सञ्चालन आम्दानी ४० प्रतिशतले बढ्दा पनि होटल फरेस्ट इन २४ करोड खुद घाटामा

सञ्चालन आम्दानी ४० प्रतिशतले बढ्दा पनि होटल फरेस्ट इन २४ करोड खुद घाटामा

काठमाडौं : होटल फरेस्ट इन लिमिटेडको कुल सञ्चालन आम्दानी सन् २०२६ मा ४० प्रतिशतले बढेर १९ करोड १० लाख रुपैयाँ पुगेको छ। सञ्चालन आम्दानीमा भएको वृद्धिसँगै कम्पनीको सञ्चालन घाटामा पनि सुधार आएको छ।

कम्पनीको सञ्चालन घाटा सन् २०२५ को तीन करोड ९० लाख रुपैयाँबाट घटेर सन् २०२६ मा एक करोड ८० लाख रुपैयाँमा सीमित भएको छ। तर उच्च ब्याज खर्चका कारण कम्पनीको खुद घाटा भने बढेको छ। सन् २०२६ मा कम्पनीले २४ करोड ५० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ।

यसअघि सन् २०२५ मा होटलको कुल सञ्चालन आम्दानी करिब १३ करोड ६० लाख रुपैयाँ रहेको थियो। सो अवधिमा उच्च सञ्चालन खर्चका कारण कम्पनीको सञ्चालन घाटा तीन करोड ९० लाख रुपैयाँ पुगेको थियो भने उच्च ब्याज खर्चका कारण करिब १७ करोड २० लाख रुपैयाँ खुद घाटा भएको थियो।

होटल फरेस्ट इन लिमिटेडले काठमाडौंको बूढानीलकण्ठमा अन्तर्राष्ट्रिय होटल ब्रान्ड ‘होलिडे इन रिसोर्ट’ अन्तर्गत पाँचतारे होटल सञ्चालन गरिरहेको छ। कम्पनीले विश्वव्यापी आतिथ्य समूह इन्टरकन्टिनेन्टल होटल्स ग्रुपसँग होटल व्यवस्थापन सम्झौता गरेको छ।

कम्पनीको कुल बैंक सुविधा एक अर्ब ९७ करोड ५ लाख रुपैयाँ बराबर रहेको छ। यसमध्ये दीर्घकालीन बैंक सुविधा एक अर्ब ९२ करोड ५ लाख रुपैयाँ रहेको छ, जुन यसअघि रहेको २ अर्ब ११ करोड २१ लाख रुपैयाँभन्दा घटेको हो। कम्पनीसँग थप ५ करोड रुपैयाँको अल्पकालीन बैंक सुविधा रहेको छ।

होटलले सन् २०२४ को जुलाईदेखि ६८ कोठासहित चरणबद्ध रूपमा व्यावसायिक सञ्चालन सुरु गरेको थियो। त्यसपछि सन् २०२५ को अप्रिलसम्म होटलले आफ्नो पूर्ण १०४ कोठाको क्षमता सञ्चालनमा ल्याएको थियो।

कम्पनीले सन् २०२६ को सुरुआतमा ४० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरी प्राप्त रकम परिचालन गरेको थियो। आईपीओबाट प्राप्त रकम परिचालन भएपछि कम्पनीको पूँजी संरचनामा सुधार आएको र ऋणको भार कम गर्न सहयोग पुगेको बताइएको छ।

यससँगै कम्पनीको समग्र गियरिङ अनुपात सन् २०२५ को १.५८ गुणाबाट घटेर सन् २०२६ मा १.२३ गुणा पुगेको छ। कुल बाह्य दायित्व र खुद सम्पत्तिबीचको अनुपात पनि १.७७ गुणाबाट घटेर १.४३ गुणामा आएको छ। त्यस्तै, कम्पनीको चालु अनुपात सन् २०२५ को १।४२ गुणाबाट बढेर सन् २०२६ मा १.५० गुणा पुगेको छ। 

होटल फरेस्ट इन लिमिटेड सन् २०१० नोभेम्बर २२ मा स्थापना भएको कम्पनी हो। कम्पनीले काठमाडौंको बूढानीलकण्ठमा करिब १.२४ हेक्टर क्षेत्रफलमा फैलिएको १०४ कोठायुक्त पाँचतारे होटल सञ्चालन गरिरहेको छ।

होटलले ‘होलिडे इन रिसोर्ट बूढानीलकण्ठ’ ब्रान्डमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीकी प्रमुख शेयरधनी बिनिता थापा रहेकी छन् । कम्पनीमा उनको  १७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।