Below Menu
Below Menu

नाफा ४ गुणाले बढ्दा पनि मारुती सिमेन्ट किन पर्यो ‘नेगेटिभ वाच’ मा ? 

नाफा ४ गुणाले बढ्दा पनि मारुती सिमेन्ट किन पर्यो ‘नेगेटिभ वाच’ मा ? 

काठमाडौं : मारुती सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको नौ महिनामा तीन अर्ब ८७ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.८३ प्रतिशत कम हो । कम्पनीले सन् २०२५ को नौ महिनामा ३ अर्ब ९८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । 

कम्पनीले सन् २०२५ मा ५ अर्ब ९३ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने यसअघि सन् २०२४ मा ४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यस अवधिमा सिमेन्ट र क्लिंकरको बिक्री बढेका कारण कम्पनीको व्यापार बढेको उल्लेख छ ।

यसका साथै कम्पनीको व्यापार बढेसँगै सञ्चालन नाफा मार्जिन पनि बढेको छ । सन् २०२४ मा १०.३८ प्रतिशत रहेको नाफा मार्जिन सन् २०२५ मा बढेर २०.८६ प्रतिशत पुगेको थियो । चालु आवको नौ महिनामै यस्तो मार्जिन ३१.१७ प्रतिशत कायम रहेको छ । उत्पादन लागत घटेका कारण कम्पनीको सञ्चालन नाफा उल्लेख्य रुपमा बढेको कम्पनीले जनाएको छ । 

यसगैरी कम्पनीको खुद नाफा एक वर्षमै झण्डै चार गुणाले बढेर ७० करोड २० लाख रुपैयाँ पुगेको छ । जबकी अघिल्लो वर्ष यो नाफा १७ करोड ९० लाख रुपैयाँ रहेको थियो । कम्पनीको कुल नगद सञ्चिति पनि सन् २०२४ को ३३ करोड ८० लाख रुपैयाँबाट बढेर सन् २०२५ मा ९६ करोड ३० लाख रुपैयाँ पुगेको छ । 

कम्पनीको ऋण भार पनि तुलनात्मक रूपमा सहज अवस्थामा रहेको देखिन्छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको समग्र गियरिङ अनुपात ०.६३ गुणा मात्रै रहेको छ । 

सन् १९९४ मा स्थापना भएको मारुती सिमेन्ट राठी र गोयल समूहद्वारा प्रवद्र्धित उद्योग हो । हाल कम्पनीका सम्पूर्ण शेयर प्रवर्द्धकहरूको स्वामित्वमा रहेका छन्। कम्पनीको अध्यक्षमा अनुज राठी रहेका छन् ।

कम्पनीले मारुती ब्रान्ड नाममा ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीसँग दैनिक ३,३०० मेट्रिक टन क्लिंकर उत्पादन क्षमता तथा दैनिक ४,००० मेट्रिक टन सिमेन्ट ग्राइन्डिङ (पिसाइ) क्षमता रहेको छ। कम्पनीले करिब २०० डिलरमार्फत कम्पनीले आफ्नो उत्पादन बिक्री गर्दै आएको छ ।

कम्पनीको उत्पादन केन्द्र सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ। आफ्नै क्लिंकर उत्पादन क्षमता, चुनढुंगा स्रोतको पहुँच तथा आधुनिक उत्पादन पूर्वाधारका कारण कम्पनीले नेपाली सिमेन्ट बजारमा बलियो उपस्थिति कायम राख्न सफल भएको छ। विशेषगरी पूर्वी नेपालमा ‘मारुती’ ब्रान्डले राम्रो बजार पहिचान बनाएको छ।

कम्पनीले कुल बैंकिङ सुविधाका लागि ५ अर्ब ३२ करोड ५९ लाख रुपैयाँको कर्जा रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जा ३ अर्ब ५१ करोड ४० लाख रुपैयाँ रहेको छ भने अल्पकालीन कर्जा एक अर्ब ८१ करोड १९ लाख रुपैयाँ रहेको छ 

मारुती सिमेन्टको झण्डै ५७ करोड ५० लाख रुपैयाँ बराबरको पुरानो विद्युत् महसुल विवाद कायमै छ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड ट्रंक लाइन महसुल वापत अतिरिक्त शुल्क दाबी गरेको विषय अझै विवादकै अवस्थामा रहेकाले कम्पनीको वित्तीय अवस्था र तरलतामा सम्भावित प्रभावबारे स्पष्टता आउन बाँकी छ। यो रकम भुक्तानी गर्नुपर्ने अवस्था आएमा कम्पनीको नाफामा असर पर्न सक्ने देखिएको रिपोर्टमा उल्लेख छ । 

उक्त विषय अदालतमा विचाराधीन रहेकाले अन्तिम निर्णय नआएसम्म कम्पनीको रेटिङ निगरानीमा राखिएको रेटिङ एजेन्सीले जनाएको छ। 

यसका साथै कम्पनीले सर्वसाधारणमा प्रिमियममा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले प्रतिकित्ता ३७७ रुपैयाँ दरमा एक करोड १६ लाख कित्ता बराबरको ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।  

Advertisment

थप समाचार