अमेरिकाले क्यानडाका मदिरा, मोटरसाइकल र दुग्धजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाउने

अमेरिकाले क्यानडाका मदिरा, मोटरसाइकल र दुग्धजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाउने

एजेन्सी : अमेरिकाले क्यानडाबाट आयात हुने मदिराजन्य पदार्थ, दुग्धजन्य वस्तु, मोटरसाइकल तथा अन्य विभिन्न सामानमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार जारी गरेका विभिन्न कार्यकारी आदेशमार्फत क्यानडामाथि नयाँ आयात प्रतिबन्ध तथा थप कर लगाउने निर्णय सार्वजनिक गरेका हुन्। यी प्रतिबन्धहरू आगामी २९ सेप्टेम्बरदेखि लागू हुने बताइएको छ।

अमेरिकाले क्यानडाले अमेरिकी व्यवसाय र उत्पादनमाथि भेदभाव गरेको आरोप लगाएको छ। ह्वाइट हाउसका अनुसार क्यानडाले अमेरिकी सामानमाथि लगाएको प्रतिबन्ध तथा करका कारण अमेरिकाले पनि क्यानडाली उत्पादनमाथि कडा व्यापारिक कदम चाल्नुपरेको हो।

यो निर्णय अमेरिका र क्यानडाबीच महिनौँदेखि जारी व्यापार युद्धको पछिल्लो घटनाक्रम हो। ऐतिहासिक रूपमा नजिकका सहयोगी र एकअर्काका महत्वपूर्ण व्यापारिक साझेदार रहेका यी दुई देशबीच पछिल्ला महिनामा व्यापारिक तनाव लगातार बढ्दै गएको छ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मंगलबार भिडियो सन्देशमार्फत अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा निर्भर रहने अवस्थाबाट क्यानडा विस्तारै अन्य बजारतर्फ मोडिन खोजिरहेको बताएका थिए। 

उनले यस्तो परिवर्तनको आर्थिक मूल्य चुकाउनुपर्ने स्वीकार गर्दै भनेका थिए कि निष्क्रिय भएर बस्नुको मूल्यभन्दा कदम चाल्नुको मूल्य कम हुनेछ।

क्यानडाले अमेरिकामाथि लगाएका प्रतिकारात्मक करहरू मंगलबार मध्यरातदेखि लागू भएपछि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गरेको हो। क्यानडाले अमेरिकी स्टील, कपडा र फर्निचरलगायतका सामानमा ‘डलरका लागि डलर’ अर्थात् बराबरीको प्रतिकारात्मक कर लगाएको छ।

यसअघि गत महिनामात्रै ह्वाइट हाउसले करिब २० अर्ब अमेरिकी डलर बराबरका क्यानडाली सामानमा ५० प्रतिशतसम्म कर लगाएको थियो। अमेरिका र क्यानडाबीच व्यापार सम्झौतासम्बन्धी वार्ताका विभिन्न चरण असफल भएपछि यस्तो निर्णय गरिएको थियो।

ती करहरूले क्यानडाको फर्निचर र वाइन उद्योगसँगै खेलकुद तथा माछा मार्ने उपकरणसम्बन्धी केही व्यवसायलाई समेत असर पारेको थियो।

नयाँ अमेरिकी आदेशअनुसार केही क्यानडाली उत्पादनलाई पूर्ण रूपमा अमेरिकामा आयात गर्न प्रतिबन्ध लगाइएको छ भने केही वस्तुमा थप उच्च कर लगाइएको छ। 

पूर्ण प्रतिबन्धको सूचीमा ह्वे अर्थात् दुग्धजन्य उत्पादन, उखुको चास्नी, अल्कोहलरहित बियर, विभिन्न प्रकारका वाइन, रम र भोड्का, माल्टबाट बनेको बियर तथा मोटरसाइकल र मोपेडलगायतका सवारीसाधन रहेका छन्।

त्यसैगरी विभिन्न प्रकारका चीज, काँचो छाला तथा जनावरका छाला, कागज, केही प्रकारका फर्निचर र गद्दा, आल्मुनियम र फलामजस्ता धातु, मोटरबोट, गल्फ कार्ट, माछा मार्ने डन्डीका पार्टपुर्जा तथा सहायक सामग्री र विद्युतीय स्विचबोर्डजस्ता उत्पादनमाथि उच्च आयात कर लगाइने भएको छ।

अमेरिकाले क्यानडाले अमेरिकी सामानमाथि मात्रै कडा प्रतिबन्ध लगाउने तर अन्य देशबाट आउने उस्तै उत्पादनमाथि समान व्यवहार नगरेको आरोप लगाएको छ। यही कारण क्यानडाको व्यापार नीति अमेरिकी व्यवसायप्रति भेदभावपूर्ण रहेको ह्वाइट हाउसको दाबी छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि पनि क्यानडामाथि थप व्यापारिक प्रतिबन्ध लगाउन सकिने संकेत दिएका थिए। सोमबार उनले क्यानडाको विमान निर्माता कम्पनी बम्बार्डियरलाई अमेरिकामा उत्पादन नगरेसम्म आफ्ना उत्पादन अमेरिकी बजारमा बेच्न नदिने चेतावनी दिएका थिए।

ट्रम्पले लामो समयदेखि आयात कर र व्यापारिक प्रतिबन्धमार्फत अमेरिका र अन्य देशबीचको व्यापार असन्तुलन कम गर्न सकिने विश्वास गर्दै आएका छन्। तर अमेरिकाले विभिन्न देशमाथि लगाएका व्यापक करहरूले उसका परम्परागत सहयोगी राष्ट्रहरूसँग समेत सम्बन्धमा तनाव सिर्जना गरेको छ।

अमेरिका र क्यानडाबीचको व्यापारिक तनावको प्रभाव दुवै देशका व्यवसायमा देखिन थालेको छ। सीमा पारिका व्यवसायीहरूले व्यापार युद्धका कारण सामानको मूल्य बढ्ने र ग्राहकको संख्या घट्ने चिन्ता व्यक्त गर्दै आएका छन्।

क्यानडाबाट कुल निर्यात हुने सामानको दुई तिहाइभन्दा बढी हिस्सा सामान्यतया अमेरिकामा जाने गरेको छ। अर्कोतर्फ, मेक्सिकोपछि क्यानडा अमेरिकाको दोस्रो ठूलो व्यापारिक साझेदार हो, यद्यपि अमेरिकाबाट क्यानडातर्फ हुने व्यापार तुलनात्मक रूपमा बढी विविध छ।

क्यानडामा अमेरिकी सामान बहिष्कार गर्ने अभियान पनि व्यापक बनेको छ। विशेषगरी अमेरिकी राष्ट्रपति ट्रम्पले गत वर्ष विश्वव्यापी रूपमा कर अभियान सुरु गरेपछि धेरै क्यानडाली उपभोक्ताले अमेरिकी उत्पादन किन्न छाडेका थिए। केही स्थानमा अमेरिकी मदिराजन्य उत्पादनहरू पसलका र्याकबाट समेत हटाइएका छन्।

दुवै देशका अधिकारीहरूले व्यापार सम्झौता गर्न चाहेको बताएका छन्। तर अगस्टको अन्त्यतिर वार्ता असफल भएपछि नयाँ वार्ताको कुनै समय तय गरिएको छैन।

व्यापार विशेषज्ञ डेबोरा एल्म्सले अमेरिकी आयात प्रतिबन्धले अमेरिकी ग्राहक भएका क्यानडाली व्यवसायमा गम्भीर प्रभाव पार्न सक्ने बताएकी छन्। प्रारम्भिक अनुमानअनुसार प्रतिबन्धको प्रत्यक्ष प्रभाव करिब एक अर्ब अमेरिकी डलर बराबरका सामानमा पर्ने र समग्र आर्थिक प्रभाव भने तुलनात्मक रूपमा सीमित हुन सक्ने उल्लेख गरिएको छ।

एल्म्सका अनुसार क्यानडाले तत्काल आफ्नो वर्तमान नीतिलाई निरन्तरता दिन सक्ने र अमेरिकी कदमका कारण प्रभावित व्यवसायलाई सहयोग गर्ने कार्यक्रमहरूमा परिवर्तन गर्न सक्ने सम्भावना छ।

अमेरिका र क्यानडाबीचको तनाव केवल व्यापार र करमा सीमित छैन। अगस्टमा राष्ट्रपति ट्रम्पले लेक ओन्टारियोलाई ‘लेक अमेरिका’ नामकरण गर्न आदेश दिएपछि क्यानडामा व्यापक असन्तोष देखिएको थियो। उक्त निर्णयलाई लिएर अमेरिकाभित्र समेत आलोचना भएको थियो।

अमेरिकाले २९ सेप्टेम्बरदेखि लागू गर्न लागेको नयाँ आयात प्रतिबन्धसँगै उत्तर अमेरिकाका यी दुई महत्वपूर्ण व्यापारिक साझेदारबीचको व्यापारिक विवाद अझ गहिरिने संकेत देखिएको छ।

थप समाचार