काठमाडौं : झापास्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा छविलाल खतिवडा निर्वाचित भएका छन्। संस्थाको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनबाट खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन्।
निर्वाचनमा खतिवडाले २१ हजार ९८४ मत प्राप्त गर्दै विजयी हुँदा अध्यक्ष पदका प्रतिस्पर्धी उपेन्द्रप्रसाद ओलीले ७ हजार ३९७ र भरतकुमार गिरीले ४ हजार २६३ मत प्राप्त गरे। दुवै समितिको नेतृत्व चयनका लागि तीनवटा प्यानल चुनावी प्रतिस्पर्धामा थिए। निर्वाचनमा खतिवडा नेतृत्वको प्यानलले दुवै समितिमा विजय हासिल गरेको छ।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल निर्वाचित भएका छन्। उनले १८ हजार ९३९ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी टेकनाथ खनालले ४ हजार ७९९, हेमराज गिरीले ४ हजार ९५ र ज्ञानुनाथ मैनालीले ५ हजार ६२७ मत प्राप्त गरे।
महिला उपाध्यक्षमा पार्वता भारती गिरी निर्वाचित भएकी छन्। उनले २० हजार ८१ मत प्राप्त गरिन्। उक्त पदका उम्मेदवार खिममाया बस्नेतले ५ हजार ५१०, गुहेश्वरी बुढाथोकीले ३ हजार ५८६ र हरिमाया सिग्देलले ३ हजार ८७१ मत प्राप्त गरिन्।
कोषाध्यक्षमा लक्ष्मीप्रसाद आचार्य १९ हजार ५६३ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी भीमबहादुर गिरीले ७ हजार ४३ र भोला धितालले ६ हजार २४२ मत प्राप्त गरे।
नौ सदस्यीय सञ्चालक समितिको खुला सदस्यतर्फ नारायणप्रसाद गिरी, मदनराज कटुवाल र रमेश सेढाई निर्वाचित भएका छन्। महिला सञ्चालकतर्फ राधिका चुडाल (हुमागाईं) र शिखा खड्का निर्वाचित भएका छन्।
त्यस्तै, लेखा सुपरीवेक्षण समितिको संयोजकमा डम्बरबहादुर देउजा निर्वाचित भएका छन्। उनले १२ हजार ५७० मत प्राप्त गरे। लेखा सदस्यमा बबिता घिमिरे र सुनील कार्की निर्वाचित भएका छन्।