नबिल बैंकले कमायो करिब ८ अर्ब नाफा, लाभांश क्षमता कति ?

नबिल बैंकले कमायो करिब ८ अर्ब नाफा, लाभांश क्षमता कति ?

काठमाडौं : नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। 

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढेको हो। यसका साथै बैंकको इम्पेरिमेन्ट चार्ज घटेका कारण खुद नाफामा सुधार देखिएको हो।

असार मसान्तसम्म आइपुग्दा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.१८ प्रतिशतले बढेर १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी ३.२७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६.३२ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने २५.२२प्रतिशतले बढेको छ।

प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको कुल वितरणयोग्य मुनाफा ५ अर्ब १६ करोड ९१ लाख ४८ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १९.१० रुपैयाँ रहेको छ।

यस अवधिमा आइपुग्दा बैंकको खराब कर्जा भने घटेको छ । गत वर्षको असारसम्ममा ४.४८ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ४.२० प्रतिशत पुगेको छ। बैंकको इम्पेरिमेन्ट चार्ज भने ४ अर्ब २० करोड १४ लाख रुपैयाँबाट घटेर २ अर्ब ६७ करोड ७१ लाख रुपैयाँमा झरेको छ । जसका कारण नाफामा सुधार देखिएको हो ।

गत वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा बैंकको इपीएस ६.६७ रुपैयाँ बढेर २८.३६ रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ २४७.२८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १८.८६ गुणा रहेको छ।

असार मसान्तसम्म ५ अर्ब रुपैयाँ बराबरको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिती अग्राधिकार शेयर समेत ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको सञ्चित र जगेडा कोषमा ३९ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । 

थप समाचार