काठमाडौं : मदिरा उत्पादक यती डिस्टिलरी प्रालिले गत आर्थिक वर्षको नौ महिनामा ५ अर्ब ८५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा ५ अर्ब ९१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२४ मा ४ अर्ब ७३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
यसअघि कम्पनीले सन् २०२३ मा ५ अर्ब १७ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा ५ अर्ब ७२ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
व्यापारसँगै कम्पनीको सञ्चालन नाफा मार्जिन पनि सुधारिएको छ । सन् २०२४ मा २२.२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा २८.१ प्रतिशत पुगेको थियो । सन् २०२६ को नौ महिनामा यो अझ बढेर करिब २९.८ प्रतिशत पुगेको छ ।
कम्पनीले उत्पादनको मूल्य पुनर्संरचना गरेपछि बिक्री र नाफामा सुधार आएको जनाइएको छ । कम्पनीको ऋणभार पनि पछिल्ला वर्षमा घटेको छ । सन् २०२४ मा कुल ऋण र खुद सम्पत्तिको अनुपात १.४ गुणा रहेकोमा सन् २०२५ मा ०.७ गुणा र सन् २०२६ मा ०.६ गुणा मा झरेको छ । त्यस्तै, कुल ऋण र सञ्चालन नाफाको अनुपात पनि सन् २०२६ मा करिब ०.८ गुणा रहेको छ ।
कम्पनीको ऋण तिर्ने क्षमतासमेत बलियो रहेको छ । कम्पनीको ऋण सेवा कभरेज रेसियो सन् २०२६ मा करिब ५.५ गुणा पुगेको छ । सन् २०२४ मा यो अनुपात १.८ गुणा मात्र रहेको थियो । ब्याज भुक्तानी क्षमतासमेत सुधारिएको छ । सन् २०२६ मा ब्याज कभरेज रेसियो करिब १४.९ गुणा रहेको छ ।
कम्पनीको तरलता व्यवस्थापनमा लाभांश वितरणको दर घट्नुले पनि सहयोग गरेको जनाइएको छ। सन् २०२३ को नाफाबाट कम्पनीले औसत नाफाको १६८ प्रतिशत बराबर लाभांश वितरण गरेको थियो। तर, सन् २०२४ र २०२५ मा लाभांश वितरणको अनुपात घटेर ४३ प्रतिशतमा आएको छ।
सन् २०२६ को नौ महिनासम्म आइपुग्दा कम्पनीसँग ड्रइङ पावरमा १२ प्रतिशत अतिरिक्त सुविधा रहेको जनाइएको छ। यसले तत्कालीन कार्यशील पुँजी तथा तरलता व्यवस्थापनमा कम्पनीलाई केही थप लचकता दिएको छ।
दुई प्रिमियम ब्रान्डमै ९१ प्रतिशत आम्दानी
यती डिस्टिलरी नेपाली मदिरा बजारमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय कम्पनी हो। सन् २००३ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका मदिरा उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। कम्पनीका प्रमुख उत्पादन ‘वर्ल्ड दरबार’ ह्विस्की र ‘८८४८’ भोड्का हुन्। यी दुवै ब्रान्डले नेपाली बजारको प्रिमियम सेग्मेन्टमा उल्लेख्य बजार हिस्सा कायम गरेको कम्पनीको दाबी छ।
कम्पनीले भोड्का, ह्विस्की, जिन तथा लो–इन्ड ७० यूपी मदिरालगायत विभिन्न प्रकारका उत्पादन गर्दै आएको भए पनि पछिल्लो समय आम्दानीको ठूलो हिस्सा सीमित प्रिमियम उत्पादनमा केन्द्रित भएको देखिन्छ।
सन् २०२६ को नौ महिनामा कम्पनीको कुल आम्दानीको ९१ प्रतिशत हिस्सा ‘वर्ल्ड दरबार’, ‘वर्ल्ड दरबार चिम्ने’ र ‘८८४८ भोड्का’ जस्ता तीन प्रिमियम उत्पादनबाट आएको छ। कम्पनीले ६–७ प्रकारका ब्रान्ड उत्पादन गरे पनि प्रमुख दुई ब्रान्डबाट आउने आम्दानीको हिस्सा विगत तीन वर्षदेखि ९० प्रतिशतभन्दा माथि रहेको जनाइएको छ।
कम्पनीले सन् २०१५ देखि प्रिमियम सेग्मेन्टमा ‘वर्ल्ड दरबार’ ह्विस्की र ‘८८४८’ भोड्का बिक्री वितरण गर्दै आएको हो। सन् २०१५ मा २५ यूपीको वर्ल्ड दरबार र त्यसको एक वर्षपछि अर्थात् सन् २०१६ मा ३० यूपीको ८८४८ भोड्का बजारमा ल्याएपछि कम्पनीले आफ्नो बजार विस्तार तीव्र बनाएको जनाएको छ।
यसअघि कम्पनीले सन् २०१५ सम्म मुख्य रूपमा ७० यूपीको मदिरा बिक्री गर्दै आएको थियो। प्रिमियम सेग्मेन्टका नयाँ उत्पादन बजारमा ल्याएपछि भने कम्पनीले देशभर आफ्नो वितरण सञ्जाल विस्तार गरेको हो। हाल कम्पनीका उत्पादन देशभर करिब १३० वटा वितरण केन्द्रमार्फत बजारमा पुग्ने गरेका छन्।
कम्पनीले २५-३० यूपीको मदिरा बिक्रीमा नेपाली बजारको ठूलो हिस्सा ओगटेको दाबी गर्दै आएको छ। प्रिमियम ब्रान्डको बजार विस्तारसँगै कम्पनीको कारोबार तथा नाफामा सुधार भएको देखिए पनि आम्दानीको अत्यधिक हिस्सा केही सीमित उत्पादनमा केन्द्रित हुनु कम्पनीका लागि भविष्यमा जोखिमको विषयसमेत हुन सक्छ।
यती डिस्टिलरीको वित्तीय अवस्थामा सुधार देखिए पनि कम्पनीले कच्चा पदार्थ खरिदका क्रममा विदेशी मुद्राको जोखिम भने बेहोर्दै आएको छ। कम्पनीले कच्चा पदार्थ खरिदका लागि युरोलगायत विदेशी मुद्रामा लामो अवधिका तथा कतिपय अवस्थामा हेज नगरिएका क्रेडिट सुविधाको प्रयोग गर्दै आएको छ।
विदेशी विनिमय दरमा हुने उतारचढावका कारण पछिल्ला वर्षमा कम्पनीको विदेशी मुद्रा नोक्सानी बढेको छ। आर्थिक वर्ष २०२६ मा यस्तो विदेशी मुद्रा नोक्सानी कम्पनीको आम्दानीको करिब ६ प्रतिशत बराबर पुगेको जनाइएको छ।
यती डिस्टिलरीको स्वामित्वमा रवि केसीको ५० प्रतिशत र अभिषेक श्रेष्ठ तथा उनको परिवारको ५० प्रतिशत हिस्सा रहेको छ । श्रेष्ठ दोस्रो पुस्ताका उद्यमी हुन् । कम्पनीले विभिन्न उत्पादनका लागि पाँचवटा प्रशोधन लाइन सञ्चालनमा राखेको छ। यी लाइनको संयुक्त बोटलिङ क्षमता दैनिक करिब ९ हजार केस रहेको विवरणमा उल्लेख छ।
कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि ५ अर्ब ७२ करोड ४ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७२ करोड ९९ लाख ७० हजार रुपैयाँ र अल्पकालीन कर्जाका लागिा ४ अर्ब ९९ करोड ४० लाख ५० हजार रुपैयाँको रेटिङ गराएको हो । यसअघि कम्पनीको कुल कर्जा सीमा ५ अर्ब ८५ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।