सोल्टी र वेदालय ग्रुपको मेगा प्रोजेक्ट: झापामा पौने तीन अर्बको लगानीमा पाँचतारे होटल ल्याउँदै 

सोल्टी र वेदालय ग्रुपको मेगा प्रोजेक्ट: झापामा पौने तीन अर्बको लगानीमा पाँचतारे होटल ल्याउँदै 

काठमाडौं : सोल्टी होटल लिमिटेडले झापाको मेचीनगरमा नयाँ पाँचतारे होटल निर्माण गर्ने योजना अघि बढाएको छ। दुई अर्ब ८४ करोड १० लाख रुपैयाँको लगानीमा निर्माण हुने यस परियोजना “होटल सोल्टी झापा” नामबाट सञ्चालनमा आउनेछ । 

Sponsored Advertisement

उक्त पपरयोजनामा वेदालय ग्रुप होल्डिङ प्राइभेट लिमिटेडको साझेदारी रहनेछ। हाल काठमाडौँ, नेपालगञ्ज र इटहरीमा उच्चस्तरीय सेवा प्रदान गर्दै आएको सोल्टी समूहले पूर्वी नेपाललाई लक्षित गर्दै यो नयाँ परियोजना अघि बढाएको हो।

निर्माणाधीन होटल सन् २०२८ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। परियोजनामा ६९ प्रतिशत ऋण र ३१ प्रतिशत इक्विटीमार्फत लगानी जुटाइनेछ, जसमा हालसम्म संस्थापक समूहबाट करिब १४ प्रतिशत इक्विटी लगानी भइसकेको छ। 

परियोजनाको भौतिक तथा वित्तीय प्रगति करिब १३ प्रतिशतको हाराहारीमा पुगेको जनाइएको छ। यो परियोजना रोयल रिक्रिएसन नेपाल प्रालिमार्फत प्रवर्द्धन भइरहेको छ । जसमा सोल्टी होटल्सको करिब ६० प्रतिशत र वेदालय ग्रुपको ४० प्रतिशत स्वामित्व रहेको छ।

वेदालय ग्रुप मित्तल परिवारसँग सम्बन्धित व्यावसायिक समूह हो । जसले सिमेन्ट, चिया, वित्त, आतिथ्य तथा मनोरञ्जन क्षेत्रमा विविध लगानी गर्दै आएको छ। निर्माण सम्पन्न भएपछि होटलमा १८० वटा सुसज्जित कोठा, ठूलो क्षमताको बैंक्वेट हल तथा तीनवटा आधुनिक सम्मेलन कक्ष रहनेछन्।  

परियोजना “सोल्टी” ब्रान्डअन्तर्गत सञ्चालन हुनेछ । जुन सोल्टी होटल्स एण्ड रिसोर्ट्सको हिस्सा हो। करिब ५७ वर्ष लामो अनुभव बोकेको यस ब्रान्डले नेपालमा गुणस्तरीय सेवा र उच्च आतिथ्य मानक स्थापित गर्दै आएको छ।  

रेटिङ एजेन्सीले कम्पनीका करिब १ अर्ब ७३ करोड रुपैयाँ बराबरका दीर्घकालीन बैंक सुविधालाई ‘डबल बी माइनस’ तथा ५ करोड रुपैयाँ बराबरका अल्पकालीन सुविधालाई ‘एफोर’ रेटिङ प्रदान गरेको छ।  

उक्त होटल मेचीनगरस्थित होटल भारतको बागडोगरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २३ किलोमिटर दूरीमा पर्नेछ। सीमावर्ती क्षेत्र भएकाले भारत र बंगलादेशबाट आउने पर्यटकलाई लक्षित गर्दै धार्मिक पर्यटन, मनोरञ्जन यात्रा तथा गन्तव्य विवाहका लागि यो होटल आकर्षक गन्तव्य बन्न सक्ने देखिन्छ। 

साथै, नजिकैका औद्योगिक तथा कर्पोरेट गतिविधि र क्रस–बोर्डर व्यापारले समेत होटलको माग बढाउने अपेक्षा गरिएको छ। 

 

थप समाचार