काठमाडौं : नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष तथा युवा व्यवसायी सागर ढकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित भएका छन्। महासंघको मंगलबार सम्पन्न निर्वाचनमा ढकाल वस्तुगत तर्फबाट दोस्रो उच्च मत प्राप्त गर्दै कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित भएका हुन्।
निर्वाचनमा विजयी भएसँगै ढकालले आफूलाई मत दिई विजयी गराउने सम्पूर्ण मतदाता तथा समर्थकहरूप्रति आभार व्यक्त गरेका छन्। उनले भनेका छन्, “उद्योग वाणिज्य महासंघ (वस्तुगत समूह) को केन्द्रीय कार्यकारी सदस्यमा मलाई विजयी गराउनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। यहाँहरूको अमूल्य मत, विश्वास र समर्थनका लागि म अत्यन्त आभारी छु। आगामी दिनहरूमा साझा उद्देश्य प्राप्तिका लागि इमानदारी र समर्पणका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
व्यवसायमैत्री वातावरण निर्माण, नीति सुधार, सरकारी तथा निजी क्षेत्रबीच सहकार्य अभिवृद्धि, लगानीको वातावरण सहज बनाउने तथा उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिने ढकालले बताए। साथै, साना तथा मझौला उद्यमलाई सशक्त बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रका साझा आवाजलाई मजबुत बनाउनेतर्फ पनि आफ्नो भूमिका केन्द्रित रहने बताए।
ढकालले आफ्नो कार्यकालमा महासंघलाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी संस्थाको रूपमा अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता जनाउँदै सम्पूर्ण सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
Advertisment