३१ वर्षयताकै उच्च विन्दुमा जापानको ब्याजदर, १.२५ प्रतिशत पुर्याइयो

३१ वर्षयताकै उच्च विन्दुमा जापानको ब्याजदर, १.२५ प्रतिशत पुर्याइयो

एजेन्सी : जापानको केन्द्रीय बैंकले ब्याजदर बढाएर ३१ वर्षयताकै उच्च तहमा पुर्‍याएको छ। बैंक अफ जापानले शुक्रबार मुख्य ब्याजदर १ प्रतिशतबाट बढाएर १.२५ प्रतिशत पुर्याएको हो। यो दर सन् १९९५ यताकै उच्च हो। 

दशकौँदेखि अत्यन्त न्यून ब्याजदरको नीति अपनाउँदै आएको जापानले पछिल्लो समय मुद्रास्फीति, कमजोर येन र बढ्दो ऊर्जा लागतजस्ता चुनौतीबीच मौद्रिक नीति क्रमशः कडा बनाउँदै आएको छ।

ब्याजदर वृद्धि बजारले अपेक्षा गरेकै थियो। सन् २०२४ मा ब्याजदर माइनस ०.१ प्रतिशत रहेको अवस्थाबाट बैंक अफ जापानले निरन्तर दर बढाउँदै आएको छ। पछिल्लो वृद्धिसँगै करिब दुई वर्षको अवधिमा बैंकले छ पटक ब्याजदर बढाइसकेको छ। यसको उद्देश्य जापानको ब्याजदरलाई अन्य प्रमुख अर्थतन्त्रको तुलनामा क्रमशः सामान्य अवस्थामा ल्याउनुका साथै मुद्रास्फीतिलाई नियन्त्रणमा राख्नु हो।

जापानमा मूल्यवृद्धि भने केही सुस्त भएको देखिएको छ। शुक्रबार सार्वजनिक सरकारी तथ्यांकअनुसार अगस्टमा मुख्य मुद्रास्फीति दर १।७ प्रतिशतमा झरेको छ, जुन अघिल्लो महिनाको १.८ प्रतिशतभन्दा केही कम हो। 

यद्यपि, यो दर बैंक अफ जापानले निर्धारण गरेको २ प्रतिशतको लक्ष्यको नजिकै छ। जापानका लागि पछिल्लो समयको मूल्यवृद्धि विशेष महत्त्वपूर्ण विषय बनेको छ, किनकि देशले करिब तीन दशकसम्म अत्यन्त न्यून मुद्रास्फीति वा मूल्य घट्ने अवस्था अर्थात् डिफ्लेसनको सामना गरेको थियो।

यसैबीच, इरान युद्धका कारण विश्वव्यापी तेल तथा ग्यासको मूल्य बढ्दा जापानमाथि थप दबाब परेको छ। होर्मुज जलडमरूमध्य हुँदै हुने ऊर्जा आपूर्तिमा अवरोध आएपछि जापान विशेष रूपमा प्रभावित हुन सक्ने देखिन्छ, किनकि उसको ऊर्जा आवश्यकता पूरा गर्न मध्यपूर्वबाट हुने आयातमा ठूलो निर्भरता छ। बढ्दो ऊर्जा लागतले जापानमा थप मुद्रास्फीतिको दबाब सिर्जना गर्न सक्छ।

कमजोर येन पनि जापानका लागि अर्को प्रमुख चुनौती बनेको छ। अगस्टमा येन ४० वर्षयताकै न्यून स्तरमा पुगेपछि जापान र अमेरिकाले संयुक्त रूपमा विदेशी मुद्रा बजारमा हस्तक्षेप गरेर यसको गिरावट रोक्ने प्रयास गरेका थिए। 

सन् २०११ पछि पहिलो पटक दुई देशले यस्तो संयुक्त हस्तक्षेप गरेका हुन्। जापानको वित्त मन्त्रालय र अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टले आवश्यक परे भविष्यमा पनि यस्तै कदम चाल्न सकिने बताएका छन्।

ब्याजदर बढाउँदा सामान्यतया देशको मुद्रा बलियो हुने अपेक्षा गरिन्छ, किनकि उच्च ब्याजदरले विदेशी लगानीकर्ताका लागि त्यहाँको सम्पत्ति तुलनात्मक रूपमा आकर्षक बनाउन सक्छ। तर जापानमा ब्याजदर बढे पनि येनमाथिको दबाब कायमै रहन सक्ने चिन्ता छ। 

बजार विश्लेषक लाले अकोनरका अनुसार येन उच्च ब्याजदरका बाबजुद कमजोर रह्यो भने त्यसबाट उत्पन्न मुद्रास्फीतिको दबाबका कारण बैंक अफ जापानले बजार वा जापान सरकारको अपेक्षाभन्दा तीव्र गतिमा ब्याजदर बढाउनुपर्ने अवस्था आउन सक्छ।

यसरी जापानले दशकौँदेखि कायम रहेको अति न्यून ब्याजदरको युगबाट बाहिर निस्कने प्रयास गरिरहेको छ। तर कमजोर येन, बढ्दो ऊर्जा लागत, मुद्रास्फीति र देशको घट्दो श्रमशक्तिका कारण बैंक अफ जापानसामु आर्थिक वृद्धिलाई जोगाउँदै मूल्यवृद्धि नियन्त्रण गर्ने चुनौती भने अझै कायम छ।

थप समाचार