बैंकका कर्मचारीलाई अब अतिरिक्त समयको थप पारिश्रमिक अनिवार्य गर्न राष्ट्र बैंकको सर्कलुर

बैंकका कर्मचारीलाई अब अतिरिक्त समयको थप पारिश्रमिक अनिवार्य गर्न राष्ट्र बैंकको सर्कलुर

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको अतिरिक्त श्रम तथा सेवा सुविधासम्बन्धी व्यवस्थामा कडाइ गर्दै नयाँ संशोधित व्यवस्था लागू गरेको छ। 

शुक्रबार जारी गरिएको एकीकृत निर्देशन २०८२ को संशोधनमार्फत केन्द्रीय बैंकले अब कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने तथा कुनै पनि कर्मचारीलाई जबर्जस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने स्पष्ट व्यवस्था गरेको हो।

यसअघि निर्देशन नं. १४ को बुँदा नं.३ मा बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको कार्यसमयअनुसार आफ्नो सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था मात्र उल्लेख थियो। 

राष्ट्र बैंक खुलेको दिन र समयमा बैंकिङ कारोबार सञ्चालन गर्नुपर्ने तथा आवश्यक परे अतिरिक्त समय वा सार्वजनिक बिदामा सञ्चालन गर्दा सम्बन्धित विभागलाई जानकारी दिनुपर्ने प्रावधान थियो। तर कर्मचारीलाई अतिरिक्त समयमा काम गराउँदा पारिश्रमिक, श्रम अधिकार वा ओभरटाइमसम्बन्धी स्पष्ट व्यवस्था भने उल्लेख गरिएको थिएन।

संशोधित व्यवस्थाअनुसार इजाजतपत्रप्राप्त संस्थाले कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त परिश्रमिक प्रदान गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

साथै इजाजतपत्रप्राप्त संस्थाले आफ्ना कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा निरक्षर सेवाग्राहीका लागि विशेष प्राथमिकतासहित छुट्टै काउन्टरमार्फत सेवा दिनुपर्ने व्यवस्था गरिएको छ। साथै बैंक तथा वित्तीय संस्थाले सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा अपाङ्गमैत्री शाखा स्थापना गर्नुपर्नेछ र त्यस्तो शाखाको विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ।

त्यस्तै, एटिएम लाउञ्ज भएका स्थानमा दृष्टिविहीन तथा अपाङ्गमैत्री सुविधा भएका एटिएम राख्नुपर्ने, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले पनि सहज रूपमा प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने तथा डेबिट–क्रेडिट कार्डमा दृष्टिविहीनमैत्री सुविधा समावेश गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

थप समाचार