Below Menu
Below Menu

सरकारी मौज्दात ५७ प्रतिशतले बढ्यो, बजारमा करिब आठ खर्ब नगद प्रवाह

सरकारी मौज्दात ५७ प्रतिशतले बढ्यो, बजारमा करिब आठ खर्ब नगद प्रवाह

काठमाडौं : चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आइपुग्दा बजारमा नगद प्रवाह उल्लेख्य रूपमा बढेको छ। राष्ट्र बैंकका अनुसार यस अवधिसम्म चलनचल्तीमा रहेको नगद सात खर्ब ९१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।

गत असार मसान्तमा यस्तो रकम सात खर्ब ५० अर्ब ११ करोड रुपैयाँ रहेको थियो। यसबीच नगद प्रवाहमा ५.४८ प्रतिशत वृद्धि भएको देखिएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले आर्थिक गतिविधिमा विस्तार हुँदै गएको देखिएको छ। बजारमा नगद प्रवाह बढ्नुका साथै सरकारी ढुकुटीको मौज्दात, सरकारी निक्षेप तथा राष्ट्र बैंकको समग्र दायित्वमा समेत उल्लेख्य वृद्धि भएको छ।

सरकारी खाताको मौज्दात बैशाखसम्म १० खर्ब २८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। गत असारमा यस्तो मौज्दात ६ खर्ब ५४ अर्ब ५ करोड रुपैयाँ मात्रै थियो। सरकारी खाताको मौज्दातमा ५७.२६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

बैंक तथा वित्तीय संस्थामा रहेको सरकारी निक्षेप पनि उल्लेख्य रूपमा बढेको छ। बैशाख मसान्तसम्म यस्तो निक्षेप तीन खर्ब ७८ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ, जबकि गत असारसम्म यो ७० अर्ब ८३ करोड रुपैयाँ मात्रै थियो। यस अवधिमा सरकारी निक्षेप तीन खर्ब सात अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको हो।

त्यसैगरी, सरकारको सरप्लस मौज्दात सात अर्ब रुपैयाँ पुगेको छ। गत असारमा यस्तो मौज्दात ४२ अर्ब रुपैयाँ रहेको थियो। कर्मचारी पेन्सन तथा अन्य सुविधा वापतको दायित्व नौ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ भने अन्य दायित्व तीन अर्ब ४३ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको विदेशी विनिमय रिजर्भमा पनि उल्लेख्य सुधार देखिएको छ। बैशाखसम्म रिजर्भ १० खर्ब ५४ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। गत असारमा यस्तो रिजर्भ छ खर्ब ७१ अर्ब रुपैयाँ रहेको थियो। यद्यपि राष्ट्र बैंकको चुक्ता पुँजी भने पाँच अर्ब रुपैयाँमै स्थिर रहेको छ।

यस अवधिमा राष्ट्र बैंकको कुल दायित्व पनि उल्लेख्य रूपमा बढेको छ। बैशाख मसान्तसम्म कुल दायित्व ३६ खर्ब ८९ अर्ब २० करोड रुपैयाँ पुगेको छ। गत असारमा यस्तो दायित्व २६ खर्ब ७१ अर्ब २३ करोड रुपैयाँ थियो।

विदेशी मुद्रामा रहेका दायित्व पनि बढेर ५४ अर्ब ३५ करोड रुपैयाँ पुगेका छन्। असार मसान्तमा यस्तो दायित्व ५१ अर्ब ७३ करोड रुपैयाँ थियो। यीमध्ये बैंक तथा वित्तीय संस्थाको निक्षेप आठ अर्ब ४८ करोड रुपैयाँ रहेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०सँग सम्बन्धित दायित्व ४५ अर्ब ८७ करोड रुपैयाँ रहेको छ।

स्थानीय मुद्रामा रहेका दायित्वतर्फ अझ तीव्र वृद्धि देखिएको छ। बैशाख मसान्तसम्म स्थानीय मुद्रामा रहेका कुल दायित्व २५ खर्ब ७५ अर्ब ६० करोड रुपैयाँ पुगेका छन्। गत असारमा यस्तो दायित्व १९ खर्ब ४३ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो।

Advertisment

थप समाचार