अब ५ हजार डलरसम्मको नगद विदेशी मुद्रा ल्याउँदा भन्सार घोषणा नचाहिने

अब ५ हजार डलरसम्मको नगद विदेशी मुद्रा ल्याउँदा भन्सार घोषणा नचाहिने

काठमाडौं : नेपाल राष्ट्र बैंकले अमेरिकी डलर ५,००० सम्म बराबरको नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल ल्याउन सकिने व्यवस्था पुनः स्पष्ट गरेको छ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम यसअघि जारी गरिएका सूचनालाई पुनः स्मरण गराउँदै राष्ट्र बैंकले नेपाली तथा विदेशी नागरिक दुवैले अमेरिकी डलर ५,००० बराबरसम्मको विदेशी मुद्रा (भारतीय रुपैयाँ वा अन्य विदेशी मुद्रासहित) घोषणा नगरी नेपाल भित्र्याउन सक्ने जनाएको छ।

सोभन्दा बढी रकम नगद ल्याउँदा भने अनिवार्य रूपमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था यथावत् रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले भारतीय मुद्रासम्बन्धी व्यवस्थाबारे पनि पुनः स्पष्ट पारेको छ। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सन् २०१६ नोभेम्बर ९ भन्दा अघि प्रचलनमा रहेका भारतीय रुपैयाँ ५०० र १,००० दरका नोटको कारोबार नेपालमा निषेध गरिएको छ।

त्यसैगरी, सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारतीय रुपैयाँ २०० र ५०० दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम भारतीय रुपैयाँ २५ हजारसम्म ल्याउन, लैजान तथा सटही गर्न सक्ने व्यवस्था यथावत् रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार नेपाली नागरिकले भारतबाहेक अन्य कुनै पनि मुलुकमा भारतीय रुपैयाँ लैजान वा त्यस्ता मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन भने पाउने छैनन्। यसैबीच, २०८२ भदौ १० गते प्रकाशित सूचना खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।

थप समाचार