Below Menu
Below Menu

आइएमई ग्रुपको चार अर्बको मेगा प्रोजेक्ट: होटल र क्यासिनोसहितको ‘जाल्पादेवी केबलकार’ निर्माण तीव्र

आइएमई ग्रुपको चार अर्बको मेगा प्रोजेक्ट: होटल र क्यासिनोसहितको ‘जाल्पादेवी केबलकार’ निर्माण तीव्र

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको आईएमई ग्रुपले देशका विभिन्न क्षेत्रमा केबलकार पूर्वाधार विस्तारलाई तीव्र बनाएको छ ।

यसैक्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा निर्माणाधीन जल्पादेवी केबलकार परियोजना कम्पनीको सबैभन्दा महत्वाकांक्षी पर्यटन योजनामध्ये एकका रूपमा अघि बढिरहेको छ ।

कैलालीको कर्णाली चिसापानी क्षेत्रमा निर्माण भइरहेको यो परियोजना जाल्पादेवी केबलकार प्रालिमार्फत कार्यान्वयन भइरहेको हो । गत वर्ष तत्कालीन परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा ले शिलान्यास गरेको यस आयोजनाले सुदूरपश्चिमको पर्यटन विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

करिब ३.१ किलोमिटर लम्बाइको यो केबलकारले लम्कीचुहा नगरपालिका–३, चिसापानी लाई मोहन्याल गाउँपालिका–७, राजकाँडा सँग जोड्नेछ । परियोजनामा ३४ वटा गोन्डोला सञ्चालन गर्ने योजना रहेको छ । जसले दैनिक सयौं पर्यटक ओसारपसार गर्न सक्ने क्षमता राख्नेछ ।

परियोजनाको कुल लागत करिब ४ अर्ब ४ करोड रुपैयाँ अनुमान गरिएको छ । यसमध्ये ७५ प्रतिशत रकम ऋणमार्फत र बाँकी २५ प्रतिशत इक्विटीमार्फत जुटाइनेछ । हालसम्म करिब ४६ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको छ भने इक्विटी लगानीतर्फ ५४ प्रतिशत पूँजी संकलन भइसकेको कम्पनीले जनाएको छ । 

परियोजनाअन्तर्गत केबलकार पूर्वाधारमा मात्र करिब २ अर्ब ७५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साथै होटल तथा अन्य पर्यटन संरचनामा थप एक अर्ब २८ करोड रुपैयाँ लगानी गरिनेछ ।

बटम स्टेशन क्षेत्रमा आधुनिक होटल, क्यासिनो तथा ब्याङ्क्वेट हल निर्माण गरिने योजना छ भने टप स्टेशनमा १०० कोठाको रिसोर्ट, जल्पादेवी मन्दिर, स्काई वाक, वाकिङ ट्रेल, रेस्टुरेन्ट र बाल उद्यानसहितका संरचना निर्माण गरिनेछन् ।

धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिएको जल्पादेवी क्षेत्र नेपाल र भारतका हिन्दु श्रद्धालुहरूका लागि आकर्षणको केन्द्र बन्न सक्ने देखिन्छ । पहाडको टुप्पोमा अवस्थित यस स्थानबाट सूर्योदय तथा हिमाली दृश्यावलोकन गर्न सकिने भएकाले आन्तरिक र बाह्य पर्यटक दुवैलाई तान्ने उच्च सम्भावना रहेको छ ।

यद्यपि, परियोजनाले वित्तीय व्यवस्थापनका केही चुनौतीहरू सामना गरिरहेको छ । करिब ३ अर्ब १२ करोड ४२ लाख रुपैयाँ दीर्घकालीन तथा २७ करोड ६० लाख रुपैयाँ अल्पकालीन कर्जा आवश्यक पर्नेमा हालसम्म सीमित मात्र ऋण सुनिश्चित भएको छ । 

केबलकार खण्ड सन् २०२६ जुलाईसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको भए पनि निर्माण ढिलाइ, लागत वृद्धि, कच्चा पदार्थको मूल्यवृद्धि र ब्याजदरको चापजस्ता जोखिमहरू अझै कायम छन् । विशेषगरी पाँचतारे होटल निर्माण अझै सुरु नभएकाले परियोजनाको पूर्ण व्यावसायिक प्रभावकारिता हासिल हुन थप समय लाग्ने देखिएको छ ।

सन् २०१८ मा स्थापना भएको यस कम्पनीका संस्थापकहरूमा चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल रहेका छन् । 
 

Advertisment

थप समाचार