काठमाडौं : चीनको तिब्बत क्षेत्र हुँदै भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवास्थित जलविद्युत् आयोजनाहरूको विद्युत् आपूर्ति तथा प्रसारण प्रणाली प्रभावित भएको छ।
सान्जेन जलविद्युत कम्पनी लिमिटेडका अनुसार बाढीका कारण नेपालतर्फका जलविद्युत् गृह, प्रसारण लाइन तथा सबस्टेसनहरूमा क्षति पुगेपछि उक्त क्षेत्रबाट हुने विद्युत् आपूर्ति पूर्णरूपमा बन्द भएको छ।
कम्पनीले सान्जेन जलविद्युत आयोजना तथा सान्जेन ९माथिल्लो० जलविद्युत आयोजनाका संरचनाहरूमा भने बाढीका कारण कुनै प्रकारको क्षति नभएको जनाएको छ। आयोजनाका संरचनाहरू सुरक्षित रहे पनि त्रिशूली–३ र चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा भएको क्षतिका कारण उत्पादित विद्युत् प्रणालीमा निकासी गर्न नसकिएको कम्पनीले जनाएको छ।
प्रसारण लाइनमा भएको क्षतिका कारण विद्युत् निकासी हुन नसकेपछि सान्जेन जलविद्युत कम्पनीअन्तर्गतका दुवै आयोजनाको विद्युत् उत्पादन तथा सञ्चालन प्रभावित भएको हो।
कम्पनीले प्रसारण संरचनामा भएको क्षतिबारे सम्बन्धित निकायबाट आवश्यक पहल तथा मर्मतसम्भार भएपछि विद्युत् निकासी पुनः सञ्चालनमा आउने जनाएको छ।