकालाई थप सशक्त बनाउने लक्ष्य लिएको छ। समावेशी आर्थिक वृद्धि र शान्ति निर्माणका प्रमुख माध्यमका रूपमा सहकारीलाई स्थापित गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको छ।

सम्मेलनमा सहकारीका माध्यमबाट शान्ति र सामाजिक सद्भाव कायम गर्न सकिने उपायको अध्ययन तथा विश्लेषण गरिनेछ। विभिन्न देशका सफल अभ्यास, नवीन प्रविधि र सहकारी विकासका रणनीतिबारे अनुभव आदानप्रदान गर्नुका साथै सरकार, सहकारी अभियान र अन्तर्राष्ट्रिय विकास साझेदारबीच रणनीतिक सहकार्य विस्तारमा जोड दिइनेछ।

युवा तथा महिलाको नेतृत्व विकास, सहकारी विस्तारका लागि अनुकूल कानुनी तथा नीतिगत व्यवस्था र विश्वव्यापी शान्तिका लागि साझा कार्ययोजना निर्माणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ।

यसका साथै लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति संवादको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसमेत सम्मेलनले अघि सारेको छ।