काठमाडौं : झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाबाट कर्जा (ऋण) लिएका सञ्चालक पदका उम्मेदवारहरूलाई निर्धारित समयभित्र ऋण चुक्ता गर्न निर्देशन दिएको छ।
संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्णय तथा सूचनालाई आधार बनाउँदै कर्जा लिएका उम्मेदवारहरूलाई भदौ २५ गते अपराह्न ४ बजेसम्म ऋण चुक्ता गर्न आग्रह गरेको हो।
प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका सञ्चालकसम्बन्धी नियामकीय मापदण्ड, २०८२ को परिच्छेद–३ को बुँदा नं. १.४ बमोजिम तोकिएको बाहेक थप कर्जा लिन नपाइने र त्यस्तो कर्जा लिएको भए चुक्ता नगरेसम्म सञ्चालक समितिको उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ।
संस्थाको निर्वाचन २०८३ का लागि उम्मेदवार कायम भई कर्जा लिएका उम्मेदवारहरूले तोकिएको समयभित्र ऋण चुक्ता गर्नुपर्नेछ। अन्यथा नियामकीय व्यवस्थाअनुसार उम्मेदवारीसम्बन्धी प्रक्रिया प्रभावित हुने चेतावनी परिपत्रले दिएको छ।
संस्थाको आगामी नेतृत्वका लागि असोज १० गते निर्वाचन हुँदैछ।