काठमाडौं : अग्नि सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले सन् २०२५ मा ५८ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा करिब ४६ प्रतिशतले बढी हो ।
कम्पनीले सन् २०२४ मा ३९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा ६७ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । यस अवधिमा सिमेन्ट र क्लिंकरको बिक्री बढेका कारण कम्पनीको व्यापार बढेको उल्लेख छ ।
कम्पनीले चालु आर्थिक वर्षको आठ महिनामा ११ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरिसकेको छ ।
यद्यपी व्यापार बढेपनि कम्पनीको नाफा मार्जिन भने घटेको छ । सन् २०२४ मा १२.२६ प्रतिशत रहेको नाफा मार्जिन सन् २०२५ मा घटेर ३.४५ प्रतिशतमा झरेको छ । कम्पनीको सञ्चालन नाफा ४ करोड ९० लाख रुपैयाँबाट घटेर २ करोड रुपैयाँमा झरेको छ । उत्पादन लागत बढेका कारण सञ्चालन नाफा घटेको कम्पनीले जनाएको छ ।
यसका साथै कम्पनीको नगद सञ्चिति पनि घटेको छ । अघिल्लो वर्ष दुई करोड १० लाख रुपैयाँ रहेको नगद सञ्चिति सन् २०२५ मा घटेर एक करोड ८० लाख रुपैयाँमा झरेको छ ।
यस अवधिमा कम्पनीको समग्र गियरिङ अनुपात ३.१२ गुणाबाट घटेर २.३० गुणामा झरेको छ । ऋण–इक्विटी अनुपात पनि सुधारिएको छ । तर ब्याज तिर्ने क्षमता भने कमजोर नै रहेको छ । सन् २०२५ मा कम्पनीको ब्याज कभरेज अनुपात ०.३३ गुणा रहेको छ । जुन सञ्चालन नाफामा आएको गिरावटका कारण हो ।
उद्योगको अध्यक्षमा कृष्णप्रसाद पोखरेल र प्रबन्ध सञ्चालकमा ताराप्रसाद पोखरेल छन् ।
सन् २०१३ मा स्थापना भएको कम्पनी सन् २०२२ मा उद्योग पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ । दैनिक ९०० मेट्रिक टन उत्पादन क्षमता भएको ग्राइन्डिङ प्लान्टमार्फत पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
अग्नि सिमेन्टले डिसेम्बर २००९ मा दैनिक ६०० मेट्रिक टन क्षमता भएको सिमेन्ट ग्राइन्डिङ प्लान्ट सञ्चालनमा ल्याएको थियो। बजार माग र उत्पादन विस्तारलाई ध्यानमा राख्दै कम्पनीले मे २०१८ मा उत्पादन क्षमता वृद्धि गरी ९०० मेट्रिक टन प्रतिदिन पु¥याएको हो ।
कम्पनीले कुल बैंकिङ सुविधाका लागि एक अर्ब पाँच करोड रुपैयाँको कर्जा रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जा बढेर ५४ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने अल्पकालीन कर्जा ५० करोड ४१ लाख रुपैयाँ रहेको छ ।
Advertisment