काठमाडौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत उडो युजेन भोल्जले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटको क्रममा नेपाल-जर्मनी सम्बन्धका विविध आयाम, विकास सहकार्य, विपद् व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारलगायतका विषयमा सौहार्दपूर्ण छलफल भएको थियो ।
उपराष्ट्रपति यादवले सन् १९५८ मा नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध आपसी विश्वास, मित्रता तथा सहयोगका आधारमा निरन्तर सुदृढ हुँदै आएको उल्लेख गरे । उनले नेपालको सामाजिक-आर्थिक विकास, स्वास्थ्य, शिक्षा, ऊर्जा तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा जर्मनीले पुर्याएको महत्वपूर्ण योगदानको उच्च प्रशंसा गरे ।
उपराष्ट्रपति यादवले गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी विपत्तिपछि जर्मन सरकारबाट प्राप्त राहत तथा आर्थिक सहयोगका लागि नेपाल सरकार र नेपाली जनताका तर्फबाट धन्यवाद व्यक्त गरे । साथै, आगामी पुनर्निर्माण र पुनःस्थापनाका चरणहरूमा समेत जर्मनीको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।
उनले जर्मनी नेपालको एक महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै द्विपक्षीय सहकार्य आगामी दिनमा अझ व्यापक र प्रभावकारी बन्दै जाने विश्वास व्यक्त गरे । साथै, हरेक वर्ष हजारौं जर्मन पर्यटक नेपाल भ्रमण गर्ने तथा उच्च शिक्षा, अध्ययन र रोजगारीका लागि जर्मनी जाने नेपाली युवाको संख्या निरन्तर बढिरहेको सन्दर्भमा दुई देशबीचको जनस्तरको सम्बन्ध थप सुदृढ हुने अपेक्षा व्यक्त गरे ।
उपराष्ट्रपति यादवले जर्मन राष्ट्रिय दिवसका अवसरमा महामहिम राजदूत भोल्जमार्फत जर्मन सरकार तथा जर्मनीका सम्पूर्ण जनताप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरे।
महामहिम राजदूत भोल्जले नेपाल र जर्मनीबीचको सम्बन्ध अत्यन्तै घनिष्ठ र विश्वासपूर्ण रहेको उल्लेख गर्दै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट भएको जनधनको क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै नेपालले विपत्तिको प्रभावबाट शीघ्र पुनःउत्थान हासिल गर्ने विश्वास व्यक्त गरे ।
उनले नेपाललाई विपत्तिपछिको पुनर्निर्माण तथा पुनर्स्थापनामा जर्मनीले प्रदान गर्न सक्ने सहयोगका सम्भावित क्षेत्रहरूको अध्ययन गर्न जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयकी संसदीय राज्यमन्त्री डा। बार्बेल कोफ्लरको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डलको कात्तिक ११ गतेदेखि तीनदिने नेपाल भ्रमण तय भएको जानकारी दिए ।