सिद्धार्थनगरमा तीन अर्ब ४ करोडको पाँचतारे डिलक्स होटल बन्दै, दशैँपछि इन्टेरियर सुरु हुने

सिद्धार्थनगरमा तीन अर्ब ४ करोडको पाँचतारे डिलक्स होटल बन्दै, दशैँपछि इन्टेरियर सुरु हुने

काठमाडौं : अनन्त हस्पिटालिटी लिमिटेडले रुपन्देहीको सिद्धार्थनगरस्थित बेलहियामा निर्माण गरिरहेको पाँचतारे डिलक्स होटल परियोजनाको निर्माण कार्य तीव्र बनाएको छ। 

तीन अर्ब ४ करोड रुपैयाँ अनुमानित लागतमा निर्माण भइरहेको १३१ कोठे होटलको वित्तीय प्रगति ३२ प्रतिशत पुगेको छ भने भवनको सिभिल संरचनातर्फ ७८ प्रतिशत काम सम्पन्न भइसकेको छ। कम्पनीले सन् २०२८ मा होटललाई पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।

संरचनागत निर्माणको काम उल्लेख्य रूपमा अघि बढिसकेको अवस्थामा अब परियोजना इन्टेरियर, उपकरण जडान, फर्निसिङ र सञ्चालनपूर्व तयारीको चरणमा छ। कम्पनीका अनुसार होटलको आन्तरिक सजावट तथा इन्टेरियरसम्बन्धी काम दशैंपछिबाट सुरु गर्ने योजना छ।

परियोजनाका लागि कम्पनीले एक अर्ब १० करोड रुपैयाँ बराबरको दीर्घकालीन बैंक ऋण सुविधा लिने तयारी गरेको छ। उक्त ऋण सुविधालाई रेटिङ एजेन्सीले बीबी माइनस रेटिङ दिएको छ। ‘डबल बी माइनस’ श्रेणीले कम्पनीको ऋण दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको र प्रतिकूल व्यावसायिक परिस्थितिमा वित्तीय दबाब पर्न सक्ने संकेत गर्छ।

यद्यपि, परियोजनाको वित्तीय संरचनामा ऋणको तुलनामा प्रवर्द्धक तथा संस्थागत लगानीको हिस्सा बढी छ। कम्पनीको ऋण-इक्विटी अनुपात करिब ३६ः६४ रहेको छ। परियोजनाका लागि आवश्यक टर्म लोन सुविधा पूर्ण रूपमा सुनिश्चित भइसकेकाले तत्कालका लागि परियोजना सम्पन्न गर्न आवश्यक वित्तीय स्रोत व्यवस्थापनको जोखिम केही कम भएको जनाइएको छ । 

होटल नेपाल-भारतको प्रमुख सीमा नाका बेलहिया-सुनौलीसँगै निर्माण भइरहेको छ। सुनौली नेपाल र भारतबीचको महत्वपूर्ण व्यापारिक तथा आवतजावत केन्द्र भएकाले यहाँ दैनिक ठूलो संख्यामा यात्रु, व्यवसायी र पर्यटकको आवागमन हुने गर्छ। 

परियोजना होटल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलोमिटरको दूरीमा रहेको छ। अन्तर्राष्ट्रिय उडान विस्तार र यात्रु आवागमन बढ्दै जाँदा विमानस्थलसँग नजिक रहेको उच्चस्तरीय होटलले प्रत्यक्ष लाभ लिन सक्ने जनाइएको छ । 

लुम्बिनीको प्रवेशद्वारका रूपमा परिचित सिद्धार्थनगर क्षेत्रमा होटलले धार्मिक तथा पर्यटन यात्रुका साथै भारतीय पर्यटक, विदेशी पर्यटक, सीमा वारपार गर्ने यात्रु, कर्पोरेट आगन्तुक र उच्चस्तरीय आतिथ्य सेवा खोज्ने ग्राहकलाई लक्षित गर्न सक्नेछ। विशेषगरी लुम्बिनी भ्रमणसँगै भैरहवा-बुटवल क्षेत्रमा हुने व्यापारिक तथा संस्थागत गतिविधिले होटलका लागि बहुआयामिक ग्राहक आधार निर्माण गर्न सक्ने देखिन्छ।

लुम्बिनी विश्व सम्पदा सूचीमा रहेको महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले त्यससँग सम्बन्धित पर्यटन गतिविधिको विस्तारबाट पनि परियोजनाले दीर्घकालीन लाभ लिन सक्ने अपेक्षा गरिएको छ। यसैगरी, कम्पनीले अन्तर्राष्ट्रिय होटल चेनसँग सहकार्यका लागि अन्तिम चरणको वार्ता भइरहेको जनाएको छ। 

अन्तर्राष्ट्रिय ब्रान्डसँग व्यवस्थापन वा सञ्चालनसम्बन्धी सहकार्य हुन सकेमा होटलको ब्रान्ड पहिचान, सेवा मापदण्ड र अन्तर्राष्ट्रिय ग्राहकसम्म पहुँच विस्तार गर्न सहयोग पुग्न सक्छ।

अनन्त हस्पिटालिटी तीन प्रमुख व्यावसायिक समूह-रारा इको होल्डिङ्स, भुसाल समूह र गरिमा होल्डिङ्स लिमिटेडको संस्थागत प्रवर्द्धनमा स्थापना भएको कम्पनी हो। सन् २००९ मा स्थापना भएको कम्पनीलाई जुलाई २०२५ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको थियो। 

सिद्धार्थनगरमा पाँचतारे डिलक्स होटल निर्माण तथा सञ्चालन गर्ने उद्देश्यसहित कम्पनीले विशेष प्रयोजनको कम्पनीका रूपमा परियोजना अघि बढाइरहेको छ। कम्पनीको सञ्चालक समितिमा चार जना सदस्य रहेका छन् र कार्यकारी अध्यक्षका रूपमा कदम केसीले नेतृत्व गरिरहेका छन्।

 
 
 

थप समाचार