ग्लोबल आइएमई बैंकले कमायो ६ अर्ब २२ करोड नाफा, वितरणयोग्य मुनाफा कति ?

ग्लोबल आइएमई बैंकले कमायो ६ अर्ब २२ करोड नाफा, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा छ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.६७ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५ अर्ब सात करोड ६३ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समिक्षा अवधिमा बैंकको इम्पेरिमेन्ट चार्ज घटेका कारण खुद नाफा बढेको हो।

असार मसान्तसम्म आइपुग्दा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.८६ प्रतिशतले घटेर १६ अर्ब २० करोड ३० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी १३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २.६१ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने २०.०३ प्रतिशतले बढेको छ।

प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको कुल वितरणयोग्य मुनाफा चार अर्ब ५८ करोड १० लाख ६४ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२.०३ रुपैयाँ रहेको छ।

यस अवधिमा आइपुग्दा बैंकको खराब कर्जा भन बढेको छ । गत वर्षको असारसम्ममा ४.८६ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ४.९६ प्रतिशत पुगेको छ । यद्यपी बैंकको इम्पेरिमेन्ट चार्ज भने ५ अर्ब ९७ करोड ६९ लाख रुपैयाँबाट घटेर चार अर्ब ७८ करोड ८३ लाख रुपैयाँमा झरेको छ । जसका कारण नाफामा सुधार देखिएको हो । 

गत वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा बैंकको इपीएस ३.०२ रुपैयाँ बढेर १६.६४ रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १८३.१४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १४.६९ गुणा रहेको छ।

असार मसान्तसम्म बैंकको चुक्ता पुँजी ३६ अर्ब ११ करोड ५८ लाख रुपैयाँ कायम रहेको छ । सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी ६९ अर्ब ८० करोड ६२ लाख रुपैयाँ पुगेको छ।