काठमाडौं : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरणमा उल्लेख्य सुधार देखाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्री र खुद नाफा दुवैमा सकारात्मक वृद्धि देखिएको हो । विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १७ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९४ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको चैत मसान्तसम्म कम्पनीको यस्तो आम्दानी १३ करोड ७ लाख रुपैयाँ मात्र थियो । कम्पनीको खुद नाफामा पनि १३.८२ प्रतिशतको सुधार आएको छ । यस अवधिमा कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आम्दानीमा भएको वृद्धि र वित्तीय खर्चमा २३.३१ प्रतिशतले आएको कमीले नाफा बढाउन मुख्य भूमिका खेलेको देखिन्छ । वित्तीय सूचकहरू तर्फ, कम्पनीको प्रतिशेयर आम्दानी ३१ पैसाले बढेर २ रुपैयाँ ५६ पैसा कायम भएको छ । त्यसैगरी, प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५७.१४ गुणा देखिएको छ । हाल २ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष (अन्य इक्विटी) भने अझै १५ करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । आम्दानी र नाफामा आएको यो सुधारले लगानीकर्ताहरूमा सकारात्मक आशा जगाएको छ ।
Advertisment