Below Menu

नाडा अटो शोमा ईभीको रौनक : ३३ लाखको ईमास ५ देखि ६ करोडको ‘एम-हिरो’सम्म आकर्षणमा

नाडा अटो शोमा ईभीको रौनक : ३३ लाखको ईमास ५ देखि ६ करोडको ‘एम-हिरो’सम्म आकर्षणमा

काठमाडौं : भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो-२०२६ मा विद्युतीय सवारीसाधन (ईभी) ब्रान्डहरूबीच प्रतिस्पर्धा झन् तीव्र बनेको छ । 

मलेसियाली ब्रान्ड प्रोटोन ले आफ्नो नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी ईमास ५ को नियमित मूल्य र ग्राहक केन्द्रित अफर सार्वजनिक गरेको छ भने चिनियाँ ब्रान्ड लिपमोटर ले पनि नयाँ मोडलसँगै विशेष छुट योजनाहरू अघि सारेको छ ।

नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स का प्रतिनिधि दिपेश पौडेलका अनुसार करिब एक महिनाअघि नेपाली बजारमा सार्वजनिक गरिएको ईमास ५ को डेलिभरी सुरु भइसकेको छ ।

उनले यो मोडल ४ हजार मिलिमिटरभन्दा बढी लम्बाइ भएको कम्प्याक्ट एसयूभी रहेको र यस सेग्मेन्टमा रियर–ह्विल ड्राइभ तथा इन्डिपेन्डेन्ट सस्पेन्सन सहित आउने पहिलो मोडल भएको दाबी गरे ।

उनका अनुसार कम्पनीले ईमास ५ लाई “रि डिफाइन योर एभ्रिडे” ट्यागलाइनसहित बजारमा उतारेको हो । दैनिक प्रयोगलाई लक्षित गरिएको यो गाडी विद्यार्थी, प्राध्यापकदेखि विभिन्न पेसामा आबद्ध ग्राहकका लागि उपयुक्त हुने कम्पनीको दाबी छ । विगत दुई वर्षदेखि नेपाली बजारमा रहेको ईमास ७ ले बनाएको विश्वासका कारण ईमास ५ ले पनि राम्रो प्रतिक्रिया पाइरहेको उनले बताए ।

प्रोटोनले सुरुवाती १०० ग्राहकका लागि ईमास ५ को परिचयात्मक मूल्य प्राइम भेरियन्ट का लागि २९.९९ लाख रुपैयाँ र प्रिमियम भेरियन्ट का लागि ३४.९९ लाख रुपैयाँ तोकेको थियो ।

उक्त अफर समाप्त भएसँगै कम्पनीले नियमित एमआरपी लागू गरेको छ । हाल ईमास ५ प्राइमको मूल्य ३२।९९ लाख रुपैयाँ र प्रिमियमको मूल्य ३६.९९ लाख रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

नाडा अटो शो अवधिमा वा नेपालभर रहेका आधिकारिक डिलरसिपबाट गाडी बुकिङ तथा डेलिभरी गर्ने ग्राहकलाई कम्पनीले थप आकर्षक सुविधा पनि दिएको छ । यसअन्तर्गत ५० हजार रुपैयाँ नगद छुट, एक वर्षको अटो-प्लस इन्स्योरेन्स, एक आर्थिक वर्षको सडक कर, ७ किलोवाट चार्जर तथा आवश्यक एसेसरिज उपलब्ध गराइनेछ ।

नाडा अटो शोमा अर्को ईभी ब्रान्ड लिपमोटर ले पनि आफ्नो उत्पादन दायरा विस्तार गर्दै नयाँ मोडलहरू प्रदर्शन गरेको छ। कम्पनीका प्रतिनिधि रितेश कुमार साक्यका अनुसार प्रदर्शनीमा बी१०, बी०३एक्स र सी१० मोडल राखिएका छन् ।

कम्पनीले शो विशेष अफरअन्तर्गत ग्राहकलाई रोड ट्याक्स र रजिस्ट्रेसन शुल्क, इन्स्योरेन्स, चार्जर तथा एसेसरिज मा सुविधा उपलब्ध गराइरहेको जनाएको छ । साक्यका अनुसार बी१० को मूल्य ५४.९९ लाख रुपैयाँ कायम गरिएको छ भने हालै सार्वजनिक गरिएको बी०३एक्स लाई ४४।९९ लाख रुपैयाँको इन्ट्रोडक्टरी मूल्य मा बजारमा ल्याइएको छ । कम्पनीले सी१० को २०२६ मोडलको संशोधित मूल्य भने अटो शोकै क्रममा सार्वजनिक गर्ने जनाएको छ ।

लिपमोटरका अनुसार बी०३एक्स लाई आफ्नो सेग्मेन्टमा प्रतिस्पर्धी मोटर, ब्याट्री क्षमता र रेन्ज भएको मोडलका रूपमा प्रस्तुत गरिएको छ । यसमा १४५ किलोवाटको इलेक्ट्रिक मोटर, ५३ किलोवाट-घण्टाको ब्याट्री र ३८२ किलोमिटर सम्मको ड्राइभिङ रेन्ज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

साक्यले बी०३एक्स सार्वजनिक भएयता ग्राहकबाट सकारात्मक प्रतिक्रिया र उल्लेख्य बुकिङ प्राप्त भइरहेको बताए । उनका अनुसार धेरै ग्राहक गाडीबारे थप जानकारी लिन इच्छुक भएकाले नाडा अटो शोमार्फत प्रत्यक्ष अवलोकन र परीक्षणको अवसर प्रदान गरिएको हो ।

यस वर्षको नाडा अटो शोमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरूले नयाँ प्रविधि, लामो रेन्ज र प्रतिस्पर्धी मूल्यमा विद्युतीय सवारी सार्वजनिक गरेका छन् । प्रोटोन र लिपमोटरले सार्वजनिक गरेका नयाँ मोडल तथा विशेष अफरले नेपाली ईभी बजारमा प्रतिस्पर्धा थप चर्किएको संकेत गरेको छ ।

आयोजकका अनुसार यस पटकको प्रदर्शनीमा विद्युतीय सवारीसाधनको प्रभुत्व देखिएको छ । कम्पनीहरूले मूल्यसँगै चार्जर, इन्स्योरेन्स, रोड ट्याक्स र नगद छुटजस्ता प्याकेजहरू अघि सारेर ग्राहक आकर्षित गर्ने रणनीति अपनाएका छन्, जसले आगामी चाडपर्व लक्षित बिक्रीलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नाडा अटो शोमा डङफेङका चार नयाँ आकर्षण, भिगो ई-टुको बुकिङ पुनः सुरु

डङफेङका प्रतिनिधि गोविन्द भुषालले नाडा अटो शोमा डङफेङले चारवटा विद्युतीय तथा प्रिमियम मोडल प्रदर्शनीमा राखेको बताएका छने । शोमा भिगो, भिगो ई-टु, बक्स, ईपाई ००७ र एम-हिरोले दर्शकमा राखेको बताए ।

काठमाडौंमा जारी अटो शोमा डङफेङले आफ्ना चार प्रमुख मोडल प्रदर्शनमा राखेको छ । स्टलमा नेपालमा लोकप्रिय एसयूभी भिगो, नयाँ विद्युतीय मोडल भिगो ई-टु, रिभाइज्ड भर्सनको बक्स, सेडान इपाई ००७ तथा ठूलो एसयूभी एम-हिरोलाई आकर्षणका रूपमा प्रस्तुत गरिएको छ ।

डङफेङका अनुसार नेपालमा उच्च रुचाइएको भिगो ई-टु पाँच दिनअघि मात्रै सार्वजनिक गरिएको हो । सार्वजनिक भएको छोटो समयमै उक्त मोडलको बुकिङ आइरहेको उनले बताए । 

उनले भने, ‘हामीले जुन ३५.९९ मा लन्च गरेका थियौँ लास्ट पाँच दिन अगाडि, र त्यो अफर हामीले क्लोज गरेर आज दिनदेखि एमआरपीमा ३७.९९, जुन एक्सेसिभ बुकिङ आयो हामीसँग, ३७.९९ मा आजदेखि हामीले भिगो इ-टु फेरि बुकिङ स्टार्ट गरेका छौँ ।’ 

अनुसार भिगो ई-टु पाँच दिनअघि ३५.९९ लाख रुपैयाँको विशेष सुरुवाती मूल्यमा सार्वजनिक गरिएको थियो । उक्त अफरमा उल्लेख्य बुकिङ आएपछि अफर बन्द गरी आज बिहीबारदेखि यसको बुकिङ ३७.९९ लाख रुपैयाँको एमआरपीमा पुनः सुरु गरिएको छ ।

उनका अनुसार शोमा राखिएको अर्को आकर्षण बक्सको रिभाइज्ड भर्सन हो, जसको मूल्य भने तत्काल सार्वजनिक गरिएको छैन । त्यस्तै, उनले डङफेङको सेडान मोडल ईपाई ००७ लाई ५९.९९ लाख रुपैयाँको मूल्यमा प्रदर्शनीमा राखिएको बताए । 

प्रिमियम एसयूभी एम-हिरो पनि डङफेङको स्टलमा प्रदर्शनीका लागि राखिएको छ । यसको मूल्य शोमा सार्वजनिक गरिएको छैन । भुषालका अनुसार एम-हिरोको सम्भावित मूल्य ६ करोड रुपैयाँभन्दा माथि हुन सक्नेछ ।

२५०० भन्दा बढी नामीका ग्राहक

भुषालले डङफेङलाई विश्वव्यापी रूपमा स्थापित चिनियाँ अटोमोबाइल समूहको ब्रान्डका रूपमा प्रस्तुत गर्दै नेपालमा पनि यसको बजार विस्तार भइरहेको बताए । डङफेङअन्तर्गतको नामी ब्रान्डका विद्युतीय सवारीसाधनका २,५०० भन्दा बढी ग्राहक नेपालमा रहेको उनले बताए । 

उनले नामीका सवारीसाधनको मूल्य, सञ्चालन खर्च, विश्वसनीयता र कम्पनीको बिक्रीपछिको सेवाका कारण ग्राहकको विश्वास बढेको बताए । नेपालमा डङफेङका सवारीसाधन एमएडब्ल्यू वृद्धि समूहले आयात तथा बिक्री गर्दै आएको जानकारी दिए । उनले डङफेङले सार्वजनिक गरेका मूल्यलाई नै क्यास डिस्काउन्टसहितको मूल्यका रूपमा राखिएको बताए । 

थप समाचार