Below Menu
Below Menu

कच्चा तेल प्रति ब्यारेल ७२ डलरमा झर्दा पनि नेपालमा किन घट्दैन तत्काल मूल्य ? 

कच्चा तेल प्रति ब्यारेल ७२ डलरमा झर्दा पनि नेपालमा किन घट्दैन तत्काल मूल्य ? 

नयाँ दिल्ली : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य इरान–अमेरिका तनाव सुरु हुनुअघिकै स्तरमा फर्किएको छ। विश्व बजारको प्रमुख सूचक ब्रेन्ट कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल करिब ७२ अमेरिकी डलरमा स्थिर भएको हो।

यो मूल्य इरानसँगको तनाव चुलिनुअघि रहेको स्तरकै आसपास पुगेको मानिएको छ। यससँगै विश्व बजारमा इन्धनको मूल्य घट्ने अपेक्षा बढे पनि भारत र नेपालका उपभोक्ताले भने तत्काल राहत पाउने सम्भावना कम रहेको ऊर्जा क्षेत्रका विज्ञहरूले बताएका छन्।

इरान र अमेरिकाबीच भएको तनावका कारण केही साताअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको थियो। तर पछिल्लो समय दुई देशबीच वार्ताको वातावरण बनेपछि बजारमा अनिश्चितता घट्दै गएको छ। 

विशेषगरी इरानी तेल निर्यातमा लगाइएका केही प्रतिबन्धहरू खुकुलो बनाइएपछि विश्व बजारमा तेल आपूर्ति सहज हुन थालेको छ। यसैको प्रभावस्वरूप विश्वकै अत्यन्त महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने होर्मुज जलडमरू हुँदै गुज्रने तेलवाहक जहाजहरूको संख्या पनि पुनः बढ्न थालेको छ। 

सोमबारयता करिब ८० जहाज उक्त मार्गबाट आवतजावत गरिसकेका छन्, यद्यपि यो संख्या द्वन्द्वअघि दैनिक १०० भन्दा बढी जहाज आवतजावत गर्ने अवस्थाभन्दा अझै कम हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि त्यसको प्रत्यक्ष प्रभाव पेट्रोल पम्पसम्म पुग्न भने समय लाग्ने ऊर्जा विज्ञहरूको भनाइ छ। भारतका ऊर्जा विज्ञ नरेन्द्र तनेजाका अनुसार अहिले बजारमा खरिद भइरहेको पेट्रोलियम पदार्थ उत्पादनका लागि प्रयोग हुने कच्चा तेल भने अझै उच्च मूल्यमा खरिद गरिएको हो। भारतीय रिफाइनरीहरूले हाल प्रशोधन गरिरहेको तेलको लागत प्रति ब्यारेल करिब ७५ डलर बराबर परेको उनले बताए।

उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा अहिले ७२ डलरमा किनिएको कच्चा तेल उपभोक्तासम्म आइपुग्न करिब साढे दुई महिना लाग्छ। उत्पादक देशका बन्दरगाहमा तेल लोड गर्न १५ देखि २० दिन लाग्ने, त्यसपछि भारतीय बन्दरगाहसम्म समुद्री ढुवानीमा थप ५५ देखि ६० दिन लाग्ने तथा त्यहाँबाट रिफाइनरी, भण्डारण केन्द्र हुँदै पेट्रोल पम्पसम्म पुर्‍याउन थप समय आवश्यक पर्ने भएकाले सम्पूर्ण प्रक्रिया करिब ७५ देखि ८० दिनमा पूरा हुने उनको भनाइ छ।

यति मात्र होइन, अन्तर्राष्ट्रिय मूल्य घटेकै आधारमा पेट्रोल र डिजेलको खुद्रा मूल्य तुरुन्तै घट्ने सम्भावना पनि कम रहेको तनेजाले बताए। उनका अनुसार हाल भारतीय तेल विपणन कम्पनीहरूले पेट्रोल र डिजेल बिक्रीमा प्रतिलिटर करिब ७.५ भारतीय रुपैयाँ बराबरको घाटा व्यहोर्दै आएका छन्। 

सरकारले यसअघि उत्पादन शुल्क पनि प्रतिलिटर १० रुपैयाँले घटाएको थियो। त्यसैले कम्पनीहरूले पहिले आफ्नो वित्तीय घाटा पूर्ति गर्न प्रयास गर्ने र त्यसपछि मात्रै मूल्य समायोजन गर्ने सम्भावना बढी रहेको उनको विश्लेषण छ।

यदि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अहिलेको जस्तै स्थिर रह्यो भने अगस्टको अन्तिम सातादेखि सेप्टेम्बरको सुरुआतसम्म इन्धनको मूल्यमा केही राहत देखिन थाल्ने जनाइएको छ । विशेषगरी नेपालीहरूको महान् चाड दशैंको आसपास पेट्रोल र डिजेलको खुद्रा मूल्य घट्ने सम्भावना रहेको अनुमान गरिएको छ।

नेपालमा इन्धनको मूल्य प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय बजारसँग मात्र होइन, भारतबाट हुने आयात मूल्यसँग पनि जोडिएको छ। त्यसैले भारतमा नयाँ मूल्य लागू भएपछि मात्र त्यसको प्रभाव नेपाल आयल निगमको खरिद लागतमा देखिनेछ। 

परिणामस्वरूप अन्तर्राष्ट्रिय बजारमा अहिले आएको मूल्य गिरावटको लाभ नेपाली उपभोक्ताले पनि केही महिनापछि मात्र लिन सक्ने सम्भावना रहेको छ । 

Advertisment