अडानी पावरको नाफा ४२ प्रतिशतले बढ्यो, शेयर मूल्यमा भने गिरावट 

अडानी पावरको नाफा ४२ प्रतिशतले बढ्यो, शेयर मूल्यमा भने गिरावट 

नयाँ दिल्ली : अडानी पावर लिमिटेडले आर्थिक वर्ष २०२६ को पहिलो त्रैमासिक (अप्रिल–जुन) को वित्तीय नतिजा सार्वजनिक गरेको छ।

कम्पनीको कन्सोलिडेटेड (एकीकृत) खुद नाफा वार्षिक आधारमा ४२ प्रतिशतले बढेर ४ हजार ८०६ करोड भारतीय रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ हजार ३८५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको कुल आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३३ प्रतिशतले वृद्धि भई १९ हजार ३२२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १४ हजार ५७३ करोड रुपैयाँ थियो। 

सञ्चालनबाट प्राप्त हुने राजस्व पनि ३४ प्रतिशतले बढेर १८ हजार ९०१ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा सञ्चालन राजस्व १४ हजार १०९ करोड रुपैयाँ रहेको थियो।

कम्पनीले सार्वजनिक गरेको नतिजा कन्सोलिडेटेड अर्थात् एकीकृत वित्तीय विवरणमा आधारित हो, जसमा मूल कम्पनीसँगै त्यसका सहायक कम्पनी तथा इकाइहरूको समग्र वित्तीय प्रदर्शन समेटिएको हुन्छ।

वित्तीय नतिजा सार्वजनिक भएलगत्तै बुधबार शेयर बजारमा अडानी पावरको शेयर मूल्यमा भने सामान्य गिरावट देखिएको छ। कम्पनीको शेयर मूल्य करिब १.३९ प्रतिशतले घटेर २१७.३१ भारतीय रुपैयाँमा कारोबार भएको छ।

पछिल्लो एक महिनामा शेयर मूल्य करिब ७ प्रतिशतले घटे पनि पछिल्लो ६ महिनामा ५४ प्रतिशत र एक वर्षको अवधिमा ८४ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको बजार पूँजीकरण ८३.७९ हजार करोड भारतीय रुपैयाँ रहेको छ।

अडानी पावर लिमिटेडको स्थापना २२ अगस्ट १९९६ मा भएको हो। यो भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको तापीय विद्युत् उत्पादक कम्पनी हो। कम्पनीसँग हाल १५ हजार २५० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ। यसका तापीय विद्युत् आयोजना गुजरात, महाराष्ट्र, कर्नाटक, राजस्थान, छत्तीसगढ, मध्य प्रदेश र झारखण्डमा सञ्चालनमा छन्। 

साथै, गुजरातमा कम्पनीले ४० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना पनि सञ्चालन गरिरहेको छ। कम्पनीले क्योटो प्रोटोकलअन्तर्गतको क्लिन डेभलपमेन्ट मेकानिज्ममा दर्ता भएका कोइला–आधारित सुपरक्रिटिकल तापीय विद्युत् आयोजना विकास गर्दै आएको जनाएको छ।

थप समाचार