काठमाडौं : ‘जगत’ ब्राण्डको दाल प्रशोधन तथा बिक्री गर्दै आएको आशीर्वाद दाल मिल्स प्रालिले सन् २०२५ मा ८५ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
उक्त रकम अघिल्लो वर्षको तुलनामा करिब ७ प्रतिशतले कम हो । कम्पनीले सन् २०२४ मा ९१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि सन् २०२३ मा कम्पनीले ८९ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
सन् २०२४ को जुनमा सरकारले दाल आयातमा १० प्रतिशत अग्रिम कर लागू गरेपछि केही महिनासम्म आयात लगभग ठप्प भएको थियो । त्यसको प्रत्यक्ष असर उद्योगको उत्पाद र बिक्रीमा परेकाले कारोबार घटेको रिपोर्टमा उल्लेख छ ।
पछि अर्थ मन्त्रालयले सन् २०२४ को नोभेम्बरमा उक्त अग्रिम करलाई १० प्रतिशतबाट घटाएर २.५ प्रतिशत मा झारेपछि आयात क्रमशः सामान्य अवस्थामा फर्किएको थियो ।
यद्यपि कम्पनीले सञ्चालनबाट नगद नाफा भने स्थिर राख्न सफल भएको छ । आर्थिक वर्ष २०२५ मा कम्पनीले एक करोड ४० लाख रुपैयाँ नगद नाफा कमाएको छ भने अघिल्लो वर्ष यो एक करोड ६० लाख रुपैयाँ रहेको थियो ।
तर, कम्पनीको सञ्चालन नाफा मार्जिन भने सन् २०२४ को ९.३५ प्रतिशतबाट घटेर ७.८१ प्रतिशतमा सीमित भएको छ । कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव, सरकारी कर नीति तथा कृषि उत्पादनको अवस्थाले कम्पनीको नाफामा प्रत्यक्ष प्रभाव पार्ने गरेको रिपोर्टमा उल्लेख छ ।
पर्साको वीरगञ्जमा प्लान्ट रहेको कमपनीले विदेशबाट कच्चा दाल आयात गरी प्रशोधनपछि ‘जगत’ ब्राण्डमा बिक्री गर्दै आएको छ । कम्पनीसँग प्रतिदिन मुङ्ग र मास दाल ३५ मेट्रिक टन तथा चना, मसुर र रहर दाल ४० मेट्रिक टन उत्पादन क्षमता रहेको छ । कम्पनीले अस्ट्रेलिया, क्यानडा, तान्जानिया र म्यानमारलगायत मुलुकबाट कच्चा दाल आयात गर्ने गर्छ ।
कम्पनीको व्यवसायमा सबैभन्दा ठूलो चुनौती भनेको अत्यधिक कार्यशील पुँजीको आवश्यकता रहेको देखिएको छ । विदेशबाट कच्चा दाल ल्याउन समुन्द्री मार्ग प्रयोग गर्नुपर्ने भएकाले नेपालसम्म आइपुग्न नौ महिनाभन्दा बढी समय लाग्ने गर्छ। यही कारण कम्पनीले ठूलो परिमाणमा मौज्दात राख्नुपर्ने बाध्यता रहेको छ ।
सन् २०२५ मा कम्पनीको औसत मौज्दात अवधि २९६ दिन पुगेको छ, जुन अघिल्लो वर्ष २७१ दिन थियो। ग्राहकलाई औसत ८३ दिन उधारो बिक्री गर्नुपर्दा तथा आपूर्तिकर्तालाई औसत ५० दिन भित्र भुक्तानी गर्नुपर्ने अवस्थाले कम्पनीको नेट सञ्चालन चक्र ३२९ दिन पुगेको छ । लामो सञ्चालन चक्रका कारण दैनिक कारोबार गर्न कम्पनी बैंक ऋणमा बढी निर्भर भएको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीको पूँजी संरचनाको अवस्था पनि अझै चुनौतीपूर्ण रहेको छ । सन् २०२५ मा कम्पनीको ओभरअल गियरिङ ३.३९ गुणा रहेको छ । यो अघिल्लो वर्षको ३.५७ गुणा भन्दा केही सुधार भए पनि अझै उच्च ऋणभार रहेको छ । कम्पनीको ब्याज तिर्न सक्ने क्षमता १.११ गुणाबाट बढेर १.२१ गुणा पुगेको छ । तर कुल ऋण र नगद आम्दानीको अनुपात भने ५०.४२ गुणा पुगेको छ ।
कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि ७४ करोड ७० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४२ करोड ६५ लाख रुपैयाँ र अल्यकालिन कर्जाका लागि ३२ करोड ५ लाख रुपैयाँ बराबरको रेटिङ गराएको हो ।
सन् २०१६ देखि सञ्चालनमा रहेको कम्पनीले ‘जगत’ ब्रान्डमार्फत मसुरो, मास, रहर, चना र मुंग दाल प्रशोधन तथा बिक्री गर्दै आएको छ । कम्पनी शिवम् अर्गनाइजेशन समूहअन्तर्गत सञ्चालनमा रहेको छ । जसले चामल, दाल, पशु तथा कुखुराको दाना, सोया नगेट, मसला तथा कृषि वस्तुको व्यवसाय गर्दै आएको छ ।
कम्पनीका अध्यक्ष शिवाजी प्रसाद शाह कलवार कृषि तथा उद्योग क्षेत्रका अनुभवी व्यवसायीका रूपमा परिचित छन् भने प्रबन्ध निर्देशक प्रमोद कुमार शाहले पनि समूहका अन्य उद्योगहरूको नेतृत्व गर्दै आएका छन्।