बालबालिकाको सुरक्षा गर्न नसकेको भन्दै न्यु मेक्सिको अदालतद्वारा मेटामाथि ५६७ मिलियन डलर जरिवाना 

बालबालिकाको सुरक्षा गर्न नसकेको भन्दै न्यु मेक्सिको अदालतद्वारा मेटामाथि ५६७ मिलियन डलर जरिवाना 

एजेन्सी : अमेरिकाको न्यु मेक्सिको राज्यको एक अदालतले सामाजिक सञ्जाल कम्पनी मेटालाई बालबालिकाको सुरक्षामा असफल भएको भन्दै थप ५६७ मिलियन अमेरिकी डलर (करिब ७८ अर्ब नेपाली रुपैयाँभन्दा बढी) जरिवाना तिर्न आदेश दिएको छ। 

न्यु मेक्सिकोका न्यायाधीश ब्रायन बिडस्चिडले मेटाका प्लेटफर्महरू-फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्स-ले बालबालिकामाथि पर्ने सम्भावित जोखिमबारे पर्याप्त चेतावनी नदिएको र हानिकारक सामग्री तथा शोषणबाट जोगाउन आवश्यक कदम नचालेको ठहर गरेका छन्। 

उनले मेटालाई एउटा यस्तो उद्योगसँग तुलना गरेका छन्, जसको उत्पादन विज्ञापन र सामग्री भए पनि त्यसबाट उत्पन्न हुने मानसिक क्षति तथा बाल यौन शोषणलाई प्रदूषण जस्तै मान्नुपर्ने बताएका छन्।

यसअघि यही मुद्दामा मेटालाई ३७५ मिलियन डलर जरिवाना तिर्न आदेश दिइएको थियो। नयाँ आदेशसँगै कम्पनीमाथिको कुल आर्थिक दायित्व ९४२ मिलियन डलर पुगेको छ।

अदालतले मेटाले तिर्नुपर्ने रकममध्ये ठूलो हिस्सा बालबालिकामा सामाजिक सञ्जालका कारण परेको मानसिक तथा व्यवहारिक असर कम गर्न प्रयोग गरिने जनाएको छ। करिब ४२० मिलियन डलर उपचार, मानसिक स्वास्थ्य सेवा तथा सम्बन्धित कार्यक्रमहरूमा खर्च गरिनेछ। साथै शिक्षक, स्वास्थ्यकर्मी र अन्य सरोकारवालालाई सामाजिक सञ्जालबाट हुने जोखिमबारे तालिम दिने काममा पनि रकम प्रयोग गरिनेछ।

न्यायाधीश बिडस्चिडले मेटालाई केही नयाँ सुरक्षा उपाय लागू गर्न पनि आदेश दिएका छन्। जसअनुसार १८ वर्षमुनिका प्रयोगकर्ताको खाता वयस्क प्रयोगकर्तालाई सिफारिस गर्न नपाइने, वयस्कले नाबालिगलाई सन्देश पठाउन नसक्ने व्यवस्था गर्नुपर्नेछ। 

त्यस्तै नाबालिग प्रयोगकर्ताबीच नग्न सामग्री पठाउने वा प्राप्त गर्ने कार्य रोक्नुपर्ने र बाल यौन शोषणमा संलग्न वयस्क प्रयोगकर्तामाथि कडा “एक पटककै गल्तीमा कारबाही” नीति लागू गर्नुपर्नेछ।

अदालतले १८ वर्षमुनिका प्रयोगकर्ताका लागि ‘लाइक’ संख्या हटाउन, राति १० बजेदेखि बिहान ७ बजेसम्म तथा विद्यालय समय ९बिदाको दिनबाहेक० मा अनावश्यक पुश नोटिफिकेसन रोक्न र फेसबुक तथा इन्स्टाग्राम प्रयोग समय महिनामा अधिकतम ९० घण्टासम्म सीमित गर्न पनि आदेश दिएको छ।

मेटाले भने अदालतको निर्णयप्रति असहमति जनाउँदै अपिल गर्ने जनाएको छ। कम्पनीका प्रवक्ताले मेटाले आफ्ना प्लेटफर्मलाई सुरक्षित बनाउन निरन्तर काम गरिरहेको र हानिकारक सामग्री तथा खराब प्रयोगकर्ताको पहिचान तथा हटाउने चुनौतीबारे पारदर्शी रहेको दाबी गरेका छन्।

यो फैसला मेटामाथि विश्वभर बढ्दै गएको कानुनी दबाबको पछिल्लो उदाहरण हो। अमेरिकामा मेटाविरुद्ध बाल सुरक्षासम्बन्धी हजारौं मुद्दा दायर भएका छन्। यसअघि लस एन्जलसमा भएको अर्को महत्वपूर्ण मुद्दामा पनि अदालतले मेटाका प्लेटफर्महरूलाई प्रयोगकर्तालाई अत्यधिक आकर्षित गर्ने र लत लाग्ने किसिमले डिजाइन गरिएको विषयमा कम्पनी जिम्मेवार हुन सक्ने फैसला गरेको थियो।

पूर्व ट्विटर (हाल एक्स) का युरोपेली उपाध्यक्ष ब्रुस डेस्लीले ५६७ मिलियन डलरको जरिवाना मेटाको ठूलो आम्दानीको तुलनामा सानो भए पनि सामाजिक सञ्जाल कम्पनीहरूमाथि विश्वभर कडा नियमन सुरु भएको बताएका छन्। मेटाले पछिल्लो त्रैमासिकमा ६१ अर्ब डलर आम्दानी गरेको थियो।

यो फैसला केवल मेटाका लागि मात्र नभई सम्पूर्ण सामाजिक सञ्जाल उद्योगका लागि चेतावनी भएको जनाइएको हो। बालबालिकाको मानसिक स्वास्थ्य, गोपनीयता र अनलाइन सुरक्षासम्बन्धी जिम्मेवारी अब प्रविधि कम्पनीहरूले बेवास्ता गर्न नसक्ने विषय बन्दै गएको छ।

यसैबीच, अमेरिकाका करिब ३० भन्दा बढी राज्यका महान्यायाधिवक्ताहरूले बाल गोपनीयता कानुन उल्लंघन गरेको आरोपमा मेटाविरुद्ध अर्को ठूलो कानुनी लडाइँ अघि बढाइरहेका छन्।  

थप समाचार