Below Menu

जेनजी आन्दोलनको मारपछि तंग्रिदै भाटभटेनी, एक वर्षमा २७ अर्ब ४७ करोडको व्यापार

जेनजी आन्दोलनको मारपछि तंग्रिदै भाटभटेनी, एक वर्षमा २७ अर्ब ४७ करोडको व्यापार

काठमाडौं : भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिले सन् २०२६ मा २७ अर्ब ४७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । 
उक्त रकम अघिल्लो वर्षको तुलनामा १९.५५ प्रतिशतले कम हो । सन् २०२५ मा कम्पनीले ३४ अर्ब १५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । 

यसअघि कम्पनीले सन् २०२४ मा ३० अर्ब ६२ करोड, सन् २०२३ मा २९ अर्ब ७९ करोड ४० लाख र सन् २०२२ मा २६ अर्ब ८८ करोड ६० लाखको व्यापार गरेको थियो । 

कम्पनीको सञ्चालनमा आएको अवरोधका कारण आर्थिक वर्ष २०८२/८३ मा  भाटभटेनीको आम्दानी करिब २० प्रतिशतले घटेको जनाइएको छ । साथै क्षतिग्रस्त स्टोरहरू पूर्ण रूपमा सञ्चालनमा आएपछि आम्दानी पुनः बढ्ने जनाइएको छ  ।

यद्यपी व्यापार घटेपनि कम्पनीको सञ्चालन नाफा मार्जिन भने बढेको छ । सन् २०२५ मा ११.५ प्रतिशत रहेको कम्पनीको यस्तो मार्जिन बढेर सन् २०२६ मा १२.९ प्रतिशत पुगेको छ । 

यसैगरी ब्याजदरमा आएको कमी, सञ्चालन नाफामा सुधार तथा अधिकांश ऋणदाताबाट सावाँ भुक्तानी दुई वर्षसम्म स्थगित गर्ने व्यवस्था गरिएकाले कम्पनीको ऋण तिर्ने क्षमता पनि सुधारिएको छ । सन् २०२५ मा १.२ गुणा रहेका ब्याज भुक्तानी क्ष्मता सन् २०२६ मा बढेर १.८ गुणा पुगेको छ ।

भाटभटेनीको वित्तीय संरचनामा पनि केही सुधार देखिएको छ । कम्पनीको कुल ऋण तथा मूर्त खुद सम्पत्तिको अनुपात सन् २०२४ को १.८ गुणाबाट सन् २०२५ मा १.४ गुणा हुँदै सन् २०२६ मा १.५ गुणा कायम भएको छ । 

जेनजी आन्दोलनपछि पुनर्निर्माणका लागि थप ऋण उठाउनुपरे पनि विगतका वर्षमा आन्तरिक आम्दानीको ठूलो हिस्सा कम्पनीमै राखिएकाले ऋणको दबाब तुलनात्मक रूपमा नियन्त्रणमा रहेको रिपोर्टमा उल्लेख छ ।

तर बीमा दाबीको ठूलो रकम अझै प्राप्त हुन बाँकी रहेकाले कम्पनीको तत्कालीन तरलतामा दबाब कायम छ । जुलाई २०२६ को मध्यसम्म मौज्दात क्षतिका लागि दाबी गरिएको रकमको करिब ३८ प्रतिशत र भौतिक संरचनाको क्षतिका लागि दाबी गरिएको रकमको करिब ६ प्रतिशत मात्र अग्रिम रूपमा प्राप्त भएको थियो । 

पुनर्निर्माण तथा पुनःस्थापनाका काममा बीमा दाबीविरुद्ध उठाइएको ऋण तथा अल्पकालीन कर्जाको प्रयोग बढ्दा कम्पनीको कर्जा लिन सकिने क्षमताको अतिरिक्त सुरक्षित मार्जिन पनि घटेर करिब ९ प्रतिशत मा झरेको थियो । 

सन् २०२५ को सेप्टेम्बरमा भएको जेनजी आन्दोलनका क्रममा ठूलो क्षति बेहोरेको भाटभटेनीको सञ्चालन क्रमशः सामान्य अवस्थामा फर्किन थालेको अवस्था छ । आन्दोलनका क्रममा कम्पनीका २७ मध्ये ११ वटा स्टोरमा गम्भीर क्षति पुगेको थियो । 

तीमध्ये ६ वटा स्टोरले जुलाई २०२६ को मध्यसम्म पुनः सञ्चालन सुरु गरिसकेका छन् भने बाँकी क्षतिग्रस्त स्टोरहरू पनि सन् २०२६ भित्रै क्रमशः सञ्चालनमा ल्याउने कम्पनीको योजना छ । यस अवधिमा कम्पनीका २७ मध्ये २२ वटा स्टोर सञ्चालनमा थिए भने पाँचवटा स्टोर पुनर्निर्माणको क्रममा रहेका थिए ।

आन्दोलनबाट भाटभटेनीलाई करिब ९ अर्ब रुपैयाँ बराबरको कुल क्षति भएको थियो । त्यसमध्ये करिब ६ अर्ब रुपैयाँको क्षति मौज्दात अर्थात् सामानमा र करिब ३ अर्ब रुपैयाँको क्षति भौतिक संरचनामा भएको थियो । 

यद्यपि, ठूलो हिस्साको क्षति बीमा रकमबाट पूर्ति हुने जनाइएको अपेक्षा गरिएको छ । त्यसैले बीमा दाबीबाट प्राप्त हुने रकमले कम्पनीको दीर्घकालीन वित्तीय अवस्थामाथि ठूलो दबाब पर्न नदिने रिपोर्टमा उल्लेख छ ।

बीमा दाबीको बाँकी रकम समयमै प्राप्त हुनु भाटभटेनीको आगामी वित्तीय अवस्थाका लागि महत्वपूर्ण हुने जनाएको रेटिङ एजेन्सीले जनाएको छ । एजेन्सीले करिब एक वर्षभित्र बीमा रकम प्राप्त हुने र बीमाले नसमेटेको क्षतिको बाँकी भार कम्पनीले आफ्नो वित्तीय क्षमताबाट व्यवस्थापन गर्न सक्ने अपेक्षा गरेको छ । 

तर बीमा रकम प्राप्तिमा ठूलो ढिलाइ भएमा वा अपेक्षितभन्दा बढी क्षति कम्पनीले स्वयं व्यहोर्नुपरेमा त्यसले आगामी रेटिङमा असर पार्न सक्ने चेतावनी पनि दिइएको छ ।

कम्पनीले पछिल्ला वर्षहरूमा नयाँ आउटलेट खोल्न ठूलो मात्रामा पूँजीगत खर्च गर्दै आएको छ । जसमा ठूलो हिस्सा ऋण नै रहेको छ । यसका कारण कम्पनीको ऋण तिर्ने क्षमता अझै मध्यम स्तरमै रहेको रिपोर्टमा उल्लेख छ । 

साथै, कम्पनीका सहायक तथा सम्बद्ध कम्पनीहरूमा ठूलो लगानी रहेको छ ।  सन् २०२५ मा सहायक तथा सम्बद्ध कम्पनीहरूमा भाटभटेनीको लगानी एक अर्ब ३३ करोड ९० लाख रुपैयाँ थियो । जुन त्यसबेला कम्पनीको खुद सम्पत्तिको करिब १३ प्रतिशत बराबर थियो । 

त्यस्तै, सूचीकृत इक्विटी उपकरणमा कम्पनीको लगानी पनि खुद सम्पत्तिको करिब २८ प्रतिशत रहेको थियो । यस्तो लगानीले आवश्यकता पर्दा तरलता उपलब्ध गराउन सहयोग गर्न सक्ने भए पनि बजार मूल्यमा हुने उतारचढावको जोखिम भने रहने जनाइएकोे छ ।

कम्पनीको आम्दानीमा किराना व्यवसायको हिस्सा करिब ५० प्रतिशत रहेकाले यही क्षेत्रमा विस्तार भइरहेका मिनिमार्ट, स्थानीय पसल तथा अनलाइन व्यापारबाट प्रतिस्पर्धा बढिरहेको छ । विशेषगरी सहरी क्षेत्रमा नयाँ मिनिमार्टहरूको संख्या बढ्दै जानु र ई–कमर्सको विस्तारले परम्परागत ठूलो सुपरमार्केट मोडलमाथि दबाब सिर्जना गर्न सक्ने उल्लेख छ । 

यद्यपी काठमाडौं, पोखरा र चितवनजस्ता प्रमुख बजारमा भाटभटेनीको बलियो ग्राहक आधार र बजार उपस्थिति रहेको छ । सन २०२५ मा यी तीन क्षेत्रबाट मात्रै कम्पनीको करिब ७० प्रतिशत आम्दानी आएको थियो ।   

सन् १९९२ मा स्थापना भएको भाटभटेनी नेपालकै पुराना र ठूलो खुद्रा व्यवसायमध्ये एक हो । यसको व्यवसायिक यात्रा भने १९८४ मा काठमाडौंको नक्सालमा सानो खुद्रा पसलबाट सुरु भएको थियो । 

हाल कम्पनीका स्टोरहरू काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा सञ्चालनमा छन् । कम्पनीको ६० प्रतिशत स्वामित्व मिनबहादुर गुरुङ र  ४० प्रतिशत स्वामित्व उनकी श्रीमती साबित्री घले गुरुङको रहेको छ ।

भाटभटेनीले बैंकिङ कर्जा सुविधाका लागि कुल १७ अर्ब २४ करोड ६६ लाख रुपैयाँ बराबरको  रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९ अर्ब १४ करोड ४९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८ अर्ब १० करोड १७ लाख रुपैयाँको रेटिङ गराएको हो ।