Below Menu
Below Menu

धादिङको थाक्रेमा सवा एक अर्बको चार तारे ‘द निलय होटल्स’ खुल्दै, आईपीओ पनि जारी गर्ने 

धादिङको थाक्रेमा सवा एक अर्बको चार तारे ‘द निलय होटल्स’ खुल्दै, आईपीओ पनि जारी गर्ने 

काठमाडौं : धादिङको थाक्रेमा निजी लगानीमा चारतारे स्तरको ‘द निलय होटल्स लिमिटेड’ सञ्चालनमा आउने तयारीमा छ। पृथ्वी राजमार्गसँगै अवस्थित यस परियोजनाको पूर्वाधार निर्माण तीव्र गतिमा अघि बढिरहेको छ । 

होटल निर्माणका लागि एक अर्ब २३ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। परियोजनामा ४३ प्रतिशत बैंक ऋण र ५७ प्रतिशत संस्थापकहरूको स्वपुँजी (इक्विटी) रहने गरी लगानी संरचना तयार गरिएको छ।

कुल ५२ कोठा रहने यस होटलको निर्माण दुई चरणमा सम्पन्न गरिनेछ। पहिलो चरणको काम अन्तर्गत ३८ कोठा निर्माण भइरहेका छन्। तीमध्ये चार वटा स्वीट, तीन वटा एक्जुकेटिभ, २६ वटा डिलक्स र पाँच वटा स्ट्यान्डर्ड कोठा समावेश छन्। दोस्रो चरणमा १४ वटा भिल्ला शैलीका आवास निर्माण गरिनेछ । दोस्रो चरणको काम हाल प्रारम्भिक अवस्थामा रहेको कम्पनीले जनाएको छ।

होटलमा स्विमिङ पुल, सम्मेलन तथा बैंक्वेट हल, हेल्थ क्लबजस्ता आधुनिक सुविधा रहनेछन्। साथै, कृषि–पर्यटन, वेलनेस कार्यक्रम, बुटिक वाइनरी, अंगुर खेती र गल्फ कोर्सजस्ता विशिष्ट आकर्षणहरू पनि समेटिने जनाइएको छ । 

परियोजनाको नेतृत्व  व्यवसायी जनपाल थापाले गरिरहेका छन् । उनी साविककको काउले भाइनयार्ड रिसोर्ट (द निलय होटल्स) का संस्थापक अध्यक्ष र बन्यन ट्री नेपाल प्राइभेट लिमिटेडका पूर्वकार्यकारी निर्देशक पनि हुन । 

काठमाडौँसँगको नजिकको दूरी र पृथ्वी राजमार्गसँगको पहुँचले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज आवागमनको सुविधा प्रदान गर्नेछ। त्रिशूली नदी तथा वरपरको प्राकृतिक सौन्दर्यले यसलाई साहसिक र पर्यावरण पर्यटनका लागि उपयुक्त गन्तव्य बनाउने देखिन्छ।

केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई बीबी माइनस रेटिङ प्रदान गरेको छ । सन् २०२१ मा स्थापना भएको कम्पनी हालै पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो।

दि निलय होटल्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने तयारी गरेको छ । कम्पनीको हालै सम्पन्न प्रथम वार्षिक साधारणसभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

Advertisment

थप समाचार