काठमाडौं : निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले एक वर्षमा ५ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा कम्पनीले ५ अर्ब १० करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।
उक्त रकम अघिल्लो वर्षको तुलनामा २५.४६ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२४ मा ४ अर्ब ७ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि सन् २०२३ मा कम्पनीले ४ अर्ब २६ करोड ४० लाख र सन् २०२२ म ३ अर्ब ४५ करोड ९० लाखको व्यापार गरेको थियो ।
पछिल्ला वर्षहरुमा कम्पनीको व्यापार निरन्तर रुपमा बढेको देखिएको छ । चालु आर्थिक वर्षको छ महिनामै कम्पनीले २ अर्ब ५३ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरिसकेको छ ।
कम्पनीको सञ्चालन नाफामा पनि सुधार देखिएको छ । सन् २०२४ मा एक अर्ब १० करोड २० लाख रुपैयाँ रहेको कम्पनीको सञ्चालन नाफा सन् २०२५ मा बढेर एक अर्ब ५२ करोड रुपैयाँ पुगेको छ भने चालु आवको छ महिनामा ५७ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको पछिल्लो विवरण अनुसार सन् २०२४ मा ३५ करोड ७० लाख रहेको कर पछिको नाफा सन् २०२५ मा ८२ करोड ४० लाख पुगेको छ । चालु आवको छ महिनामा यस्तो नाफा २६ करोड ४० लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी ब्याज, कर, मूल्यह्रास, र परिशोधन मार्जिन (इबीआईटीडीए) सन् २०२५ मा २९.९३ प्रतिशत रहेको छ । सन् २०२४ मा यस्तो मार्जिन २७.०६ प्रतिशत रहेको थियो भने चालु आवको छ महिनामा २२.५१ प्रतिशत रहेको छ ।
कम्पनीले आफ्नो उडान क्षमता विस्तार गर्दै तीन नयाँ क्यु–४०० विमानहरू खरिद गरी कम्पनीको फ्लीट आकार १६ बाट १७ पुर्याएको छ । यससँगै, इन्धन दक्षतामा सुधार हुँदा सञ्चालन मुनाफा बढेको हो । कम्पनीको खुद नाफा र कूल नगद प्रवाहमा क्रमशः १३० प्रतिशत र ९९ प्रतिशत वृद्धि देखिएको छ।
साथै, प्रमोटरहरूले थप इक्विटी लगानी गरेपछि कम्पनीको ऋण सेवा क्षमतामा सुधार देखिएको छ । सन् २०२५ मा ब्याज कभरेज अनुपात ४.०९ गुणा पुगेको छ भने कूल ऋण÷इक्विटी अनुपात २.२५ गुणामा झरेको छ, जुन २०२४ को ४.०३ गुणा भन्दा निकै कम हो।
हालको अनुपात सन् २०२४ मा ०.९९ गुणा पुगेको थियो भने सन् २०२५ मा ०.६० गुणा पुगेको छ । सन् २०२६ को छ महिनामा यस्तो अनुपात ०.६८ गुणा रहेको छ । कुल दायित्व–नेटवर्थ अनुपात सन् २०२४ मा ५.९५ गुणा रहेकोमा सन् २०२५ मा ३.६८ गुणा रहेको छ । चालु आवको छ महिनामा ३.३४ गुणा रहेको छ ।
ब्याज कभरेज अनुपात सन् २०२४ मा २.५८ गुणा रहेको यो अनुपात सन् २०२५ मा बढेर भई ४.०९ गुणा पुगेको छ । सन् २०२६ को यस अवधिमा यस्तो अनुपात ४.२२ गुणा रहेको छ ।
न्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले श्री एयरलाइन्स लिमिटेडका बैंक सुविधा र इश्यूअर रेटिङ पुनः पुष्टि गरेको छ । कम्पनीका लामो अवधि बैंक सुविधाका लागि त्रिपल बी माइनस र छोटो अवधि बैंक सुविधाका लागि एथ्री रेटिङ राखिएको छ।
श्री एयरलाइन्सको बजार स्थिति पनि बलियो छ । घरेलु उडान बजारमा कम्पनीले करिब १९ प्रतिशत शेयर कब्जा गरेको छ । कम्पनीले फिक्स्ड–विङ र रोटर–विङ दुवै खण्डमा सेवा प्रदान गरिरहेकोले यसको आम्दानी विविधतापूर्ण छ । फिक्स्ड–विङ खण्डले कुल आम्दानीको लगभग ९२ प्रतिशत योगदान गरेको छ भने रोटर–विङले ८ प्रतिशत योगदान गरेको छ ।
कम्पनीको आम्दानी मुख्य रूपमा काठमाडौंँ–नेपालगञ्ज र काठमाण्डौ–धनगढी मार्गमा केन्द्रित छ । जुन कुल आम्दानीको करिब ५१ प्रतिशत हिस्सा ओगटेको छ । साथै, अन्तर्राष्ट्रिय इन्धन मूल्य वृद्धिले सञ्चालन लागतमा दबाब सिर्जना गरेको भएपनि सन् २०२५ मा विमान इन्धन खर्च कुल खर्चको आधा हिस्सा रहेको छ ।
कम्पनीको दीर्घकालीन ऋण सुविधा हाल तीन अर्ब २५ करोड ८६ लाख ८० हजार रुपैयाँ रहेको छ, जुन पहिला ४ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ थियो । त्यस्तै, छोटो अवधिको बैंक ऋण सुविधा हाल एक अर्ब ४२ करोड ३७ लाख १० हजार रुपैयाँ रहेको छ ।
१९९९ मा एयर अनन्याका रूपमा स्थापित भएको श्री एयरलाइन्स अहिले सार्वजनिक कम्पनीमा रुपान्तरण भई २०२३ जुलाईदेखि श्री एयरलाइन्स लिमिटेडको रूपमा परिचालित छ । कम्पनीले नेपालमा घरेलु उडान सेवा प्रदान गर्दै आएको छ । साथै, यसले हेलिकोप्टर चार्टर सेवासमेत प्रदान गरिरहेको छ ।
हाल श्री एयरलाइन्सको स्थिर–पंखतर्फको फ्लीटमा १० वटा बमबार्डियर विमान रहेका छन्, जसमा तीन वटा जेट र सात वटा टर्बोप्रोप विमान (दुई टर्बोप्रोप लिजमा) छन् । त्यस्तै, हेलिकोप्टर सेवातर्फ कम्पनीसँग छ वटा एमआई–८ हेलिकोप्टर र दुई वटा एयरबस रहेका छन् । श्री एयरलाइन्सका प्रमुख लगानीकर्ता सुधीर मित्तल रहेका छन् । कम्पनीमा उनको ९९.९० प्रतिशत शेयर स्वामित्व रहेको छ ।
Advertisment