पर्यटनलाई आर्थिक विकास र रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

पर्यटनलाई आर्थिक विकास र रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटनलाई प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण र समुदायको आयआर्जनसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् ।

विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक तथा धार्मिक सम्पदा र बहु सांस्कृतिक पहिचानका कारण कोशी प्रदेश पर्यटनका दृष्टिले सम्भावनायुक्त रहेको बताए ।

उनले सगरमाथा, कञ्चनजङ्घा र मकालुका हिमशृङ्खलादेखि पाथीभरा, हलेसी, बराहक्षेत्र र किरात सांस्कृतिक सम्पदासम्म तथा इलामका चियाबारी, कन्याम, श्रीअन्तु र माईपोखरीदेखि भेडेटार, तीनजुरे-मिल्के-जलजले, मुन्दुम ट्रेल र कोशीटप्पु वन्यजन्तु आरक्षसम्मका क्षेत्रलाई पर्यटनको प्रमुख आधारका रूपमा उल्लेख गरे ।

हिमाल आरोहण, पदयात्रा, धार्मिक तथा सांस्कृतिक पर्यटन, प्रकृति तथा वन्यजन्तु अवलोकन, साहसिक पर्यटन, ग्रामीण तथा होमस्टे पर्यटनका माध्यमबाट कोशी प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश सरकारले पर्यटन पूर्वाधारको विकास तथा स्तरोन्नति, नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा विकास, पदमार्ग र पर्यटकीय स्थलमा आवश्यक पूर्वाधार निर्माण, होमस्टे तथा स्थानीय पर्यटन व्यवसायको प्रवर्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेको छ ।

पर्यटनसँग सम्बन्धित निजी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यलाई समेत सरकारले प्राथमिकता दिएको उनले बताए । कोशी प्रदेश पर्यटन वर्ष २०८२ तथा कोशी प्रदेश भ्रमण वर्ष २०८३-८५ मार्फत प्रदेशका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियता चिनाउने र पर्यटन गतिविधिलाई चलायमान बनाउने काम भइरहेको उनले जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले पर्यटन केवल घुमफिरको विषय नभई स्थानीय अर्थतन्त्र चलायमान बनाउने, रोजगारी सिर्जना गर्ने, मौलिक कला तथा संस्कृतिको संरक्षण गर्ने र प्रदेशको समग्र समृद्धिमा योगदान पु¥याउने महत्त्वपूर्ण क्षेत्र भएको बताए ।

उनले दिगो, वातावरणमैत्री, सुरक्षित, गुणस्तरीय र समुदाय केन्द्रित पर्यटन विकासमार्फत कोशी प्रदेशलाई स्वच्छ, सुखी र समुन्नत प्रदेशका रूपमा स्थापित गर्न सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गरे ।

विश्व पर्यटन दिवसका अवसरमा पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याउने व्यक्ति, संस्था, व्यवसायी तथा समुदायप्रति धन्यवाद व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने अभियानमा सबैको साथ, सहयोग र सहभागिताका लागि आह्वान गरेका छन् ।