मनाङ : मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने नासों गाउँपालिका-१ तालगाउँ डुबानमा परेको छ ।
बाढीले नासों गाउँपालिका-८ र ९ जोड्ने झोलुङ्गे पुलसमेत क्षतिग्रस्त बनाएको छ । त्यस्तै चामेमा रहेका दुईवटा अस्थायी काठे मोटर पुलमा पनि क्षति पुगेको छ । बाढीका कारण चामे बजार क्षेत्रमा समेत बगर र बालुवाले भरिएको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार मनाङ ङिस्याङ गाउँपालिका अझै फोन सम्पर्कमा आउन सकेको छैन । बाढी र पहिरोका कारण विभिन्न क्षेत्रमा सम्पर्क तथा आवागमन प्रभावित भएको उनले बताए।
त्यस्तै, मनाङको मेरुदण्डका रूपमा रहेको बेँसीसहर-चामे सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि मनाङ सदरमुकाम चामेसहित जिल्लाका विभिन्न क्षेत्रमा आवागमन प्रभावित भएको छ ।