काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया दिँदै डिजिटल प्ल्याटफर्मलाई अर्थतन्त्रसँग जोड्ने सरकारी पहलको स्वागत गरेकी छन्। बुधबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो कदमले सूचना प्रविधि र डिजिटल क्षेत्रमा सक्रिय युवामा नयाँ उत्साह थपेको बताइन्।
संसदमा बोल्दै उनले नेपालको अर्थतन्त्र अझै पनि रेमिट्यान्समा अत्यधिक निर्भर रहेको उल्लेख गरिन्। देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब २८ प्रतिशत हिस्सा रेमिट्यान्सबाट धानिएको अवस्थामा पनि धेरै नेपाली युवा रोजगारीका लागि विदेशिन बाध्य हुनु परेको भन्दै उनले चिन्ता व्यक्त गरिन्।
उनले बेरोजगारी दरलाई ५ प्रतिशतमा झार्ने १६औँ योजनाको लक्ष्य हासिल गर्न कृषि र उद्यमशीलतामा युवाको आकर्षण बढाउनुपर्नेमा जोड दिइन्। नेपालमै उत्पादन हुने तरकारी, खाद्यान्न तथा सम्भावना बोकेका अन्य वस्तुहरूले बजार नपाइरहेको र सीमापारिबाट सस्ता सामान आयात हुँदा स्वदेशी उत्पादन प्रभावित भएको उनको भनाइ थियो।
यस समस्याको समाधानका लागि करको दर र दायरामा आवश्यक परिमार्जन गर्दै स्वदेशी उत्पादनलाई संरक्षण र प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्न उनले सरकारसँग आग्रह गरिन्।
क्षेत्रीले युवा प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकारले लिने नीति र मार्गदर्शनले देशका हरेक युवा र उद्यमीका लागि भरोसाको आधार बन्नुपर्ने अपेक्षा व्यक्त गर्दै सरकारलाई परिणाममुखी कदम चाल्न आग्रह गरिन्।
Advertisment