काठमाडौं : गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले पौने १८ खर्बको व्यापार घाटा व्यहोरको छ । भन्सार विभागको तथ्यांक अनुसार असार मसान्तसम्ममा सवा २४ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापारमा नेपालले १७ खर्ब ८१ अर्ब आठ करोड ८५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।
अघिल्लो वर्षको तुलनामा व्यापार घाटा १६.६३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष नेपालले १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
यस अवधिमा नेपालको वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेको छ । असार मसातसम्म नेपालले २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी अघिल्लो वर्ष मुलुकले २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको छ । एक वर्षमा करिब २१ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने सवा तीन खर्बको वस्तु तथा सेवा निर्यात भएको छ
असारसम्म आयात १६.२० प्रतिशत र निर्यात १३.८१ प्रतिशतले बढेको छ । विभागका अनुसार यस अवधिमा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । अघिल्लो वर्ष १८ खर्ब चार अर्ब १२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यस अवधिमा तीन खर्ब १५ अर्ब २९ करोड चार लाख ७४ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।
निर्यात वृद्धिले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको संकेत गरेको छ । यद्यपी निर्यातको उच्च वृद्धि दरले पनि व्यापार घाटा कम गर्न खासै योगदान पुर्याउन सकेको छैन ।
यस अवधिमा नेपालले १६२ देशसँगको वैदेशिक व्यापार गरेको छ । जसमध्ये २८ देशसँगको व्यापार नाफामा छ भने १३४ देशसँगको व्यापार घाटामा रहेको छ ।
असारसम्म आइपुग्दा नेपालले भारतसँगको वैदेशिक व्यापारमा सबैभन्दा धेरै घाटा व्यहोरेको छ । यस अवधिमा भारतबाट १२ खर्ब १० अर्ब ६० करोड ६ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा २ खर्ब ५८ अर्ब ६५ करोड एक लाख रुपैयाँको निर्यात गरेको छ । भारतसँगको व्यापारमा नेपालले ९ अर्ब ५८ अर्ब ९५ करोड रुपैयाँ बराबरको घाटा व्यहोरेको हो ।
यस्तै चीनबाटचार खर्ब २५ अर्ब २४ करोड ७० लाख रुपैयाँ बराबरको आयात भएको छ भने एक अर्ब ८९ करोड २५ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । चीनसँगको व्यापारमा नेपाले ४ खर्ब २३ अर्ब ३५ करोड ४४ लाख रुपैयाँ बराबरको खुद घाटा व्यहोरेको छ ।