काठमाडौं : भारत सरकारले व्यावसायिक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा वृद्धि गरेको छ। जुन १ देखि लागू हुने गरी गरिएको नयाँ मूल्य समायोजन अनुसार व्यावसायिक प्रयोगमा आउने ग्यास सिलिन्डरहरू औसत ५३.५० रुपैयाँले महँगो भएका छन्।
भारतमा हाल १९ किलोग्राम क्षमताको व्यावसायिक एलपीजी सिलिन्डर पहिले ३,०७१.५० रुपैयाँमा बिक्री हुँदै आएकोमा अब यसको मूल्य ३,१२५ रुपैयाँ पुगेको छ।
मूल्यवृद्धिको प्रत्यक्ष असर विशेषगरी होटल, रेस्टुरेन्ट, क्याटरिङ सेवा, चिया पसल तथा अन्य खाद्य व्यवसायमा पार्ने देखिएको छ। व्यावसायिक ग्यास ती क्षेत्रमा मुख्य ऊर्जा स्रोतका रूपमा प्रयोग हुने भएकाले यसको लागत बढ्दा समग्र सञ्चालन खर्च पनि बढ्नेछ।
व्यवसायीहरूले यो अतिरिक्त लागत उपभोक्तामाथि सार्ने सम्भावना रहने हुँदा चिया, खाजा, खाना तथा विवाह–पार्टी जस्ता खानपान सेवाको मूल्यसमेत बढ्न सक्ने अनुमान गरिएको छ।
त्यसैगरी, ५ किलोग्राम क्षमताको फ्री–ट्रेड एलपीजी सिलिन्डरको मूल्य पनि ११ रुपैयाँले वृद्धि गरिएको छ। पहिले ८१०.५० रुपैयाँमा उपलब्ध रहेको यो सिलिन्डर अब ८२१.५० रुपैयाँ पुगेको छ। ठेगाना प्रमाणपत्र बिना पनि खरिद गर्न सकिने भएकाले यो प्रकारको सानो सिलिन्डर विद्यार्थी, आप्रवासी कामदार, एकल बसोबास गर्ने व्यक्ति तथा साना व्यवसायीहरूबीच निकै लोकप्रिय मानिन्छ।
यद्यपि नियमित घरेलु जडानअन्तर्गत उपलब्ध हुने समान क्षमताको सिलिन्डरको मूल्य भने यथावत् ३३९ रुपैयाँमै राखिएको छ। साथै १४।२ किलोग्राम क्षमताको घरेलु एलपीजी सिलिन्डरको मूल्यमा कुनै परिवर्तन गरिएको छैन, जसले सामान्य घरपरिवारलाई तत्काल केही राहत प्रदान गरेको छ।
यसैबीच भारत सरकारले आजैदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा हवाई इन्धन (एटीएफ) मा लागू हुने निर्यात शुल्क पनि संशोधन गरेको छ। नयाँ व्यवस्थाअनुसार पेट्रोलमा प्रतिलिटर १.५ रुपैयाँ, डिजेलमा १३.५ रुपैयाँ र एटीएफ (विमान इन्धन) मा ९.५ रुपैयाँ निर्यात शुल्क कायम गरिएको छ।
यद्यपि, घरेलु बजारमा बिक्री हुने पेट्रोल र डिजेलमा लाग्ने अन्तःशुल्क दर यथावत् राखिएकाले भारतीय उपभोक्ताले इन्धनको मूल्यमा तत्काल कुनै असर नपर्ने जनाइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा प्रशोधित इन्धनको मूल्यमा आएको उतारचढावलाई ध्यानमा राख्दै भारत सरकारले यी दरहरू प्रत्येक १५ दिनमा परिमार्जन गर्दै आएको छ।
Advertisment