Below Menu

अमेरिकाको आर्थिक घेराबन्दीविरुद्ध इरानको काउन्टर, होर्मुज छिर्ने जहाजसँग शुल्क उठाउने तयारी 

अमेरिकाको आर्थिक घेराबन्दीविरुद्ध इरानको काउन्टर, होर्मुज छिर्ने जहाजसँग शुल्क उठाउने तयारी 

काठमाडौं : अमेरिका र इरानबीचको तनाव बढिरहेका बेला इरानले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज स्ट्रेट हुँदै आवतजावत गर्ने जहाजबाट शुल्क लिने प्रस्ताव अघि बढाएको छ। इरानी संसदले यस्तो शुल्क उठाउने प्रस्तावलाई स्वीकृति दिएको बताइएको छ।

इरानी समाचार एजेन्सी मेहरका अनुसार, होर्मुजबाट पार गर्न अनुमति पाउने देशका जहाजबाट समुद्री सेवाबापत शुल्क लिइनेछ। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता हसन काशकवीका अनुसार शुल्कको बदलामा जहाजलाई समुद्री सेवा, सुरक्षा र बीमा उपलब्ध गराइनेछ।

त्यसैगरी वातावरणसम्बन्धी सेवा तथा विशेष परिस्थितिमा इन्धन उपलब्ध गराउने व्यवस्था पनि हुने बताइएको छ। शुल्क इरानी रियाल वा इरानले स्वीकार गर्ने अन्य मुद्रामा तिर्न सकिनेछ।

अमेरिकी वित्तमन्त्री स्कट बेसेंटले ट्रम्प प्रशासन इरानविरुद्धको आर्थिक अभियानको निर्णायक चरणमा पुगेको बताएका छन्। उनका अनुसार अमेरिकाको मुख्य उद्देश्य इरानको आम्दानीका प्रमुख स्रोतलाई कमजोर बनाउनु हो।

बेसेंटले इरानमाथि दबाब बढाउन अमेरिकी सरकारले आफ्ना सबै उपलब्ध सरकारी निकाय र अधिकार प्रयोग गर्ने बताएका छन्। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको आर्थिक कारबाहीलाई कुनै विरोधी राष्ट्रविरुद्ध गरिएको सबैभन्दा ठूलो अभियानमध्ये एकका रूपमा प्रस्तुत गर्दै अन्य देशलाई पनि इरानलाई अलग्याउन सहयोग गर्न आग्रह गरेका थिए।

 इरानले अमेरिकाको आर्थिक दबाबमा सहयोग गर्ने खाडी देशहरूलाई समेत चेतावनी दिएको छ। इरानका नयाँ राष्ट्रिय सुरक्षा प्रमुख मोहसिन रेजाईले इरानमाथि आर्थिक प्रतिबन्ध लगाउन अमेरिकालाई सहयोग गर्ने देशलाई दुश्मनको रूपमा व्यवहार गरिने चेतावनी दिएका छन्।

यसले अमेरिका, इरान र खाडी राष्ट्रबीचको तनाव अझ जटिल बन्न सक्ने संकेत गरेको छ।

यसैबीच, एक वरिष्ठ इरानी अधिकारीले इरानलाई ‘मक्का सम्झौता’मा सहभागी हुन निमन्त्रणा आएको दाबी गरेका छन्। इरानी संसदसँग सम्बन्धित मेहदी रहीमीले शनिबार इरानी समाचार च्यानल अल मयादीनसँग कुरा गर्दै इरानले यस्तो निमन्त्रणा प्राप्त गरेको र त्यसबारे छलफल भइरहेको बताएका हुन्।

तर इरानी विदेश मन्त्रालय वा सम्झौताका संस्थापक देश साउदी अरब, टर्की र पाकिस्तानले यो दाबीको आधिकारिक पुष्टि गरेका छैनन्। यी तीन देशले अगस्ट ७ मा मक्कामा आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार कुनै एक देशमाथि भएको आक्रमणलाई तीनै देशमाथिको आक्रमणका रूपमा लिइने व्यवस्था गरिएको छ।

होर्मुज स्ट्रेटलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि विवादास्पद अभिव्यक्ति दिइसकेका छन्। अगस्ट १८ मा उनले पहिलोपटक होर्मुजमाथि अमेरिकी नियन्त्रणको कुरा उठाउँदै यसलाई ‘न्यू यूएस टेरिटरी’ अर्थात् नयाँ अमेरिकी क्षेत्रका रूपमा उल्लेख गरेका थिए।

त्यसपछि आइतबार पनि ट्रम्पले सामाजिक सञ्जालमा होर्मुजलाई अमेरिकी क्षेत्रका रूपमा प्रस्तुत गरिएको तस्वीर सार्वजनिक गरेका थिए।

अमेरिका र इरानबीच तनाव बढेपछि होर्मुज स्ट्रेटबाट जहाज आवतजावत गर्ने मार्गलाई लिएर पनि विवाद बढेको छ। होर्मुजको उत्तरी भागमा इरानी तट नजिक पर्ने यो मार्ग लारक र किश्म द्वीप आसपास हुँदै इरानका बन्दरगाह तथा तेल टर्मिनलतर्फ जाने क्षेत्रसँग जोडिएको छ।

होर्मुजको दक्षिणी भागमा ओमानतर्फ पर्ने ओमानी मार्ग इरानी तटबाट तुलनात्मक रूपमा टाढा छ। अमेरिकाले जहाजहरूलाई यही मार्ग प्रयोग गर्न जोड दिइरहेको बताइएको छ। अमेरिकी नौसेनाको सुरक्षामा सञ्चालन हुने केही व्यावसायिक जहाजले पनि यही मार्ग प्रयोग गरिरहेका छन्।

होर्मुज स्ट्रेट विश्वको महत्वपूर्ण ऊर्जा तथा व्यापारिक समुद्री मार्गमध्ये एक भएकाले यहाँ शुल्क, सुरक्षा र आवतजावतसम्बन्धी नयाँ व्यवस्था लागू हुने सम्भावनाले अन्तर्राष्ट्रिय व्यापार तथा क्षेत्रीय सुरक्षामा थप प्रभाव पार्न सक्छ।