काठमाडौं : पिपुल्स हाइड्रोपावर लिमिटेडले विभिन्न कम्पनीहरुमा साढे सात करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले आफ्नो बैंक खातामा रहेको लगानीयोग्य मौज्दात रकमबाट न्यादी फिदी जलविद्युत आयोजना र जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडमा लगानी गर्ने भएको हो ।
कम्पनीको असार १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लगानी स्वीकृत गरेको हो। कम्पनीले लमजुङ्गको मस्र्याङ्दी गाउँपालिका (साविकको बाहुनडाँडा र भुलभुले) मा निर्माणाधीन न्यादी फिदी जलविद्युत आयोजना (२१.४ मेगावाट) प्रवर्द्धन गरिरहेको कम्पनीको ५ लाख कित्ता साधारण शेयर खरिद गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा उक्त आयोजनामा ५० करोड रुपैयाँ लगानी गर्नेछ। उक्त आयोजनाले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विद्युत विकास विभागबाट सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ। ्
कम्पनीले २११० मंसिर २६ सम्मको विद्युत उत्पादन अनुमतिपत्रसमेत प्राप्त गरेको छ भने सन् २०२७ नोभेम्बरसम्म व्यापारिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
यसैगरी पिपुल्स हाइड्रोपावरले कृषि तथा वनपैदावार क्षेत्रमा कार्यरत जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडमा पनि २ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १२५ रुपैयाँका दरले २ लाख कित्ता शेयर खरिद गर्न लागेको हो ।
जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई कृषि तथा वनपैदावार क्षेत्रमा लगानी र उत्पादन गर्दै आएको कम्पनी हो। कम्पनीले झापा, अर्घाखाँची, लमजुङ र पर्वतलगायत जिल्लामा कृषि उत्पादन गर्दै आएको छ।
आफ्नै ‘माटो’ ब्रान्ड तथा ‘आशापुरी अर्गानिक फार्म’ मार्फत उत्पादनको बजारीकरण गरिरहेको कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारीमा रहेको उल्लेख गरिएको छ।