गोरखाका जलविद्युत् आयोजनालाई गति दिन गृहमन्त्रीले खोजे ऊर्जामन्त्रीको साथ

जम्बाे टाेली लिएर ऊर्जा मन्त्रालय किन पुगे गृहमन्त्री गुरूङ ? 

गोरखाका जलविद्युत् आयोजनालाई गति दिन गृहमन्त्रीले खोजे ऊर्जामन्त्रीको साथ

काठमाडौँ : गृहमन्त्री सुधन गुरूङ गाेरखा १ का जलविद्युत् व्यवसायी लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन् ।

आफ्नाे क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयाेजनामा देखिएका समस्या लिएर मन्त्री गुरूङ ऊर्जा मन्त्रालय पुगेका हुन् । 

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र नेपाल विद्युत प्राधिकरणकाे टिमले उनीहरूकाे समस्या सुनेकाे छ । व्यवसायीहरूले उत्पादनकाे तयारीमा रहेकाे भन्दै प्रसारण लाइनकाे विस्तारदेखि विभिन्न व्यवस्थापकीय विषय उठाएका थिए । 

मन्त्री गुरूङले  गाेरखा जिल्लाका नदीमा निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयाेजनाकाे निर्माणका क्रममा आइपरेका समस्या समाधानका लागि सहजीकरण गर्न ऊर्जामन्त्री श्रेष्ठ र विद्युत प्राधिकरणलाई अनुराेध गरेका थिए ।  

मन्त्री गुरूङले जलविद्युत् व्यवसायीलाई पनि सिएसआरमा पारदर्शिता हुनुपर्ने, राजनीति नगरी व्यवसायमात्र गर्नुपर्ने र जलविद्युत् आयाेजनाबाट त्यहाँकाे जनताले सुविधा पाउनुपर्ने बताए । उनले सरकारबाट पूर्ण सहजीकरण हुने र प्राधिकरणले बाधाहरू फुकाउने भन्दै राजनीति नगरि काम गर्न जलविद्युत् व्यवसायीलाई भनेका थिए । 

छलफलमा ऊर्जामन्त्री श्रेष्ठले गाेरखाका जलविद्युत् आयाेजना निर्माणमा देखिएका समस्या समाधानका लागि पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उनले सहजीकरण गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन पनि दिए ।

गाेरखामा बुढीगण्डकीसहित १० भन्दा जलविद्युत् आयाेजना निर्माण भइरहेकाे छ । निर्माणका क्रममा आएका समस्या बाेकेर गृहमन्त्री गुरूङ ऊर्जा मन्त्रालय आएका थिए ।

विद्युत प्रधिकरणका कामु निर्देशन दिर्घायु श्रेष्ठले पनि जलविद्युत् आयाेजना निर्माणमा देखिएका समस्या सम्बाेधनकाे लागि पहल भइरहेकाे र प्रसारण लाइनकाे समस्याका लागि स्राेत जुटाउन गृहकार्य भइरहेकाे जानकारी गराएका थिए ।

थप समाचार