Below Menu
Below Menu

शुभश्री जगदम्बा सिमेन्टको वित्तीय अवस्थामा उल्लेख्य सुधार, आम्दानी दोब्बर नजिक

शुभश्री जगदम्बा सिमेन्टको वित्तीय अवस्थामा उल्लेख्य सुधार, आम्दानी दोब्बर नजिक

काठमाडौं : नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनीमध्ये एक शुभश्री जगदम्बा सिमेन्ट मिल प्रालिले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय अवस्था उल्लेखनीय रूपमा सुधार भएको देखिएको छ ।

सौरभ समूहअन्तर्गत सञ्चालन हुने र सन् २००७ मा स्थापना भई सन् २०२४ जुलाईदेखि पब्लिक लिमिटेडमा रूपान्तरण भएको यस कम्पनीले पर्साको वीरगञ्ज–३२, चोर्नीस्थित प्लान्टमार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२४ मा सञ्चालन आम्दानी एक अर्ब ९० करोड ३० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०२५ मा यो बढेर तीन अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यसले एक वर्षमै आम्दानी लगभग दोब्बर भएको देखाउँछ ।

सञ्चालन नाफापनि ३.१ प्रतिशतबाट बढेर ४.४ प्रतिशत पुगेको छ । साथै, ऋण र नेट वर्थ अनुपात १.३ बाट घटेर ०.५ मा झरेकोले कम्पनीको वित्तीय संरचना बलियो भएको संकेत गर्छ ।

त्यस्तै, ब्याज कभरेज अनुपात ०.५ बाट २.७ मा पुगेको छ, जसले कम्पनीले आफ्नो ऋणको ब्याज तिर्ने क्षमता उल्लेखनीय रूपमा सुधार गरेको देखाउँछ । प्रतिवेदन अनुसार यस कम्पनीको दैनिक ग्राइन्डिङ क्षमता करिब २,४०० मेट्रिक टन रहेको छ । यसले ओपिसी, पिपिसी/पिएससी गरी तीन प्रकारका सिमेन्ट उत्पादन गर्दै आएको छ ।

आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामा कम्पनीले १ अर्ब ५५ करोड ५० लाख रुपैयाँको कारोबार गरिसकेको छ, जसले चालू वर्षमा पनि सुधारको गति कायम रहने अपेक्षा गरिएको छ ।

कम्पनीको मुख्य चुनौती भने तरलता रहेको छ । कार्यशील पूँजीको आवश्यकता उच्च रहेको र ऋणको अवधि बढ्दा नगद प्रवाहमा दबाब परेको देखिएको छ । आर्थिक वर्ष २०२६ को मध्यसम्म कार्यशील पूँजी अनुपात करिब ५२ प्रतिशत पुगेको छ, जसका कारण बैंकबाट लिइने क्रियाशील पूँजी ऋण बढेको छ ।

त्यसैबीच, कम्पनीले अल्पकालीन आवश्यकताका लागि सञ्चालक तथा समूहभित्रका कम्पनीबाट ऋण लिनुपरेको अवस्था पनि देखिएको छ । यसले पूँजी संरचनामा दबाब सिर्जना गर्दै कुल ऋण अनुपात १०.९ गुणासम्म पुगेको छ । कम्पनीको ब्याज तिर्ने क्षमता आर्थिक वर्ष २०२५ मा २.७ गुणा र चालू वर्षको पहिलो छ महिनामा २.४ गुणा रहेको छ, जसले मध्यम स्तरको ऋण वहन क्षमता देखाउँछ ।

नेपालको सिमेन्ट उद्योगमा उच्च प्रतिस्पर्धा, माग-आपूर्ति असन्तुलन तथा आर्थिक चक्रको प्रभावले कम्पनीको भविष्यमा जोखिम कायम रहेको प्रतिवेदनमा उल्लेख छ । कच्चा पदार्थको मूल्य वृद्धि वा सिमेन्टको मूल्य घट्दा नाफामा असर पर्न सक्ने जोखिम पनि औंल्याइएको छ ।

Advertisment

थप समाचार