काठमाडौं : सिद्धिविनायक आयल्स प्रालिको व्यापार उल्लेखनीय रुपमा बढेको छ। कम्पनीले गत आर्थिक वर्षको १० महिनामै ६ अर्ब ६ करोड ८० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको छ ।
यसअघि सन् २०२५ मा कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ९ करोड ७० लाख रुपैयाँ रहेको थियो भने । सन् २०२४ मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ४३ करोड रुपैयाँ मात्र थियो। पछिल्लो दुई वर्षमा कम्पनीको व्यापार तीव्र गतिमा विस्तार भएको छ ।
सन् २०२५ मा कम्पनीले ९ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकि अघिल्लो वर्ष कम्पनी घाटामा रहेको थियो। कम्पनीको बिक्री परिमाण वृद्धि हुँदा नाफामा सुधार भएको जनाइएको छ ।
कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२४ मा नकारात्मक रहेकोमा आर्थिक वर्ष २०२५ मा ५.०४ प्रतिशत पुगेको थियो। गत आवको १० महिनामा यो अझ सुधार हुँदै ७.२५ प्रतिशत पुगेको छ।
कम्पनीको व्यवसाय विस्तारमा भारत सरकारको खाद्य तेलसम्बन्धी नयाँ भन्सार महसुल पनि सकारात्मक प्रभाव पारेको छ। भारतले सन् २०२४ को सेप्टेम्बरदेखि कच्चा तथा प्रशोधित खाद्य तेलको आयात शुल्क संरचनामा परिवर्तन गरेपछि नेपालबाट भारततर्फ प्रशोधित खाद्य तेल निर्यात गर्ने कम्पनीहरूलाई थप अवसर सिर्जना भएको हो।
कम्पनीको उत्पादनको औसत मूल्यमा समेत सुधार आएको छ। आर्थिक वर्ष २०२४ मा प्रतिमेट्रिक टन औसत मूल्य १ लाख ५७ हजार २८८ रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०२५ मा बढेर २ लाख ७ हजार ४२३ रुपैयाँ पुगेको थियो।
गत आर्थिक वर्षकाे १० महिनामा यो मूल्य अझ बढेर २ लाख १५ हजार ६७९ रुपैयाँ पुगेको छ। उत्पादन मिश्रणमा आएको सुधार र बजारमा प्राप्त भएको राम्रो मूल्यले आम्दानी बढाउन सहयोग गरेको कम्पनीले जनाएको छ।
व्यवसाय बढेसँगै कम्पनीको नगद आम्दानी क्षमतामा पनि सुधार आएको छ। आर्थिक वर्ष २०२४ मा नगद घाटाको अवस्थामा रहेको कम्पनीले आर्थिक वर्ष २०२५ मा १५ करोड ५० लाख रुपैयाँ नगद सञ्चिति गरेको थियो।
गत आवको १० महिनामा यो रकम बढेर ३६ करोड २० लाख रुपैयाँ पुगेको छ। कम्पनीको ब्याज तिर्न सक्ने क्षमता पनि सुधार हुँदै आर्थिक वर्ष २०२५ मा २.२५ गुणा र गत आर्थिक वर्षको १० महिनामा ४६६ गुणा पुगेको छ।
सिद्धिविनायक आयल्सले इन्डोनेसिया, मलेसिया, रोमानिया, युक्रेन, अर्जेन्टिना र ब्राजिलबाट कच्चा खाद्य तेल आयात गरी नेपालमा प्रशोधन गर्दै आएको छ। कम्पनीले सोयाबिन, पाम ओलिन र सूर्यमुखी तेल प्रशोधन गरी ‘समृद्धि’ ब्रान्डमार्फत नेपाली बजारमा बिक्री गर्दै आएको छ भने भारतलगायत विदेशी बजारमा समेत निर्यात गर्दै आएको छ।
गोयन्का ग्रुप अन्तर्गत सञ्चालित कम्पनीको अध्यक्ष गोपाल गोयन्का रहेका छन् । नवलपरासी पश्चिमको रामग्राममा रहेको उद्योगबाट सञ्चालन भइरहेको कम्पनीको वार्षिक प्रशोधन क्षमता ३८ हजार ६४० मेट्रिक टन रहेको छ।
सन् २०२१ मा स्थापना भएको कम्पनीले पछिल्लो समय उत्पादन क्षमता उपयोग र बजार विस्तारमा जोड दिँदै आएको छ। कम्पनीले प्रयोग गर्ने कच्चा पदार्थको लागत कम्पनीको कुल सञ्चालन आम्दानीको करिब ९४ प्रतिशत बराबर रहेको छ।
कम्पनीको दीर्घकालीन बैंकिङ सुविधा ३७ करोड ६३ लाख रुपैयाँबाट घटाएर १९ करोड ४८ लाख रुपैयाँ कायम गरिएको छ भने अल्पकालीन बैंकिङ सुविधा २ अर्ब ७२ करोड रुपैयाँबाट बढाएर ४ अर्ब १३ करोड रुपैयाँ पुर्याइएको छ। यससँगै कम्पनीको कुल बैंकिङ सुविधा ३ अर्ब ९ करोड ६३ लाख रुपैयाँबाट बढेर ४ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ पुगेको छ।