Below Menu
Below Menu

लुम्बिनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख, सवा दुई अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बिनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख, सवा दुई अर्बमा पाँचतारे होटल बनाउँदै

काठमाडौंं :आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक सञ्चालनको छोटो अवधिमै उल्लेख्य वित्तीय प्रगति गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार रुपन्देहीको बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म सञ्चालित यस केवलकारले आर्थिक वर्ष २०८१÷८२ मा १२ करोड ३० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी गरेको छ ।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२३ मे २९ देखि सञ्चालनमा आएको यस केवलकारले लुम्बिनी प्रदेशको धार्मिक र पर्यटकीय गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । लुम्बीनी केबलकार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको समुहको कम्पनी हो ।

पाल्पामा सवा २ अर्बको पाँचतारे होटल

कम्पनीले केवलकारको माथिल्लो स्टेशन ९पाल्पाको बसन्तपुर० मा एकीकृत पर्यटन गन्तव्य विकास गर्ने लक्ष्यका साथ पाँचतारे होटल निर्माणको प्रक्रिया अघि बढाएको छ । उक्त होटल परियोजनाको अनुमानित लागत २ अर्ब २५ करोड ८० लाख रुपैयाँ रहेको छ । हाल होटल डिजाइनको काम प्रारम्भिक चरणमा छ।

होटल निर्माणका लागि आवश्यक पुँजी जुटाउन कम्पनीले बैंक तथा वित्तीय संस्थाहरूसँग ऋण लगानीका लागि छलफल गरिरहेको छ । साथै, कम्पनीले निकट भविष्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत थप पुँजी संकलन गर्ने योजना समेत बनाएको छ ।

वित्तीय अवस्था र ऋण व्यवस्थापन

कम्पनीले ५७ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरी प्राप्त रकमबाट २३ करोड रुपैयाँ ऋण अग्रिम भुक्तानी गरेको छ, जसले गर्दा कम्पनीको ऋणको भार केही कम भएको छ । कम्पनीको सञ्चालन नाफा मार्जिन ५० प्रतिशतको हाराहारीमा रहेको छ, जुन व्यवसायिक हिसाबले सकारात्मक मानिन्छ ।

व्यापारिक सफलताका बाबजुद कम्पनीले केही चुनौतीहरूको सामना गरिरहेको छ । इक्रा नेपालका अनुसार, आर्थिक वर्ष २०२५ मा केवलकार चढ्ने यात्रुहरूको संख्यामा २६ प्रतिशतले गिरावट आएको छ । यसले गर्दा सञ्चालन आम्दानीमा केही संकुचन देखिएको छ ।

साथै, बुटवल–भैरहवा क्षेत्रमा सञ्चालित अन्य सुविधायुक्त होटलहरूसँगको प्रतिस्पर्धा र पर्यटन क्षेत्रमा आउने उतारचढावलाई कम्पनीका लागि चुनौतीका रूपमा हेरिएको छ । होटल परियोजना ठूलो लगानीको भएकाले समयमै निर्माण सम्पन्न गर्नु र वित्तीय व्यवस्थापन गर्नु कम्पनीको मुख्य कार्यभार रहनेछ ।

धार्मिक पर्यटनको केन्द्र

केवलकारको १० मिनेटको यात्रापछि पुगिने बसन्तपुर क्षेत्रमा कामाख्यादेवीको मन्दिर, शिव वाहन नन्दी र सय वर्ष पुरानो भगवती मन्दिर जस्ता धार्मिक संरचनाहरू रहेका छन् । विशेषगरी भारतीय पर्यटक र आन्तरिक पर्यटकका लागि यो क्षेत्र प्रमुख आकर्षणको केन्द्र बनेको छ ।

इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था र प्रवद्र्धकहरूको अनुभवलाई मध्यनजर गर्दै यसको रेटिङ बी प्लसमा यथावत् राखेको छ । आईएमई समूहको यसअघि चन्द्रागिरि र मौलाकाली केवलकार सञ्चालनको अनुभव भएकाले यो आयोजनाले पनि दीर्घकालीन रूपमा राम्रो प्रतिफल दिने विश्वास गरिएको छ ।

Advertisment