बुद्ध एयरले गर्यो साढे नौ महिनामा १० अर्बमाथिको व्यापार, रेटिङ ‘वाच लिस्ट’मा

बुद्ध एयरले गर्यो साढे नौ महिनामा १० अर्बमाथिको व्यापार, रेटिङ ‘वाच लिस्ट’मा

काठमाडौं : निजी वायुसेवा कम्पनी बुद्ध एयर प्रालिको बैंक ऋण रेटिङलाई इक्रा नेपालले ‘वाच विथ डेभलपिङ इम्प्लिकेसन्स’ मा राखेको छ । 

अन्तर्राष्ट्रिय बजारमा देखिएको पश्चिम एसिया द्वन्द्वका कारण हवाई इन्धन (एटीएफ) को मूल्यमा भएको तीव्र वृद्धिले कम्पनीको सञ्चालन लागत, यात्रु माग र नाफामा दबाब पर्न सक्ने जोखिम देखिएपछि रेटिङलाई निगरानी सूचीमा राखिएको हो ।

इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जा रेटिङ ‘एलए’ र अल्पकालीन कर्जा मूल्यांकन ‘एवान’लाई हालको अवस्थामा ‘वाच’ मा राखेको जनाएको छ । रेटिङ रिपोर्टअनुसार एटीएफको मूल्य अप्रिल २०२६ को सुरुवातदेखि उल्लेख्य रूपमा बढेपछि अघिल्लो वर्षको सोही अवधिको तुलनामा बुद्ध एयरको यात्रु संख्या करिब ३३ प्रतिशतले घटेको छ । नेपालमा पर्यटनको उच्च सिजन भए पनि इन्धन मूल्य वृद्धिका कारण हवाई भाडा बढ्दा यात्रु माग प्रभावित भएको रिपोर्टमा उल्लेख छ ।

बुद्ध एयरले चालु आर्थिक वर्ष २०२६ को साढे नौ महिनामा १० अर्ब ३१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा १३ अर्ब ६७ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०२४ मा १३ अर्ब २२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

रेटिङ दबाबमा रहे पनि कम्पनीको समग्र वित्तीय अवस्था भने सन्तोषजनक रहेको इक्राले जनाएको छ । कम्पनीले आन्तरिक आम्दानीबाट ऋण घटाउने, समय–समयमा कर्जा पूर्वभुक्तानी गर्ने र अल्पकालीन ऋणको हिस्सा घटाउने रणनीति अपनाउँदै आएको छ । जसका कारण कम्पनीको कुल ऋण तथा खुद सम्पत्तिको अनुपात सन् २०२५ को करिब १.४ गुणाबाट घटेर चालु अवधिमा १ गुणामा झरेको छ ।

कम्पनीको ऋण तिर्ने क्षमता पनि अझै बलियो रहेको रिपोर्टमा उल्लेख छ । सन् २०२६ को पहिलो ९.५ महिनामा बुद्ध एयरको ऋण सेवा कभरेज अनुपात करिब २ गुणा र कुल ऋण तथा सञ्चालन नाफाको अनुपात करिब ३.८ गुणा रहेको छ । यद्यपि, सञ्चालन नाफा मार्जिनमा आएको गिरावटका कारण यी सूचकमा केही दबाब देखिएको छ ।

बुद्ध एयरको मुख्य चुनौती भने सञ्चालन नाफामा आएको कमी बनेको छ । चालु अवधिमा कम्पनीको सञ्चालन नाफा मार्जिन ८.२ प्रतिशतमा सीमित भएको छ, जबकि सन् २०२५ मा यो १९.४ प्रतिशत थियो । इन्जिन मर्मत तथा ओभरहल खर्च अपेक्षाभन्दा बढी बढ्नु र एटीएफको मूल्य वृद्धिले कम्पनीको नाफामा असर गरेको इक्राले जनाएको छ ।

यस अवधिमा कम्पनीको यात्रु संख्या पनि अघिल्लो वर्षको तुलनामा करिब १० प्रतिशतले घटेको छ । केही विमान सञ्चालनबाट हटाइनु, इन्धनको मूल्य बढ्नु र त्यसका कारण हवाई भाडा महँगिनुले यात्रु मागमा असर परेको बताइएको छ । पछिल्ला वर्षहरूमा कम्पनीको यात्रु भार क्षमता ८३ देखि ८५ प्रतिशतको आसपास रहेको छ, जुन सन् २०२२ अघिको ९० प्रतिशतभन्दा माथिको स्तरभन्दा कम हो ।

करिब २९ वर्षदेखि सञ्चालनमा रहेको बुद्ध एयरसँग हाल १५ वटा विमान छन् । कम्पनीले एउटा एटीआर–४२ र १४ वटा एटीआर–७२ विमानमार्फत सेवा दिँदै आएको छ । सन् २०२५ मा नेपालको घरेलु हवाई यात्रु बजारमा कम्पनीको हिस्सा करिब ५७ प्रतिशत रहेको थियो । कम्पनीले आन्तरिक उडानसँगै भारतको वाराणसी र कोलकातामा अन्तर्राष्ट्रिय उडान पनि गर्दै आएको छ ।

कम्पनीको कुल बैंक ऋणमध्ये करिब ६३ प्रतिशत हिस्सा अमेरिकी डलरमा रहेको छ । तर, कम्पनीको आम्दानीमा रहेको डलर हिस्सा भने अझै महामारीअघिको स्तरमा फर्किन सकेको छैन । यसले कम्पनीमा विदेशी मुद्रा जोखिम कायम रहेको इक्राको मूल्यांकन छ ।

सन् १९९६ मा स्थापना भएको बुद्ध एयर नेपालको निजी क्षेत्रको सबैभन्दा पुरानो र ठूलो वायुसेवा कम्पनीमध्ये एक हो । कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत रहेका छन् । कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि ३ अर्ब १२ करोड ६ लाख रुपैयाँ र १ करोड ३७ लाख अमेरिकी डलर बराबरको ऋणका लागि रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२४ र २०२५ मा सञ्चित आम्दानीबाट १ प्रतिशत मात्र लाभांश वितरण गरेको थियो । दीर्घकालीन ऋणको अग्रिम भुक्तानी र अल्पकालीन ऋण घटाउने नीतिका कारण कम्पनीको पूँजी संरचना सहज अवस्थामा रहेको इक्राले जनाएको छ ।

थप समाचार